सन् २०१९ : बेचैनीको वर्ष
सन् २०१९ बिदा हुन लागेको छ। धेरै हिसाबले यो सम्झिनलायक वर्ष बन्यो। यो वर्ष राजनीतिक परिवर्तन, सत्ता विघटन, दुर्घटनाजस्ता थुप्रै मानिसको जीवन र भाग्यमा उथलपुथल ल्याउने घटना भए। यो वर्ष भएका मुख्य–मुख्य घटना यसप्रकार छन्ः
ट्रम्पमाथि महाअभियोग
विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो, अमेरिका। अमेरिकी राष्ट्रपति संसारकै शक्तिशाली व्यक्ति मानिन्छन्। तर, अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसबखत महाअभियोगको सामना गरिरहेका छन्। यससँगै उनी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति बनेका छन्। यसअघि एन्ड्र्यू जोन्सन र बिल क्लिन्टनलाई मात्र महाअभियोग लागेको थियो।
ट्रम्पमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र संसद्को प्रक्रियालाई अवरुद्ध पारेको दुई अभियोग लगाइएको छ। गत जुलाईमा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका थिए। सो कुराकानीमा उनले पूर्वउपराष्ट्रपति तथा आगामी राष्ट्रपतीय निर्वाचनका डेमोक्रेटिक प्रत्याशी जो बाइडेन र उनका छोरा हन्टर बाइडेनविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन गर्न दबाब दिएका थिए। तर, जेलेन्स्कीले उनको कुरा नमान्दा अमेरिकाले युक्रेनलाई दिँदै आएको करिब ४० करोड डलरको सैन्य सहयोग रोक्काको निर्णय गरेका थिए।
सेप्टेम्बरमा संसद्को तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले औपचारिक रूपमा महाअभियोगसम्बन्धी छलफल गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि न्यायिक समितिमा भएको मतदानले महाअभियोगको प्रस्ताव पारित गरेको थियो। लगत्तै, तल्लो सदनमा भएको मतदानमा ट्रम्पमाथिको अभियोग पारित भएको छ। अब माथिल्लो सदन सिनेटमा ट्रम्पको महाअभियोगसम्बन्धी सुनुवाइ हुनेछ। सुनुवाइपछि सिनेटमा हुने मतदानले ट्रम्पलाई हटाउने वा पदमा राख्ने भन्ने निर्णय गर्नेछ। यद्यपि, सिनेटले ट्रम्पलाई हटाउने सम्भावना अत्यन्त कम छ, किनभने सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकन सिनेटरहरूको बहुमत छ।
न्युजिल्यान्डमा आतंकवादी हमला
१५ मार्च २०१९ मा न्युजिल्यान्डको क्राइस्टचर्च शहरमा रहेको अल नुर मस्जिद र लिनवुड इस्लामिक केन्द्रमा भएको आतंकवादी हमलामा ५१ जनाले ज्यान गुमाए भने ४९ जना घाइते भएका थिए। बन्दुकधारीले स्वचालित हतियारबाट प्रार्थना गर्न भेला भएकामाथि गोली चलाएका थिए। यो घटनाको भोलिपल्ट प्रधानमन्त्री जासिन्दा आर्डेन वेलिङ्टनस्थित एक मस्जिदमा पुगेर आफू र सिंगो देश मुस्लिम समुदायको साथमा रहेको बताइन्। उनको सद्भावको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार शीर्षक बने र विश्वभर उनको प्रशंसा भयो। खास गरी, अमेरिकामा बारम्बार घृणासिर्जित आक्रमण हुने र ट्रम्प सरकार उपयुक्त शब्दमा त्यसको भत्र्सना गर्न असफल भइरहेका बेला आर्डेनले देखाएको सहानुभूतिको प्रशंसा भयो। हमला भएको छ दिनपछि आर्डेनले स्वचालित हतियार र एसल्ट राइफलमाथि राष्ट्रव्यापी प्रतिबन्ध घोषणा गरिन्। हालसम्म न्युजिल्यान्डमा करिब ५६ हजार बन्दुक प्रहरीलाई बुझाइसकिएको छ। क्राइस्टचर्च नरसंहार गरेका अस्ट्रेलियाली नागरिक ब्रान्टन टेरान्टमाथि मुद्दा चलिरहेको छ।
