मार्क्सवादको पुनर्व्याख्या

मार्क्सवादको पुनर्व्याख्या

समाज र साहित्य बुझ्न कुनै सिद्धान्तबारेको जानकारी आवश्यक हुन्छ कि हुँदैन ? यसलाई सिद्धान्तबिना जस्ताको तस्तै बुझ्न गरिएको प्रयास पूर्ण हुन्छ कि हुँदैन ? पुराना विचार एवं मान्यतालाई नयाँ शिराबाट व्याख्या, पुनर्व्याख्या आवश्यक छ कि छैन ? यस्ता प्रश्नले जिज्ञासु पाठकको मथिंगल हल्लाइरहन्छन्। प्रा. कृष्ण गौतम लिखित हेर्दैमा आकर्षक पुस्तक ‘मार्क्सवाददेखि उत्तरमार्क्सवादसम्म’ले उल्लिखित प्रश्नहरूको उत्तर खोतल्न केही हदसम्म मद्दत गर्नेछ।

किताबमा मार्क्सवाद, नवमार्क्सवादका सन्दर्भमा व्याख्या विश्लेषण गर्ने र सोहीअनुसार आफ्ना धारणा दिने विभिन्न क्षेत्रका चर्चित २१ विद्वान्का विचारलाई राख्ने र त्यसलाई मथ्ने काम गरिएको छ। उनीहरूका विचार र दर्शनलाई हाम्रा विचारसँग जोड्ने प्रयत्न गरिएको छ। त्यति मात्र होइन आधुनिक समाजमा विचारधाराहरू कसरी दिनानुदिन नयाँ ढंगले, नयाँ शैलीमा व्याख्या हुन्छन् र त्यसका पछाडि के कस्ता खास कारण र तत्वहरू हुन्छन् भन्ने कुराको पनि उजागर गर्न खोजिएको छ।

‘उत्तर आधुनिक सिद्धान्त’, ‘उत्तर सिद्धान्त’, ‘उत्तरआधुनिक जिज्ञासा’जस्ता पुस्तकमार्फत सिद्धान्तबारे आफ्ना धारणा राखिसकेका गौतमको प्रस्तुत पुस्तकमाथि प्रस्टोक्ति छ, ‘यो कृति क्लासिक मार्क्सवाददेखि उत्तरमार्क्सवादसम्म जिज्ञासुहरूलाई व्यवस्थित किसिमबाट डोर्‍याउने अभिप्रायका साथ लेखियो।’ आफ्नो उक्त भनाइलाई विश्वासिलो बनाउन उनले हरसम्भव प्रयास गरेको देखिन्छ। यस्ता सिद्धान्तहरू सधैं चलायमान हुन्छन् र हामी पनि कतै न कतैबाट जाडिएका हुन्छौं भन्ने उनको बुझाइ छ।

लेखक मार्क्सवादलाई एक सुसंस्कृत सिद्धान्त एवं समाजशास्त्र सम्बद्ध अन्य सबै विषयलाई एकसाथ बोकेर हिँड्न सक्ने दर्शनका रूपमा लिन्छन्। साथै यसलाई समाज रूपान्तरणको सामथ्र्य राख्न सक्ने दर्शनका रूपमा लिन सकिने उनको ठम्याइ छ। वर्गसंघर्ष, अन्तरविरोध, पुँजीपति र सर्वहाराबीचको विभेद, साम्यवादको परिकल्पनाजस्ता मूलभूत विषयमाथि उनले विवरणात्मक व्याख्या गरेका छन्।

मार्क्सवादी विचारधाराका आधारमा साहित्य, संस्कृति र कलाको समालोचना हुँदै आयो र सौन्दर्यशास्त्रको निर्माणका बारेमा चर्चा हुँदै आयो। मार्क्सवाद विश्व साहित्यकै एउटा अंग भएकाले त्यसका प्रति सोच्ने र आलोचना गर्ने अधिकार सबैलाई भएको लेखकको बुझाइ छ।

