१० पर्यटकीय गन्तव्यमा हिल स्टेसन
हेटौंडा : प्रदेश ३ सरकारले सन् २०२० देखि २०३० सम्म भ्रमण दशक मनाउन करिब १ अर्ब रुपैयाँ खर्चेर हिलस्टेसन निर्माण गर्ने भएको छ। प्रदेशका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा निर्माण गरिने हिलस्टेसनमध्ये ३ वटाको डीपीआर तयार गरी निर्माण सुरु भइसकेको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले जानकारी दिएको छ। मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोकको मुडे र नुवाकोटको ककनीमा हिलस्टेसन निर्माणको काम सुरु भएको हो। एउटा हिलस्टेसन निर्माण लागत ३ करोड रुपैयाँ छ।
हिल स्टेसन निर्माण हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन्। ‘हिमाल र वरिपरिका जिल्लाको रमणीय दृश्य देखिने मुडे डाँडामा हिल स्टनेस निर्माण हुनेभएपछि हामी उत्साहित छौं’, सिन्धुपाल्चोकको लिसंखुपाखर ५ स्थित मुडेका कान्छा श्रेष्ठे भने। सिन्धुलीको सिन्धुली गढीमा हिल स्टेसन निर्माण गर्न फरक स्थान छनोट गर्नुपर्ने भएकाले डीपीआर तयार भएर पनि ठेक्का सम्झौता हुन बाँकी छ। ‘हिल स्टेसन निर्माण गर्ने भनिएको स्थानमा युद्ध संग्राहलयलगायत संरचना निर्माणको काम सुरु भएकाले नजिकै उपयुक्त स्थान छनोटको काम भइरहेको छ’, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर बर्माले भने, ‘स्थान छनोट गरेर यही वर्ष निर्माणको काम गर्छौं।’
प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशकको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा लिएको हिल स्टेसन निर्माणमा प्रदेश सरकारले चालु आर्थिक वर्षमा नै करिब २० करोड रुपैयाँ खर्च गर्ने प्रदेश ३ उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले बताए। मन्त्रालयले दोलखाको जिरी, धादिङको रुवी भ्याली, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङमा पनि हिल स्टेसन निर्माण गर्न डीपीआरको काम भइरहेको उनले जानकारी दिए।
हिल स्टेसनमा बगैंचा, भ्यू टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्टलगायत भौतिक संरचना निर्माण हुनेछ। हिल स्टेसनमा रिसोर्ट चलाउने चाहना राख्नेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने प्रदेश ३ पर्यटन विकास आयोजना प्रमुख शिव सापकोटाले बताए। निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। ‘प्रदेशको उत्कृष्ट गन्तव्य छनोट गरी आन्तरिक र बाह्य पर्यटकलाई गर्मी छल्ल र अग्लो डाँडाबाट हिमालसहित अन्य क्षेत्रको दृश्यावलोकन गर्न सक्नेगरी हिल स्टेसन निर्माण हुनेछ’, उनले भने।
चालु आव १ अर्ब ३५ करोड खर्चिँदै
प्रदेश ३ सरकारले भ्रमण वर्ष सन् २०२० को तयारी र सन् २०२० देखि सन् २०३० सम्मको भ्रमण दशकको पूर्वावाधर निर्माण गर्न चालु आर्थिक वर्ष १ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
यो रकम प्रदेशलाई पर्यटनको ‘हब’ बनाउन विभिन्न जिल्लाका पर्यटकीय स्थलसम्म पुग्ने सडक सुधार, पर्यटकीय पार्क निर्माण, भ्यू टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङस्थल, धार्मिक पर्यटकीय सर्किट निर्माणलगायतमा खर्च गरिने उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री नेपालले बताए। रकम प्रदेश पर्यटन विकास आयोजनामार्फत खर्च हुनेछ।