न्युजिल्यान्डमा जस्तै भयानक आक्रमणको घटना अमेरिकामा पनि भयो। एल पासो, टेक्सस, डेटन, ओहायोजस्ता स्थानमा भएका गोलीबारीमा २९ जनाले ज्यान गुमाए भने ५० भन्दा बढी घाइते भए। गैरनाफामूलक संस्था गन भायोलेन्स अर्काइभले सन् २०१९ मा अमेरिकामा २८ गोलीबारीको घटना भएको जनाएको छ।
हङकङमा प्रदर्शन
विश्वको सबैभन्दा सुरक्षितमध्ये एक शहर मानिने हङकङ यो वर्ष अत्यन्त अशान्त रह्यो। जुन महिनामा हङकङ सरकारले प्रस्ताव गरेको सुपुर्दगी विधेयकको विरुद्धमा सुरु भएको प्रदर्शन केही समय बित्दै जाँदा हिंसात्मक बन्न थाल्यो। हालसम्म आन्दोलनका क्रममा छ जनाको मृत्यु भइसकेको छ भने छ महिना बित्दा पनि शहर शान्त बन्न सकेको छैन। यस वर्षको जुन १२ मा हङकङको केन्द्रीय भागमा प्रदर्शनकारीको ठूलो भीड जम्मा भएको थियो। लगभग १० लाख मानिस एकैपटक सडकमा ओर्लिएका थिए।
हङकङ सन् १९९७ सम्म बेलायती उपनिवेशको हिस्सा थियो। सो वर्ष चीनलाई हस्तान्तरण गरेयताकै सबैभन्दा अशान्त वर्ष रह्यो, सन् २०१९। सुपुर्दगी विधेयक सरकारले सेप्टेम्बरमै फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन। ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन्। यसले एसियाको व्यापारिक हब मानिने हङकङको अर्थतन्त्रमा ठूलो असर पारेको छ। कैयौँ लगानीकर्ता शहर छोडेर अन्यत्र लागेका छन् भने पर्यटकको संख्यामा पनि गिरावट आएको छ। शहरमा शान्ति कायम गर्न असफल भए पनि प्रमुख कार्यकारी क्यारी लामलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले समर्थन गर्दै आएका छन्।
मोदीको विजय र कश्मीर विभाजन
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिएको भारतमा ११ अप्रिलदेखि १९ मेसम्म भएको लोकसभाको चुनावमा ९० करोड मतदाताले मत हाले। जसमा सत्तारुढ भारतीय जनता पार्टीले ऐतिहासिक जीत हात पार्यो। भाजपाले ५ सय ४३ मध्ये ३ सय ३७ सिट जितेको छ। जसका कारण नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भए। मोदीले मे ३० मा नयाँ दिल्लीमा शपथ ग्रहण गरे। दोस्रो पटक प्रधानमन्त्री बनेपछि मोदीले ओरालो लागेको भारतीय अर्थतन्त्रलाई लयमा ल्याउने अपेक्षा गरिएको थियो।
तर, दोस्रो कार्यकाल सुरु गर्नेबित्तिकै मोदीले एकपछि अर्को ठूला र विवादास्पद निर्णय गर्न थाले। सबैभन्दा पहिले उनले जम्मू र कश्मीर राज्यलाई दिएको विशेषाधिकार समाप्त गरे। अहिले जम्मू र कश्मिरलाई टुक्य्राएर केन्द्रशासित क्षेत्र बनाइएको छ। अगस्ट ५ देखि सरकारले कश्मीरमा कफ्र्यू लगाएर त्यहाँका अधिकांश स्थानीय राजनीतिक नेताहरूलाई बन्दी बनाएको छ। यससँगै कश्मीरको नक्सा सदाका लागि परिवर्तन भएको छ। चार महिना बितिसक्दा पनि कश्मीरी नागरिक प्रतिबन्धमा बाँचिरहेका छन्। इन्टरनेट, टेलिफोनजस्ता सञ्चार सेवा अवरुद्ध गरिएका छन्। कैयौँ स्कुल बन्द छन्।
