ब्रिजवाटर कप सैनिकको पोल्टामा

ब्रिजवाटर कप सैनिकको पोल्टामा

भक्तपुर : भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि चुमेको हो।

च्याम्पियन बन्न सफल सैनिकले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता साइपाल एकेडेमीले पचास हजार रुपैयाँ नगद पुरस्कारमा जित्यो।

जिल्लाको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको फाइनलमा सैनिकको जीतको लागि बिश्रान्त बस्नेतले दुई गोल गरे। अर्को गोल कप्तान पुकार भण्डारीले थपे।

फाइनलको 'म्यान अफ दी म्याच' बन्न सफल विश्रान्त समग्र उत्कृष्ट डिफेन्डर घोषित भए। त्यस्तै प्रतियोगिताभर एउटा पनि गोल नखाएका सैनिककै गोलरक्षक आशिष बस्नेतले उत्कृष्ट गोलकिपरको उपाधि जिते।

सैनिककै कमल गुरुङ उत्कृष्ट मिड फिल्डर हुँदा बाबुकाजी धौबञ्जार उत्कृष्ट कोच घोषित भए।

उपविजेता साइपालका सञ्जीव लामा सर्वोत्कृष्ट खेलाडी बने। आयोजक ब्रिजवाटरका प्रजन राई उत्कृष्ट स्ट्राइकर घोषित हुँदा भक्तपुरको आदर्श जनप्रेमी स्कुल अनुशासित टीमले पुरस्कृत भयो।

प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजहरुको सहभागिता थियो।

एक तह एक खेल ग्राम : मन्त्री विक

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विकले पुरस्कार वितरण गर्दै तल्लो तहबाटै खेलकुद तथा खेलाडीहरुको विकास लागि देशका ७५३ वटै तहमा एकएक खेलग्राम निर्माण गर्ने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताए।

देशका सातै प्रदेशमा एकएक वटा सुविधासम्पन्न रंगशालासमेत निर्माण गरिने उनको भनाइ थियो। यसको लागि भक्तपुरमा समेत सुविधासम्पन्न रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री विकले जानकारी दिए।
‘अब खेलाडीले खेलकुदमा लागेर निराश हुनुपर्ने अवस्था आउने छैन’, उनले भने, ‘सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।’
उनले खेलकुदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने उदाहरण हालै सकिएको तेर्‍हौं साग खेलकुदबाट पुष्टि भइसकेको जिकिर गरे।

'१४ औं सागको लक्ष्य ७५ स्वर्ण'  

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै काम भइरहेको सुनाए।

१३औं सागमा ५१ वटा स्वर्ण जित्नु संयोग नभइ योजनाबद्ध तयारी, सोहीअनुसारको प्रशिक्षण र खेलाडीको मेहनतको परिणाम भएको उनले स्पष्ट पारे।
उच्च माध्यमिक विद्यालय संगठन (हिसान) का अध्यक्षसमेत रहेका सिलवालले एन्फासँग मिलेर एसईई सकाएर बसेका खेलाडीलाई समेटेर १८ वर्षमुनिका खेलाडीको लिग गर्ने बताए। यसको लागि देशभरबाट एकसय ६८ जना खेलाडी छनोट गरिने उनको भनाइ थियो।

‘उनीहरुलाई देशका १५ कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने योजना छ’, अध्यक्ष सिलवालले भने, ‘उनीहरुलाई शुक्रबार र शनिबार प्रशिक्षणको व्यवस्था हुनेछ। उनीहरु तयार भएपछि लिग प्रतियोगिता गरिनेछ।’

कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले हिसानसँग मिलेर कलेज पढ्ने खेलाडीको लिग गर्न एन्फा तयार रहेको जानकारी दिए।

उनले १३ औं सागमा स्वर्ण पदक जितेको नेपाली फुटबल टोलीको साखलाई जोगाइराख्न सन् २०२० मा बंगलादेशमा हुने साफको उपाधि जित्ने लक्ष्यसहित तयारी भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.