चिनी उद्योगमा किसानको तालाबन्दी र धर्ना

चिनी उद्योगमा किसानको तालाबन्दी र धर्ना

परासी : सहमतिअनुसार रकम भुक्तानी नगरेको भन्दै पश्चिम नवलपरासीका उखु किसानले 'इन्दिरा चिनी उद्योग'मा तालाबन्दी गरी धर्ना दिएका छन् । भुक्तानी नगरेको भन्दै यसअघि पनि किसानहरूले उद्योगमा तालाबन्दी गरेका थिए । 

उद्योगले भुक्तानी नगरे पनि प्रशासन कार्यालयले उद्योगमा लगाएको ताला खोलेको भन्दै किसानहरुले बुधबार उद्योगमा पुन तालाबन्दी गरेर धर्ना दिएका हुन् । उद्योगले दुई वर्षअघिदेखिको १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

जिल्ला प्रशासन कार्यालयमा दैनिक ३० लाख रुपैयाँका दरले भुक्तानी गर्ने सहमति जनाए पनि उद्योगले रकम नदिएकाले पुनः तालाबन्दी गरी धर्ना दिइएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए । ‘सरकारमा रहेका मन्त्रीको दबाबमा प्रशासनले ताला खोलेको छ । हामी सहमतिअनुसारको रकम भुक्तानी प्रकृया अघि नबढाएसम्म ताला खोल्न दिदैनौँ ।’अध्यक्ष यादवले भने । 

भुक्तानीका लागि हरेक वर्ष उद्योगमा तालाबन्दी हुँदै आएको छ । 

उद्योगमा रहेको चिनी र कच्चा पदार्थ बिक्री गर्नका लागि हरेक वर्ष २-४ दिन रकम वितरण गरेर किसानलाई झुक्काउँदै आएको स्थानीय किसान कादिरअलि अंसारीले बताए ।  

‘यसवर्ष पनि चिनी र कच्चा पदार्थ बिक्री उद्देश्यले ३ दिनदेखि न्यून रकम वितरण गर्न थालेको छ । आफ्नो सामान बिक्री गरेपछि फेरि भुक्तानी रोक्ने षडयन्त्र हो । सहमतिअनुसारको रकम वितरण नगरेसम्म उद्योगमा लगाएको ताला खोल्दैनौं ।’अंसारीले भने ।  १४ करोडमध्ये उद्योगले १० करोडको चिनी बिक्री गरिसकेको किसानहरुले बताएका छन् । ‘पहिला १० करोड भुक्तानी गरोस् त्यसपछि उद्योग सञ्चालन गर्न दिन्छौं’, अन्सारीको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले भुक्तानी दिन सुरु गरेकाले ताला खोलिएको बताए । ३ दिनअघिबाट दैनिक ९ लाखका दरले भुक्तानी गर्न सुरु गरेको मरासिनीले बताए । ‘पहिलो चरणमा भुक्तानी गर्न सुरु गरेको छ । त्यसलाई क्रमशः बढाएर भुक्तानी गर्न लगाउँछौं । प्रकृया सुरु भएकाले किसानहरुले अवरोध गर्दा आफैँलाई घाटा हुन्छ । त्यसैले अवरोध नगरी किसानहरुले भुक्तानीको वातावरणलाई थप सहज बनाउन जरुरी छ’, प्रजिअ मरासिनीले भने ।

उखु क्रसिङ्गको समय सुरु भइसक्दा पनि जिल्लाका उद्योग सञ्चालन हुन सकेका छैनन् । मंसिरको अन्तिम साताबाट उद्योग सञ्चालन गर्ने सञ्चालकहरुले सहमति गरेका थिए । तर अहिलेसम्म उद्योग सञ्चालन नहुँदा क्रसर उद्योगमा (भेली उद्योग) उखु बेच्न किसान बाध्य छन् । जिल्लामा बागमती, लुम्बिनी र इन्दिरा चिनी उद्योग छन् । 

लुम्बिनी चिनी उद्योग सञ्चालनमा आउन नसक्ने भन्दै व्यवस्थापन पक्षले बन्द गरेको छ । इन्दिरा चिनी उद्योगको मर्मतको काम बाँकी रहेकाले समयमा सञ्चालन आउन सक्ने संभावना नरहेको किसानहरुले बताएका छन् । उद्योग सञ्चालन नभएपछि किसानहरुले भेली उद्योगमा प्रति क्विण्टल २ सय ५० देखि ३ सयसम्म उखु बिक्री गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.