पुस्तक सिद्धान्तबारे जान्ने मनोवाञ्छा भएका पाठकका लागि हितकारी त छँदैछ। अनुसन्धानरत पुराना पाठकलाई पनि सन्दर्भ सामग्री बन्नेछ।

परम्परावादी मार्क्सवादी चिन्तनको किन आलोचना भयो ? त्यसका कमी कमजारीहरू के कस्ता थिए ? चिन्तकहरूले किन यसमा पनि उत्तरसंरचनावाद, उत्तरआधुनिकतावाद, नारीवाद, बहुसंस्कृतिवाद, स्थानीयतावादले झैं परिवर्तनको चाहना राखे ? उत्तरमार्क्सवादसम्म आइपुग्दा परम्परागत मार्क्सवाद के कसरी हराउँदै गयो ? साथै मार्क्सवादमाथिको भक्तिभाव किन घटेर गयो भन्ने कुरा किताब पढिसक्दा प्रस्टसँग बुझ्न पाइन्छ। नयाँ अवधारणाले मार्क्सवादलाई कसरी परिमार्जन र परिस्कृत गर्दै लग्यो भन्ने कुरा पनि किताबमा प्रस्टसँग झल्किन्छ। यसबारे उनी लेख्छन्, ‘नयाँ समाज निर्माणका निम्ति, समाजको रेडिकल रुपान्तरणका निम्ति उत्तरमार्क्सवादीहरूले मार्क्सवादी अर्थोडक्सीलाई तोडे, अस्थिरता, आकस्मिकता र जोखिमलाई ध्यानमा राख्दै खुला, बहुल, रेडिकल प्रजातन्त्रको आवश्यकता सम्झाए।’

लेखकले सिद्धान्तको संसारमा चर्चित मार्क्स, एन्जेल्स हुँदै ग्राम्सी, बेन्जामिन, लुकाक्स, अडर्नो, फेनन, विलियम्स, हल, हार्भे, इगलटनका विचारहरूलाई स्थान दिएका छन्। त्यस्तै जामेसन, बाख्तिम, अल्थुजर, गोल्डम्यान, जिजेक, मेकरी, डेरिडा, लक्लाउ र मफे, हबर्मस र हेलर पनि उनको रोजाइमा परेका छन्। यसका अतिरिक्त अन्य थुप्रै विचारक, लेखकका धारणाहरू यहाँ समाविष्ट छन्। एन्जेल्सलाई विशेष महत्वका साथ हेरिएको छ। किताबमा मार्क्सवादीको विश्वव्यापी विस्तार र अमेरिकाजस्ता पुँजीवादी मुलुकका चिन्तकहरूमा यसको प्रभावबारे पनि पढ्न पाइन्छ। यस्ता सिद्धान्तहरूले कसरी हामीलाई जानी नजानी सँगै हिँडाएका हुन्छन् भन्ने कुरा पनि बुझ्न सकिन्छ।     

त्यस बेला एकथरी चिन्तकहरूमा मार्क्सवादको बौद्धिक स्तरमा व्याख्या हुन्थ्यो। कतिपय यसलाई आफ्नो अनुकूलतामा ढालेर हेर्ने गर्थे। अर्काथरी मार्क्सवादलाई बोकेर राजनीति गर्थे। कोही मार्क्सवादमा फस्नु हुँदैन, फसेको भए बाहिर निकाल्न मद्दत गर्नुपर्छ भन्थे। कतिपय मार्क्सवादबाटै उत्तरआधुनिकताको बाटोमा जान सकिन्छ भन्नेमा पूर्णतः विश्वस्त थिए।

