क्रान्तिकारी नेताको नग्न चित्रले विवाद
इमिलियानो सापाता मेक्सिकोका क्रान्तिकारी नेता थिए। यही वर्ष उनको निधनको शतवार्षिकी विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यही क्रममा दुई हप्ताअघि राजधानी मेक्सिको सिटीमा ‘इमिलियानोः सापाता आफ्टर सापाता’ नामक कला प्रदर्शनी भएको थियो। प्रदर्शनीमा कलाकार फेबियन चेरेजको एउटा चित्रले बबन्डर मच्चायो। क्रान्तिकारी नेता सापाताका परिवार र समर्थकले कलाकार चेरेज र लैंगिक अल्पसंख्यक समुदाय (एलजीबीटी)को धुवाँदार विरोध गरेका छन्।
चित्रमा क्रान्तिकारी सापाता नग्न छन्। उनी कामोत्तेजित घोडामा बसेका छन्। गुलाबी ह्याट लगाएका छन्। पिस्टोल आकारको हाई हिल लगाएका छन्।
अघिल्लो मंगलबार सापाताका सयौँ समर्थक विरोध प्रदर्शन गर्न प्रदर्शनीस्थल पुगेका थिए। मेक्सिकोको प्रमुख कला संग्रहालय ‘पालासियो दे बेल्लास आर्तेस’बाहिर जम्मा भएर उनीहरूले चर्का नारा लगाएका थिए। ‘सापाताको अपमान गर्ने चित्र जलाऊ’– उनीहरू चिच्याइरहेका थिए। विरोधीको हूलले संग्रहालय पसेर चेरेजको ‘ला रेभोलुसिअन’ नामक नग्न चित्र जलाइदिने चेतावनी पनि दिएका थिए।
विरोधीमध्ये अधिकतर ‘क्याम्पेसिनो’ अर्थात् किसान वर्गका मानिस धेरै थिए। सापाता पनि किसान थिए। विरोधीहरूले विरोधका क्रममा लैंगिक अल्पसंख्यकविरुद्ध पनि नारा लगाएका थिए। त्यसपछि संग्रहालयबाहिर लैंगिक अल्पसंख्यक समुदायका केही मानिस र चित्र–विरोधीबीच झण्डै झडप भएको थियो। प्रहरीले हस्तक्षेप गरेर दुवै पक्षलाई मत्थर पारेको थियो।
कलाकार चेरेजले विरोध प्रदर्शनले आफू अचम्भित भएको बताए। ‘म अवाक् छु,’ उनले ‘रेडियो फर्मुला’सँग भने, ‘मेरो स्त्रैण चित्रको किन यति विरोध भएको हो, मलाई थाहा छैन।’ कला संग्रहालयले प्रदर्शनीको ब्रोसरमा सापाताको नग्न चित्र प्रकाश गरेदेखि नै विरोध सुरु भएको थियो।
सापाताको परिवारका सदस्यले चित्रको चर्काे विरोध गरेका छन्। उनका नाति होर्खे सापाताले कलाकार चेरेजविरुद्ध अदालत जाने बताएका छन्। तर, कला संग्रहालयका निर्देशक मिगेल फर्नान्डेजले क्रान्तिकारी नेताको चित्र प्रदर्शनीबाट नहटाइने बताएका छन्।