मोदी यतिमै रोकिएनन्। उनले डिसेम्बर महिनामा नागरिकता कानुन संशोधन गर्दै अफगानिस्तान, पाकिस्तान र बंगलादेशका गैरमुस्लिम नागरिकलाई भारतमा नागरिकता दिने व्यवस्था गरे। त्यससँगै ‘घुसपैठिया’ हरूलाई हटाउन भन्दै नेसनल रजिस्ट्रेसन अफ सिटिजन्स प्रक्रिया पनि सुरु गरे। सरकारको यो कदम मुस्लिममाथि विभेदपूर्ण रहेको भन्दै देशव्यापी प्रदर्शन भएको छ। जसका कारण सरकार दबाबमा परेको छ। आन्दोलनका क्रममा २५ जनाभन्दा बढी नागरिकको ज्यान गइसकेको छ। तर, डिसेम्बर २२ मा मोदीले दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै यी कदमबाट सरकार पछि नहट्ने घोषणा गरे।
पछिल्लो समय मोदीले कश्मीरमा दशकौँदेखि रहेको अशान्ति समाप्त गर्ने भन्दै चालेको एकपछि अर्को कदमले उल्टो पूरै भारत कश्मीरजस्तै अशान्त बनेको आरोप विपक्षीले उनीमाथि लगाएका छन्। कतिपयले मोदी फासीवादी बन्दै गएकाले भारतमा लोकतन्त्रबारे चिन्ता जाहेर गरेका छन्।
अमेरिका र चीनको व्यापार युद्ध
२० औँ शताब्दीको उत्तराद्र्धमा अमेरिकाले विश्वमाथि एकछत्र शासन गरे पनि २१ औँ शताब्दी सुरु भएसँगै चीन महाशक्तिका रूपमा उदाएको र विश्व पुनः दुई ध्रुवीय बन्न थालेको विश्लेषकहरूको भनाइ छ। तर, नयाँ शक्तिको उदयबाट पुरानो शक्ति बिच्किनु स्वाभाविक थियो। फलस्वरूप अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भयो। यी दुई देशबीच अघिल्लो वर्षदेखि नै तनाव बढेको थियो। तर, यो वर्ष दुवै देशले एकअर्काको सामानमाथि कर थोपरेर युद्धलाई निरन्तरता दिए। परिणामतः विश्वबजारमा आर्थिक मन्दीको बादल छाइरह्यो। यद्यपि, वर्षको अन्त्यमा दुई देशबीच वार्ता भएर कर घटाउने पहिलो चरणको सम्झौता भएको छ। रणनीतिक रूपमा एकअर्काका परचक्री बनेका यी दुई शक्तिबीच तत्काल शक्तिसंघर्ष नरोकिने विश्लेषकहरूको तर्क छ।
व्यापार युद्धको बाछिटा हरेक क्षेत्रमा पर्यो। सो क्रममा दुवै देशले एकअर्काको विकासको गति रोक्न सकेजति सबै कदम चाले। सबैभन्दा पहिले फाइभजी प्रविधि विकास गर्न सफल मानिएको चिनियाँ दूरसञ्चार कम्पनी हुआवेमाथि अमेरिकाले आक्रमण गर्यो। कम्पनीकी प्रमुख वित्त अधिकृत मेङ वाङ्चूविरुद्ध २३ वटा अभियोग लगाउँदै मुद्दा दायर गरिएको छ। प्रविधिको चोरी, न्यायको अवरोध र बैंक ठगी गरेको अभियोगसहित कम्पनी र वाङ्चूलाई क्यानडामा पक्राउ गरियो। अमेरिका उनलाई सुपुर्दगी गर्न क्यानडालाई दबाब दिइरहेको छ। जसका कारण केही क्यानडाली नागरिक चीनमा पनि पक्राउ परे। वाङ्चू र उनको परिवारले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। अमेरिकाले चिनियाँ कम्पनीहरूले वित्तीय कानुन उल्लंघन गरेको, बौद्धिक सम्पत्ति चोरी गरेको जस्ता आरोप लगाएको छ।
