इतिहासमा यो साता भएका मुख्य घटना

इतिहासमा यो साता भएका मुख्य घटना

डिसेम्बर २६

सन् १९४१ को डिसेम्बर २६ मा बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसअघि कुनै पनि बेलायती प्रधानमन्त्रीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने मौका पाएका थिएनन्। दोस्रो विश्वयुद्ध आरम्भ भइसकेको र जर्मनीले युरोपका अधिकांश भागमा कब्जा जमाइसकेको बेला चर्चिलले अमेरिकी कंग्रेसलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले युद्धमोर्चामा पश्चिमी प्रजातन्त्रले बेहोरिरहेको दुश्मन अर्थात् जर्मनी, इटाली र जापान अत्यन्तै शक्तिशाली रहेकाले डटेर उनीहरूको सामना गर्न बेलायत र अमेरिका एकठाउँमा उभिनुपर्ने बताएका थिए। उनको प्रस्तावलाई अमेरिकी कंग्रेसले तालीको गडगडाहटले अनुमोदन गरेको थियो।

डिसेम्बर २७

सन् १९७९ को डिसेम्बर २७ मा तत्कालीन सोभियत संघले अफगानिस्तानमा हमला गरेको थियो। अफगानिस्तानको राष्ट्रपति निवासमा हठात् आक्रमण गरेर सोभियत सेनाले राष्ट्रपति हफिजुल्लाह अमिनलाई पक्राउ गरेको थियो। उनको ठाउँमा सोभियत संघको कम्युनिस्ट सत्तापरस्त बाब्राक कर्माललाई नयाँ राष्ट्रपति नियुक्त गरेको थियो। सोभियत संघको उक्त सैन्य कारबाहीलाई विश्व इतिहासमा ‘अपरेसन स्टोर्म ३३३’ भनी चिनिन्छ। त्यसपछि अफगानिस्तानमा कम्युनिस्ट शासन लागू भयो। यसको विरोधमा अमेरिका र युरोपसँग पाकिस्तानलगायत मुसलमानबहुल राष्ट्र र अफगानिस्तानलगायत देशमा रहेका मुसलमान धर्मान्ध लडाकूहरूले मोर्चाबन्दी गरे। दुई पक्षबीच युद्ध सुरु भयो। अन्ततः अफगानिस्तानमा हार खाएर फर्किन सोभियत सेना बाध्य भयो।

डिसेम्बर २८
रोमानियाका फासिस्ट नेता अक्टाभियन गोगा सन् १९३७ को डिसेम्बर २८ मा प्रधानमन्त्री बने। रोमानियाका राजा क्यारोलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। हिटलरको नाजी जर्मनी र मुसोलिनीको फासिस्ट इटालीप्रति गोगा बफादार थिए। हिटलर र मुसोलिनीलाई उनी आदर्श मान्थे। उनीहरूले अवलम्बन गरेका विचार आफ्नो मुलुकमा लागू गर्न चाहन्थे। त्यस्तै अवस्थामा राजाले उनलाई प्रधानमन्त्री बनाए। उनीमार्फत विरोधीहरूको सफाया गराउन लगाउने र अन्त्यमा गोगालाई सरकारबाट बर्खास्त गरेर शासनसत्ता एकलौटी बनाउने राजाको चालबाजी थियो। प्रधानमन्त्री बनेपछि गोगाले रोमानियाका यहुदीहरूलाई नागरिकताबाट वञ्चित गर्नेलगायत काम गरेर हिटलरप्रति भक्तिभाव प्रदर्शन गरेका थिए।

डिसेम्बर २९
सन् १५०३ को डिसेम्बर २९ मा इटालीको सीमाभित्र स्पेन र फ्रान्सबीच भएको युद्धमा स्पेन विजयी भएको थियो। इटालीको मध्यभाग हुँदै बहने गारिग्लियानो नदी आसपासका क्षेत्रमा युद्ध भएको थियो। नदीको एकापट्टि स्पेनको सेना थियो, अर्कोपट्टि फ्रान्सको। नदीको माथिल्लो भागपट्टि आफ्नो सेना भएकाले फ्रान्सलाई बढी सहज थियो। नदी पार गरेर उकालो ठाउँमा रहेका फ्रेन्च सेनालाई पराजित गर्न स्पेनलाई निकै अप्ठ्यारो थियो। त्यसैले नदी पार नगरीकन स्पेनी सेना नदीको वारिपट्टि बसेको थियो। त्यत्तिकैमा इटालीको नेपल्स क्षेत्रमा तैनाथ थप स्पेनी सैनिक आइपुगे। यसबाट उत्साहित भएर स्पेनी सेनाले नदी तरेर फ्रेन्च सैनिकमाथि धावा बोल्यो। युद्धमा फ्रान्सले ठूलो क्षति बेहोर्‍यो। उसका करिब चार हजार सैनिक मारिए। स्पेनतर्फ नौ सय जनाको ज्यान गयो। 

