बेलायतबाट फर्किएर माछापालन
भद्रपुर : झापाका एक युवाले अन्तर्राष्ट्रिय स्तरको माछापालन व्यवसाय गरेका छन्। यससँगै उनले सुविधा सम्पन्न इन्डोर क्यासलसहितको खेलौनापार्क पनि सञ्चालनमा ल्याएका छन्। झापाको बिर्तामोडमा हेवन वाटर पार्क नाम दिएर १४ वटा पोखरीमा माछापालन गरिएको छ। अध्ययनको सिलसिलामा बेलायत पुगेपछि विदेशको व्यावसायिक अनुुभव पनि लिएर आएका स्थानीय युवा नेपालरत्न शिवाकोटी हाल माछापालनमा सफल बनेका छन्। पोखरी खनेर माछाका भुरासम्म हाल्ने ठाउँ बनाउन मात्र उनले ४ करोड रुपैयाँ लगानी गरेका छन्। भन्छन्, ‘अहिलेसम्म करिब १७ करोड रुपैयाँ लगानी गरिसकेको छु।’
बिर्तामोड नगरपालिका २ को आफ्नै जग्गामा शिवाकोटीले २०७२ चैतदेखि वाटर पार्क सञ्चालनमा ल्याएका हुन्। १६ बिघा क्षेत्रफलमा माछापालानसँगै पार्क पनि छ। १३ बिघा क्षेत्रफलमा १४ वटा पोखरी निर्माण गरी पंगाइसिस जातको माछापालन गरिएको छ। एक बिघा १७ कट्ठाबाट सुरु गरिएको माछापालन पछि विस्तार गरिएको हो। हाल २ बिघामा सुविधा सम्पन्न फनपार्क निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। यसमा इन्डोर कार्सल, गाडी गुडाउने, मिनी रेल, स्विमिङपुललगायत सुविधा छ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीका छोरा नेपालरत्न व्यवसायमा बुबा र अन्य परिवारको पनि साथ र सहयोग रहेको बताउँछन्। छोराको व्यावसायमा पनि उत्तिकै समय दिएका नगरप्रमुख शिवाकोटी भन्छन्,‘राजनीतिकर्मी वा जनप्रतिनिधिले राजनीतिको अलावा अन्य व्यवसाय गर्न भ्याइँदैन भन्ने हुँदैन। व्यवसायका नाममा मैले नागरिकलाई दिनुपर्ने सेवा सुविधामा कुनै कमी गरेको छैन। नगरबासीको सेवा गरेर बाँकी रहेको समय व्यवसायमा सहयोग गर्छु।’ नगरको कामबाट फुर्सद मिल्नासाथ माछालाई चारो हाल्न पुग्छन्। भारतबाट आयात गरिएको माछामा घातक विषादी (फर्मालिन ) प्रयोग हुने गरेको छ। तर, शिवाकोटीले अर्गानिक माछापालन गरेका छन्।
सुरुमा प्रतिदिन २० किलो बिक्री हुने माछाले अहिले बजार माग धान्न नसकेको नेपालरत्न बताउँछन्। माछा इटहरी, धनकुटा, इलाम, र झापाका विभिन्न बजारमा खपत हुने गरेको छ। उनले मागको २५ प्रतिशत मात्र आपूर्ति गर्न सकेको बताए।
दाना खरिदमा भने समस्या रहेको शिवाकोटी बताउँछन्। महिनामा ७० लाख रुपैयाँको दाना विदेशबाट आयात गर्नु परेकाले समस्या रहेको उनी सुनाउँछन्। माछालाई आन्ध्र प्रदेशबाट झिकाइएको अर्गानिक दाना दिने गरिएको छ।
पार्कसँगै शिवाकोटीले होटलसमेत सञ्चालनमा ल्याएका छन्। होटलमा माछाका ५२ प्रकारका परिकार बनाइन्छ। पार्कबाटै दैनिक आठ सयदेखि हजार किलो माछा बिक्री हुँदै आएको छ। उत्पादित माछा गाडीमा हालेर उपभोक्ताका घर–घरमै पुर्याउने गरेको नेपालरत्नले सुनाए। प्रत्येक दिन एक हजार केजी जिउँदो माछा ‘होम डेलीभरी’ सेवामार्फत बिक्री हुने गरेको उनी बताउँछन्।
तीन बिघा क्षेत्रफलमा फैलिएको फनपार्कमा समेत मानिसको घुँइचो लाग्ने गरेको छ। पारिवारिक भ्रमण, जन्मदिन आदान–प्रदान र बिदा मनाउने गन्तव्यका रूपमा स्थानीले हेवन फनपार्कलाई रोज्ने गरेका छन्। हेवन वाटर पार्कमा शिवाकोटीले ७० जनालाई रोजगारी दिनसमेत सफल बनेका छन्।
शिवाकोटीले आगामी बुधबारदेखि ‘माछा महोत्सव’ आयोजना गर्दै छन्। महोत्सवकै अवसर पारेर औपचारिक रूपमा हेवन वाटर पार्कको उद्घाटन पनि गरिने उनले बताए। त्यस अवसरमा प्रतिदिन ५ हजारसम्मलाई माछाका परिकार बनाएर खुवाउन सकिने उनको भनाइ छ। पाँच दिनसम्म चल्ने महोत्सवले आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्याउने उनको विश्वास छ।