मेलमिलाप दिवस : कांग्रेस आफैं छिन्नभिन्न

मेलमिलाप दिवस : कांग्रेस आफैं छिन्नभिन्न

काठमाडौं : कांग्रेसले हरेक पुस १६ मा मेलमिलाप दिवस मनाउँदै आएको छ। यसपटकको दिवस आज (बुधबार) मनाइरहँदा कांग्रेस भने चरम गुटबन्दीमा फसेको छ। एउटा पक्ष बहुमतबाट पार्टी सञ्चालन गर्ने गरी अगाडि बढेको छ भने अर्को समूहले बैठक बहिष्कार गर्दै आएको छ। राष्ट्रिय एकताको कुरा गर्ने कांग्रेस आफैं छिन्नभिन्न अवस्थामा छ।

कांग्रेस पार्टी नभएर मोर्चाजस्तो भएको टिप्पणी गर्छन्, कांग्रेस पुराना नेता एवं पूर्वसभामुख तारानाथ रानाभाट। ‘जनताको अधिकार स्थापनाका लागि जीवनभर संघर्ष गरेका बीपी कोइरालादेखि गणेशमान सिंहसम्मले नेतृत्व गरेको पार्टी हो कांग्रेस। नेताहरू इतिहास रक्षा गर्न र पार्टीको गरिमा बचाउन होइन, आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाई भद्रगोल बनाउन लागेका छन्’, उनी भन्छन्, ‘पार्टीको जिम्मेवारी र पदीय महत्व बिर्सिएर सडकमा नांगो नाच देखाउने काम भएको छ। विपक्षी दल र जनतालाई लज्जित हुने गतिविधि भएका छन्।’

राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित कांग्रेस नेता बीपी, गणेशमान, शैलजा आचार्यलगायत २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए। सोही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष मेलमिलाप दिवस मनाउने गरेको हो। मुलुक संकटमा परेको भन्दै सम्भावित फाँसीको परवाह नगरी मुलुक फर्र्किएका बीपीकै पार्टी विवादबाट गुज्रिरहेको छ। संस्थापन र असन्तुष्ट समूहको विवाद चुलिँदो छ। सभापतिले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अर्काे पक्षले बहिष्कार गर्दै आएको छ।

राष्ट्रिय एकतामा जोड दिने बीपीकै पार्टीमा एकताको खाँचो औंल्याउँछन्, पूर्वसभामुख रानाभाट। ‘संसद्लाई सरकारले बन्धक बनाइरहेको छ, खै प्रतिपक्षी दल बोलेको ? आफूभित्र लडेर कसरी बलियो कम्युनिस्ट सरकारसँग लड्न सक्छ ? पार्टीभित्र र बाहिर सधैं निषेधको राजनीति भइरहेको छ’, उनी भन्छन्, ‘पहिला कांग्रेस आफैं एक हुनुपर्छ, त्यसपछि मात्र अरू दललाई एक ठाउँमा ल्याउन सक्छ। मेलमिलापको सुरुआत कांग्रेसबाटै सुरु हुनुपर्छ।’

दिवसकै अवसरमा सभापति शेरबहादुर देउवाले बुधबारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी बैठक बोलाएका छन्। ‘लोकतन्त्र र संघीयता रक्षाका लागि राष्ट्रिय एकता र मेलमिलापको राष्ट्रिय कर्तव्य निर्वाह गर्न कांग्रेस सक्षम छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘पुस १६ गतेकै दिन पारेर सभापतिज्यूले पार्टी शीर्ष नेताहरूलाई बोलाउनुभएको छ। यसले पनि पार्टीभित्र हार्दिकता बढाउन र विवाद हल गर्न सहयोग पुग्छ।’

सभापति देउवा पेलेरै अगाडि बढ्न खोजेपछि पौडेल समूह चिढिएको छ। देउवाले पौडेल समूहको बहिष्कारबीच १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, विभागको संख्या बढाउने र तरुण दलको समयावधि थप गर्ने निर्णय बैठकबाट गराएका थिए। पार्टी कार्यालय सानेपामा मंगलबार असन्तुष्ट समूहको बसेको थियो। केन्द्रीय कार्यसमितिको बहुमतले गरेका निर्णय नसच्याएसम्म कुनै पनि बैठकमा सहभागी नहुने निर्णय बैठकले गरेको छ। यसबाट देउवाले बोलाएको पदाधिकारी बैठक पनि प्रभावित हुन सक्ने देखिएको छ।

‘हामी कुनै बैठकमा सहभागी हुँदैनौं’, केन्द्रीय सदस्य गुरु घिमिरेले अन्नपूर्णसँग भने, ‘पार्टीभित्र एकता र समझदारीका लागि उच्च तहमा छलफल जारी राख्छौं। तर, पदाधिकारी÷केन्द्रीय कार्यसमिति बैठकमा जाँदैनौं।’

पौडेल समूहले दबाबका लागि जिल्ला सभापति भेला बोलाउने निर्णयसमेत गरेको छ। ‘पुस २१ गते जिल्ला सभापति भेला बोलाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य घिमिरेले भने, ‘महाधिवेशजस्तो विषय आवश्यक सहमति नगरी एकपक्षीय ढंगले गर्न खोजिएको छ। एक वर्ष नपुग्दै विधानको धारा निलम्बन गर्ने काम भएको छ। सभापति भेलापछि कसरी अगाडि बढ्ने भन्नेबारे तय हुन्छ।’

देउवाले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्न पदाधिकारी बैठक बोलाएका हुन्। बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। उपसभापति विमलेन्द्र निधिले सोमबार वरिष्ठ नेता पौडेलसँग भेट गरी बैठकमा सहभागी हुन आग्रह गरेका थिए। पौडेलले भने ‘अहिले जसरी चलाउनुभएको छ त्यसरी नै गर्नुस्, हामी किन चाहियो’ भन्दै निधिलाई जवाफ फर्काएका थिए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बहुमत र बहिष्कारको राजनीति अन्त्य गर्न देउवाको ध्यानाकर्षण गराएका छन्। बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिनु पार्टी परम्पराविपरीत निर्णय भएकाले सच्याउन उनले देउवालाई आग्रह गरेका छन्। ‘पुस ११ गते केन्द्रीय कार्यसमिति बैठक जसरी सम्पन्न भयो त्यो पार्टीको परम्पराविपरीत त छ नै, साथै आजको विषम परिस्थितिमा पार्टी र लोकतन्त्रको हितविपरीत पनि छ’, उनले भने, ‘पार्टीको महाधिवेशनजस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन।’ उनले मंगलबार देउवालाई ध्यानाकर्षणपत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.