किसानको लाखौं कुम्ल्याएर कम्पनी नै बन्द

किसानको लाखौं कुम्ल्याएर कम्पनी नै बन्द

बेंसीसहर : कृषि तथा पशुपालनमा सहयोग गर्ने नाममा एक कृषि कम्पनीले लमजुङका हजारौं किसानलाई ठगेको छ । एशोसियसन अफ एग्रीकल्चरले जिल्लाका विभिन्न स्थानका चार हजार बढी किसानलाई ठगेको हो । 

१४ पुस २०७४ मा सदरमुकाम बेंसीसहरमा कार्यालय स्थापना गरेको सो कम्पनीले दुई वर्षको अवधीमा ४ हजार किसानसँग करिब ७० लाख रुपियाँ ठगेर भागेको हो। तरकारी तथा अन्नबालीको बिउविजन, बनस्पतीका विरुवा, कुखुराका चल्ला, उन्नत बाख्रा तथा भैंसीपालनमा सहयोग गर्ने नाममा कम्पनीले किसानसँग रकम उठाएको थियो। 

स्थानीय पत्रिकामा १० जना कर्मचारी माग गरेको सूचना प्रकाशन गरी ५० जना कर्मचारी भर्ना गरेको कम्पनीले गाउँ गाउँमा पुगेर कृषक समूह गठन गरेको थियो । १० जना बराबर एउटा समूह बनाई ४ हजार किसान गोलबन्द गरेको कम्पनीले प्रतिव्यक्ति ५ सयका दरले रकम उठाएको थियो।

सोही किसानलाई अगरउड, रुद्राक्ष, मलेसियन साल तथा बुद्धचित्तका बिरुवा, तरकारीका विउविजन वितरण गर्ने भन्दै थप १ हजार पाँचसय रुपैयाँका दरले रकम उठाएको थियो। उनै किसानलाई समय समयमा बिउविजन, बिरुवा तथा पशु सहयोगको नाममा रकम उठाइएको थियो ।

कम्पनीको कार्यालय स्थापना भएपछिको एक वर्षमा केही सिमित किसानलाई बिरुवा र तरकारी बिउ वितरण गरिएको थियो । 'हामीलाई १५ वटाका दरले बिरुवा दिन्छौं भनेर पैसा लगेका थिए, मस्र्याङ्दी गाउँपालिका ९ कि किसान अम्बिका कुइँकेलले भनिन्, '२ वटा बिरुवा दिएपछि फर्किएर आएनन्।' 

कम्पनीको बेंसीसहर शाखाकी कर्मचारी शर्मिला घिमिरेले किसानसँगै कर्मचारीलाई पनि ठगेर कम्पनीका प्रमुख भागेको बताइन् । 'गाउँगाउँ डुलेर किसानलाई गोलबन्द गर्‍यौं । बिरुवा र तरकारी खेतीमा सहयोग हुन्छ भनेर आश्वासन दियौं, तर हामीलाई नै झुक्‍काएर प्रमुख बेपत्ता भए,' घिमिरेले भनिन्, 'अहिले हामी गाउँ फर्किएर दिदीबहिनीको अगाडी मुख देखाउन सकेका छैनौं ।'

उनले आफूहरुले पटकपटक प्रयास गर्दा पनि कम्पनीका अध्यक्षदेखि प्रमुखसँग सम्पर्क गर्न नसिकएको बताइन् । उनले जिल्लामा कार्यरत कर्मचारीले एक वर्षदेखि तलबसमेत नपाएको बताइन्। 

सोही कम्पनीमा कार्यरत कर्मचारी सपना घिमिरेका अनुसार स्थायी कर्मचारीलाई मासिक १५ हजार, १ हजार पाँचसय भत्ता र दुईसय मोबाइल खर्च तोकिएको थियो । करार कर्मचारीलाई १० हजार तलब तोकिएको थियो। 

बाँकेको कोहोलपुरमा मुख्य कार्यालय रहेको भनिएको सो कम्पनीको लमजुङ शाखामा मीना गुरुङ श्रेष्ठ प्रमुख थिइन् । उनी २२ चैत २०७५ बाट फरार छिन् । जिल्ला समन्वय समितिबाट कृषिमा काम गर्ने अनुमति लिएर कम्पनीले बेंसीसहरमा शाखा खोलेको थियो ।

सो शाखाको बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका थिए । शाखा खोलेपछि जिल्लाको क्होँलासोँथर गाउँपालिका बाहेक अन्य ७ वटा स्थानीय तहमा किसानको समूह गठन गरिएको थियो । समूहमा धेरैजसो महिला सहभागी छन् । 

सो कम्पनीले बाख्राका पाठीका लागि १० हजार, पाठा लागि १२ हजार, भैंसीका लागि ७० हजार र कुखुराको चल्लाका लागि एकसय रुपैयाँका दरले किसानसँग रकम उठाएको थियो । 'हामीले किसानलाई मनाएर रकम उठाउँदै कार्यालयमा बुझाउँदै गर्‍यौं,' कम्पनीकी कर्मचारी लक्ष्मी दुलालले भनिन्, 'किसानको रकम कुम्ल्याएर हाकिम सम्पर्कविहीन भए।'

कम्पनीका मुख्य व्यक्ति फरार हुँदा किसान र कर्मचारीसँगै कार्यालय रहेको घरबेटी पनि ठगिएका छन् । घरबेटी कुमार पराजुलीले १४ महिनादेखि घरभाडा नपाएको बताए । 'मासिक 9 हजार भाडा दिने सर्तमा कोठा लिएका थिए, उनले भने, '१४ महिनादेखि भाडा पाएको छैन् । अहिले कार्यालयमा ताला लगाइदिएको छु।'

किसान र आफूहरु ठगिएको बारे प्रहरी प्रशासन र जनप्रतिनिधिलाई जानकारी गराएपनि सुनुवाई नभएको पीडित कर्मचारी बताउँछन् । सो कम्पनीले लमजुङ जस्तै ६६ जिल्लाका किसानलाई ठगी गरेको कर्मचारी बताउँछन् । सो कम्पनीका सञ्चालक गणेशदत्त भट्ट, कार्यक्रम संयोजक राजेश चौधरी, माया गुरुङ, शाखा प्रमुख मीना गुरुङ श्रेष्ठको मोबाइल स्वीच अफ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.