जापानी सम्राटद्वारा गद्दी त्याग
मरेपछि मात्रै उत्तराधिकारीले राजगद्दी सम्हाल्ने परम्परा अन्त्य गर्दे अप्रिलमा जापानी सम्राट अकिहितोले ३० वर्षे शासनकालबाट निवृत्ति लिए। दुई सय वर्षपछि पहिलो पटक जापानी सम्राटले स्वेच्छाले पद त्याग गरेका हुन्। ८५ वर्षका सम्राट अकिहितोले खराब स्वास्थका कारण राजाको सम्पूर्ण जिम्मेवारी पूरा गर्न कठिन भएको भन्दै विश्राम लिने निर्णय गरेका हुन्। हुन त जापानमा सम्राटको राजनीतिक अधिकार हुँदैन। तैपनि परम्परागत मान्यताका कारण सम्राटलाई अत्यधिक सम्मान दिइने गरिन्छ। अकिहितोले जापानी राजपरिवारमा रुढीको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। यद्यपि, अझै पनि जापानमा गद्दीको उत्तराधिकारी महिला हुन पाउँदैनन्। महिलाले राजपरिवारबाहिर विवाह गरे शाही पदवी परित्याग गर्नुपर्छ। गद्दीत्याग गर्दै अकिहितोले विश्वमा शान्ति र समृद्धि छाइरहोस् भनी कामना गरेका थिए। त्यसपछि उनका ५९ वर्षीय छोरा नारुहितो सम्राट बनेका छन्। अक्सफोर्ड विश्वविद्यालयमा पढेका उनी जापानको १ सय २६ औँ सम्राट हुन्।
विमान दुर्घटनामा १ सय ५७ को मृत्यु
इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान इथियोपियाको बिसोपटुमा दुर्घटना हुँदा विमानमा रहेका सबै १ सय ५७ जनाको ज्यान गएको थियो। विमानमा १ सय ४९ जना यात्रु र चालक दलका आठ सदस्य थिए। मार्च १० मा राजधानी अदिसअबाबाबाट केन्याको नैरोबीतर्फ जाँदै गर्दा विमान दुर्घटना भएको हो। बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान छ मिनेट नहँुदै दुर्घटना भएको थियो। बोइङ ७३७ म्याक्स ८ विमान सन् २०१८ मा इन्डोनेसियामा समेत दुर्घटना भएको थियो। दुर्घटनाको कारण खोज्दै जाँदा विमान निर्माणमै खराबी देखिएपछि अमेरिकी कम्पनी बोइङको यो मोडलको विमान उडान गर्न विश्वभर प्रतिबन्ध लगाइएको छ। यसबाट बोइङले ठूलो क्षति बेहोर्नुपरेको छ। डिसेम्बर तेस्रो साता यो संकट टार्न असफल भएको भन्दै बोइङले प्रमुख कार्यकारीलाई बर्खास्त गरेको थियो।
रोबर्ट मुलरको रिपोर्ट सार्वजनिक
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले रुससँग मिलेर मतपरिणामलाई प्रभावित पारेको आरोप लाग्दै आएको थियो। यस विषयमा दुई वर्ष अनुसन्धान गरेर विशेष वकिल रोबर्ट मुलरले रिपोर्ट तयार गरे। मुलरले महान्यायाधिवक्ता विलियम बारलाई ४ सय ४८ पृष्ठको रिपोर्ट मार्च २२ मा दिएका थिए। रिपोर्ट सर्वसाधारणले हेर्न पाउने गरी अमेरिकाको न्याय विभागले अप्रिल १८ मा सार्वजनिक गरेको थियो। रिपोर्टको निष्कर्ष भने अस्पष्ट किसिमको भएको भन्दै मुलरको आलोचना गरिएको छ। उनले प्रतिवेदनमा ट्रम्प पूर्ण रूपमा निर्दोष नभएको बताएका छन्। यद्यपि, उनीमाथि कुनै पनि आरोप लगाइएको छैन।
