भ्रमण वर्षको पूर्वसन्ध्यामा नगरपालिकालाई फोहोर उपहार

भ्रमण वर्षको पूर्वसन्ध्यामा नगरपालिकालाई फोहोर उपहार

राजविराज : 'नेपाल भ्रमण वर्ष २०२०' को औपचारिक उद्‍घाटनको पूर्वसन्ध्यामा मंगलबार युवाले राजविराज नगरपालिका अगाडि फोहोरको थुप्रो फ्याकेर विरोध जनाएका छन्। नेपाल भ्रमणका लागि सिंगो मुलुक प्रचारप्रसारमा व्यस्त भइरहँदा पुरानो सहर राजविराजमा जताततै फोहोरको डंगुर थुप्रिएको भन्दै युवाले फोहोर संकलन गरी नगरपालिका कार्यालय अगाडि फ्याकेर विरोध जनाएका हुन् ।

सरसफाइको अभियानमा संलग्न ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले फोहोर व्यवस्थापनतर्फ नगरपालिकाको ध्यानाकर्षण गराउन विरोधको नयाँ शैली अपनाइएको जनाए ।

मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्‍घाटन भव्य समारोहका बीच हुँदैछ । भ्रमण वर्ष सचिवालयकाअनुसार बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा र सातै प्रदेशका मुख्यमन्त्रीले आ-आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । 

सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ । भ्रमण वर्ष एक वर्षका लागि मात्रै नभई सन् २०२०-२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी सरकारले तयारी गरेको छ।

पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ को आठवटै जिल्लामा समन्वय समिति गठन भएका छन् । विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गरिँदैछ। 

पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिनुपर्नेमा राजविराज नगरपालिकाले लाखौ रुपैयाँ खर्चेर पनि फोहोर व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको आरोप छ । सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकारको निस्क्रियताको विरोध जनाउन नगरपालिकालाई फोहोर उपहार दिनु परेको युवाले बताए।

नेपालको पहिलो टाउन प्लानिङ गरी बसाइएको सदरमुकाम राजविराज तराईको सबैभन्दा पहिलो र अधिराज्यको चौथो नगरपालिका हो । १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थालेपछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी गरेर राजविराज सदरमुकाम सारिएको हो। 

तत्कालिन वडा हाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी इन्जिनियर डिल्लीजंग थापालाई सुम्पेका थिए । उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजिकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरेका हुन् ।

त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारत जयपुरको नक्सा बमोजिम टाउन प्लानिङ गरी १९९८ मा राजविराज सहर बसाइएको पूर्वप्रधानपञ्च गोबिन्द सिंहले बताए ।राजविराज बजार क्षेत्रमा एक सातादेखि फोहोर नउठाइएकोले सहर दुर्गन्धित बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.