मार्क्सवादको लक्ष्य समाजको व्याख्या गर्नेभन्दा समाज रूपान्तरणमा जोड छ। यसले सामाजिक इतिहासलाई वर्गसंघर्षसँग जोडेर हेर्ने गर्छ। मार्क्स स्वयं बुद्धिजीवी मात्रै नभएर प्रजातान्त्रिक समाजवादका पक्षधर थिए भन्नेमा लेखकको जोड छ। लेखकले मार्क्सवादलाई मूलतः पाँच चरणमा व्याख्या गरेका छन्। पहिलो चरणलाई मार्क्सवादका मान्यताहरू स्थापित भएको समयलाई लिइएको छ। जुन मार्क्स र एन्जेल्सद्वारा १९औं शताब्दीमा गरिएको थियो। दोस्रो चरणमा यसको विश्वव्यापी फैलावट भएको थियो। सन् १९१७ मा भएको रसियाली क्रान्तिपश्चात् यसलाई मार्क्सवाद, लेनिनवादका रूपमा व्याख्या गरिएको थियो।

तेस्रो चरणको रूपमा द्वितीय विश्वयुद्धपछिको समयलाई लिइएको छ, जुन बीसौं शताब्दीको उत्तराद्र्धको समय थियो। उत्तरसंरचनावाद र उत्तरआधुनिकतावादद्वारा सुसूचित भएको १९७० र १९८० को दशकपछिको समयलाई चौथो चरणको रूपमा र उत्तरमार्क्सवादीको उदयपश्चात्को समयलाई पाँचौं चरणका रूपमा लिइएको छ। उत्तरमार्क्सवादले मार्क्सवादको यथास्थितिवादी प्रवृत्तिबाट वाक्क भएकालाई थप हौसला प्रदान गर्‍यो। नयाँ जोश, जागरण र नयाँ अवधारणा लिएर आयो।

मार्क्सवाद र पुँजीवाद आपसमा अन्तरविरोधी विषय हुन्। सन् १९७० का दिनहरूबाट मार्क्सवादमाथि निकै संकट आइलाग्यो। सैद्धान्तिक र व्यावहारिक रूपमै यो विचारधारा फितलो बन्दै गयो। पश्चिमा समाजमा देखा परेका अन्य आन्दोलन र विचारधाराले पनि मार्क्सवादलाई यथास्थितिमा रहिरहन दिएन। यस्तैमा अर्नेस्टो लक्लाउ र च्यान्टल मफे देखा परे। उनीहरूले समाजलाई मार्क्सवादी एकाधिकारबाट बचाए, मुक्त गरे।

यसबारे गौतम लेख्छन्, ‘इतर अवधारणाहरूलाई आफ्नो काखमा रंगाएर मार्क्सवाद संवाद गर्न चाहन्थ्यो। लक्लाउ र मफेले इतरहरूलाई त्यस स्थितिबाट बचाए। तिनीहरूको प्रयत्नले उत्तरमार्क्सवादमा बदलिएर मार्क्सवादले आफूलाई मिजासिलो र सहिष्णु बनायो।’

किताबको भाषा काव्यिक एवं सरल छ। तर धेरैजसो भागका उपशीर्षकबीच तादात्म्य मिल्दैन। यसले पाठकलाई पट्यार लाग्न सक्छ। सुरुमै मार्क्सका जीवनगाथाबारे लेखक जति खुलेका छन्, अरू लेखकका प्रति उति खुलेका छैनन्। कतिपय दार्शनिकका विचारबारे आफ्ना धारणा राख्ने क्रममा लेखक बहकिएका छन्।

आफ्नो माक्सवादी दर्शनबारेको चिन्तन छाडेर उनी ठाउँठाउँमा हराएकाले लेखन संगतिपूर्ण लाग्दैन। निबन्ध योजनाबद्धभन्दा पनि समालोचना, अनुवाद, मनोवाद शैलीभन्दा बाहिर जान सकेका छैनन्। तर अरू जे जे भए पनि प्रस्तुत पुस्तक सिद्धान्तबारे जान्ने मनोवाञ्छा भएका पाठकका लागि हितकारी त छँदैछ। अनुसन्धानरत पुराना पाठकलाई पनि सन्दर्भ सामग्री बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.