उपन्यासकार मोरिसनको निधन
चर्चित उपन्यासकार टोनी मोरिसनको ८८ वर्षको उमेरमा अगस्ट ५ मा निधन भयो। उनका ११ वटा उपन्यास प्रकाशित छन्। उपन्यासमार्फत उनले अफ्रिकी अमेरिकीमाथि हुने गरेको रंगभेद र अन्यायलाई उजागर गरेकी छन्। विशेष गरी, अफ्रिकन अमेरिकन महिलाको जीवनलाई उनले जति राम्ररी कसैले चित्रित गर्न नसकेको समीक्षकहरू बताउँछन्। उनको जन्म सन् १९३१ मा भएको थियो। उनले आफ्नो पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन १९७० मा लेखेकी थिइन्। त्यसबेला उनी लेखनका साथै एक्लैले दुई छोराको हेरचाह पनि गरिरहेकी थिइन्। मोरिसनले लामो समय प्रिन्स्टन विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गरिन्। उनले सन् १९८७ मा ‘बिलभेड’ उपन्यासबाट पुलिट्जर पुरस्कार पाएकी थिइन्। सन् १९९३ मा उनले नोबेल पुरस्कार प्राप्त गरिन्। उनी साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी अमेरिकी हुन्। मोरिसनले सन् २०१२ मा राष्ट्रपति बाराक ओबामाको हातबाट प्रेसिडेन्सियल मेडल अफ फ्रिडम पाएकी थिइन्। करिब ५० वर्षको लेखन यात्रामा उनले अफ्रिकी अमेरिकीको आवाज आफ्नो रचनामार्फत उजागर गरिरहन्।
भेनेजुएलामा अशान्ति
गत वर्षको मे महिनामा भएको निर्वाचनमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफू विजयी भएको घोषणा गरे। तर, विपक्षी दलले निर्वाचन परिणामलाई अस्वीकार गर्दै आन्दोलन सुरु गर्यो। जनवरी, २०१९ मा विपक्षी नेता हुवान ग्वाइदोले आफैँलाई राष्ट्रपति घोषणा गरे। अमेरिका र उसका समर्थक राष्ट्रले ग्वाइदोलाई मान्यता पनि दिए। तर, मदुरोले सत्ता छोड्न मानेनन्। अहिले पनि सत्तामा मदुरो नै छन्। ३० अप्रिलमा केही सैन्य अधिकारीहरूको साथमा ग्वाइदोले ‘कू’ को प्रयास गरेका थिए। तर, त्यो प्रयास असफल हुन पुग्यो।
मोरालेसको बहिर्गमन
ल्याटिन अमेरिकामा सबैभन्दा लामो समय सत्तामा रहेका बोलिभियाली राष्ट्रपति एभो मोरालेसलाई गत नोभेम्बरमा अपदस्थ गरियो। १४ वर्ष शासन चलाएका उनी विपक्षीहरूको आन्दोलन र सेनाको दबाबपछि देश छोडेर मेक्सिकोमा शरण लिइरहेका छन्। त्यसपछि बोलिभियामा दक्षिणपन्थी सिनेटर जिनिन अनेज राष्ट्रपति बनेकी छन्। तर, मोरालेसको पकड रहेका क्षेत्रका बासिन्दा अझै उनको पुनरागमनका लागि संघर्षरत छन्।
चन्द्रमाको अँध्यारो हिस्सामा पुग्यो चीन
चन्द्रमाको अँध्यारो हिस्सामा यान पठाउने पहिलो मुलुक बनेको छ, चीन। जनवरीमा चीनको चाङ ई यान दक्षिणी ध्रुवमा पुगेको हो। सोभियत र अमेरिकी यानले चन्द्रमाको परिक्रमा गरिसके पनि सो अँध्यारो क्षेत्रका तस्बिर लिन सकेका थिएनन्। चन्द्रमाको त्यो हिस्सा पृथ्वीतर्फ कहिल्यै पर्दैन। सो स्थानमा पुगेपछि चीनको अन्तरिक्ष महत्त्वाकांक्षामा अर्को एउटा फुली थपिएको छ।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2680) –एजेन्सीको सहयोगमा कवि आचार्य