नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी पक्राउ
भक्तपुर : नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी नागरिकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुको साथमा एकहजारको नक्कली नोट १८ थानसमेत बरामद गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बंगलादेशको फरिदपुर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्ने २६ वर्षीय सुमन खान र बंगलादेशकै नेत्रकुना ४१ वर्षीय अली अहमद, २१ वर्षका रोबेल मिक्दा र महमद उल्लाहालाई नियन्त्रणमा लिइएको हो।
सुमनले पुस ३ गते लोकन्थलीस्थित परिधि गिफ्ट सपमा सामान किन्दा दिएको एक हजार रुपैयाँको दुइटा नोट नक्कली देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सुमन गिफ्ट सपका साहुजीलाई नक्कली नोट थमाएर फरार भएको बताए। उनी नक्कली नोट दिएर फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली घटनास्थल पुगेको प्रवक्ता थापाले जानकारी दिए।
उनका अनुसार फरार खान लोकन्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने मजदुर हुन्। ‘खानको कोठामा खानतलासी गर्दा एक हजारको थप १६ थान नक्कली नोट बरामद भएको थियो’, प्रवक्ता थापाले भने, ‘त्यसलगत्तै खानसँगै कोठामा बस्ने ३ जना अमहद, मिक्दा र उल्लाहालाई पनि नियन्त्रणमा लिएका हौं।’
उनका अनुसार फरार खानलाई भने पुस ६ गते काठमाडौंको पेप्सीकोलामा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको छ। प्रहरीले पक्राउ परेका चारैजनालाई भक्तपुर जिल्ला अदालतमा पेस गरी मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।