बाँड्न थालियो सेनेटरी प्याड

बाँड्न थालियो सेनेटरी प्याड

ललितपुर : ललितपुरको सिद्धिमंगल विद्यालयबाट छात्रालाई सेनेटरी प्याड बाँड्ने अभियान सुरु गरिएको छ। महिनावारीका कारण छात्राको पढाइमा बाधा नपुगोस् भनेर सरकारले सोमबारदेखि निःशुल्क सेनेटरी प्याड बाँड्न थालेको हो। कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई प्याड वितरण गरिनेछ। अभियान शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महिनावारी भएकै कारण छात्राको पढाइ रोकिन नहुने बताए। यो कार्यक्रमका लागि सरकारले एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ छुट्याएको जानकारी दिएको छ। मन्त्री पोखरेलले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ केही समयपहिले क्याबिनेटबाट पारित भइसकेको जानकारी दिए।

उनका अनुसार नेपालका ७ सय ५३ वटै स्थानीय तहमा मंगलबारदेखि प्याड वितरण गरिनेछ। यसका लागि अर्थ मन्त्रालयबाट सीधै स्थानीय तहमा रकम पठाइनेछ। स्थानीय तह तथा प्रधानाध्यापकले व्यवस्थापनको पाटो सम्हाल्नु पर्नेछ। स्थानीय तहले पारदर्शी तरिकाले त्यसको व्यवस्थापन गर्नु पर्नेछ। सार्वजनिक खरिद ऐनअन्तर्गत खरिद गरेर सुरक्षित भण्डारण तथा वितरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। वितरणको रिपोर्ट प्रत्येक महिना जिल्ला शिक्षा इकाइ हुँदै मन्त्रालयसम्म पुग्नुपर्ने हुन्छ। यसको अनुगमन तथा सहजीकरण मन्त्रालयले गर्नेछ। जुन शीर्षकमा रकम निकासा भएको छ त्यसैमा प्रयोग गर्नुपर्ने र जथाभावी खर्च गर्न नपाइने कार्यविधिमा लेखिएको पोखरेलले उल्लेख गरे। ‘यस कार्यक्रमअन्तर्गत नेपालका १४ लाख ३७ हजार छात्रा लाभान्वित हुनेछन्,’ उनले भने ‘एक जना छात्रालाई मासिक १६ वटा प्याड दिनेछौँ।’ सहरी इलाकामा यसको प्रभाव नदेखिए पनि दूरदराजमा उल्लासमय प्रभाव देखिने उनले बताए।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डबमोजिम प्याड निर्माण गरिनुपर्नेछ। प्याड सेतो रङको हुनुपर्नेछ। मलमल र सुतीको प्रयोग गर्नुपर्नेछ। ९५ प्रतिशत सुतीको प्रयोग हुनुपर्नेछ। सुतीका कपडा ६ महिनाभित्र कुहिएर जाने भएकाले विद्यालय हाताभित्र खाल्डो खनेर त्यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्याड प्रयोगका लागि प्रत्येक विद्यालयले एक जना शिक्षिका खटाउनु पर्नेछ। स्वास्थ्य र शिक्षा मन्त्रालयको सहयोगमा मुलुकभरि उक्त अभियान लागू गरिने प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुरले जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव स्रोतसाधन विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने, ‘प्रत्येक विद्यार्थी शतप्रतिशत विद्यालयमा हुनुपर्छ तर महिनावारीका कारण छात्रा स्कुलबाहिरै देखियो, त्यसैले सरकारले यस्ता कार्यक्रम ल्याएको हो।’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले हाल सरकारी विद्यालयमा मात्र अभियान सञ्चालन हुने बताए। ‘निजीलाई यो बाध्यकारी छैन। मन्त्रालयले बाँड्ने सरकारीलाई मात्र हो,’ शर्माले भने, ‘तर निजीले पनि कार्यान्जयनमा ल्याउनु राम्रो हो।’

महालक्ष्मी नगर प्रमुख रामेश्वर श्रेष्ठले महिनावारीका बेला पनि नियमित विद्यालय आउन सक्ने वातावरण बनाउन नगरभित्रका सामुदायिक विद्यालयमा प्याड वितरण गर्न थालेको जानकारी दिए। महालक्ष्मीमा १५ सामुदायिक विद्यालय छन्। त्यहाँ अध्ययनरत छात्रा र शिक्षिकालाई समेत सिनेटरी प्याड वितरण गरिएको थियो। उपमेयर निर्मला थापाले प्याड वितरण गर्दा निश्चित उमेर समूह तोक्न नहुने धारणा व्यक्त गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.