डिसेम्बर ३०
सन् १९०६ को डिसेम्बर ३० मा बेलायती उपनिवेशअन्तर्गत रहेको भारतमा अल इन्डिया मुस्लिम लिग स्थापना भएको थियो। तत्कालीन पूर्वी बंगालको ढाका शहरमा पार्टी स्थापना भएको थियो। त्यतिबेला भारतीय कांग्रेसले भारतीय नागरिकका तर्फबाट स्वतन्त्रताका निम्ति आवाज उठाउँदै आएको थियो। तर, भारतीय कांग्रेसमा हिन्दू नेताहरूको बाहुल्य रहेकाले मुस्लिमहरूको सरोकारलाई उसले राम्रोसँग नसमेटेको भन्दै मुस्लिमहरूले अल इन्डिया मुस्लिम लिगको नाममा छुट्टै पार्टी गठन गरेका थिए। सोही संगठन प्रकारान्तमा मुस्लिम लिगका रूपमा सर्वत्र परिचित भयो। यसले भारतमा बेलायती उपनिवेश अन्त्य हुने बेलामा मुसलमानका लागि अलग्गै पाकिस्तान राष्ट्र सुनिश्चित गर्‍यो। आरम्भमा मुस्लिम लिगका प्रमुख नेता आगा खान थिए। केही समयपछि मोहम्मद अली जिन्नाह यसका शीर्ष र सर्वमान्य नेता बन्न पुगे।

डिसेम्बर ३१
इटालिको फासिस्ट पार्टीका नेता बेनिटो मुसोलिनीले सन् १९२४ को डिसेम्बर ३१ मा विपक्षी दलहरूको समर्थनमा रहेका सबै पत्रपत्रिका बन्द गराए। सन् १९२२ मा उनी सत्तामा आएका थिए। उग्रराष्ट्रवादी राजनीतिक धार समातेका उनले कुनै समय रोम साम्राज्यका रूपमा ख्यातिप्राप्त इटालीको हैसियत हाल खुम्चिएकाले इटालीलाई पुनः इतिहासको गौरवशाली हैसियत दिलाउने सपना आफ्ना समर्थकलाई देखाएका थिए। यसका लागि फासिस्ट विचारधारा अस्वीकार गर्नेहरूको सफाया गर्नुपर्छ भन्ने उनको मत थियो। सत्तामा आउनासाथ उनले विरोधीप्रति कडा रवैया अपनाए। उनीहरूका विचारमाथि दमन गर्न थाले। यसै सिलसिलामा उनले विरोधीहरूको समर्थनमा रहेका पत्रपत्रिका बन्द गराएका थिए।

जनवरी १ 
सन् १८६१ को जनवरी १ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले दासप्रथा कायम राख्न इच्छुक दक्षिणी भेगका सात वटा अमेरिकी राज्यहरूमा पनि दासप्रथा अन्त्य भएको घोषणा गरे। अमेरिकी संविधानअनुसार दासप्रथा अभ्यास गर्नु गैरकानुनी भएकाले यसलाई देशभरि अवैध घोषित गरिएको उनले बताएका थिए। उनको घोषणाविरुद्ध अमेरिकाका सात वटा राज्यले विद्रोह गरे। ती राज्यले आफूहरू संयुक्त राज्य अमेरिकाबाट अलग भएको सामूहिक घोषणासमेत गरे। त्यसपछि अमेरिकामा करिब चार वर्ष लामो गृहयुद्ध सुरु भयो। दक्षिणी राज्यहरूले विखण्डनवादी बाटो समातेको भन्दै राष्ट्रपति लिंकनले देशको भौगोलिक अखण्डताको सुरक्षा गर्न आफू प्रतिबद्ध रहेको जनाए। अलग भएको घोषणा गर्ने राज्यमाथि उनले सैन्य हस्तक्षेप गरे। त्यतिबेला अमेरिका दासप्रथाको विरोध गर्ने उत्तर र समर्थन गर्ने दक्षिण गरी दुई खेमामा विभाजित भयो। दुई पक्षबीच भएको युद्धमा एक लाखभन्दा बढी मानिसको मृत्यु भयो। अन्त्यमा विद्रोहमा उत्रिएका राज्यका सरकारले आत्मसमर्पण गरेपछि गृहयुद्ध समाप्त भयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.