सीमापारि लिम्बू पर्वको रौनक
तेह्रथुम : नेपालको सुदूरपूर्वमा आदिमकालदेखि रैथाने जातिका रूपमा बस्दै आएका लिम्बू समुदायको भारतको सिक्किममा पनि बाक्लो बसोबास छ। सिक्किममा रहेका लिम्बूले मौलिक पर्व तथा उत्सव भव्यताका साथ मनाउने गरेका छन्।
लिम्बू जातिको महान् चाड चासोक तङ्नाम प्रत्येक मंसिर पूर्णिमाको आसपासमा मनाइने एक प्राचीन तथा मौलिक चाड हो।
नेपाललगायत विश्वभर रहेका किराँत लिम्बूहरूले चासोक तङनामलाई प्रमुख चाडको रूपमा मनाउँदै आएका छन्। लिम्बू जातिको सांस्कृतिक महत्व बोकेको मौलिक पर्व चासोक तङनाम भारतको सिक्किममा बर्सेनि मनाउने गरिएको नियारा प्रोडक्सनका संयोजक तथा लिम्बू सांस्कृतिक अभियान्ता नियारा ताम्लिङले बताइन्। भनिन्, ‘मौलिकता जीवन्त राख्न हाम्रा पर्व मनाउँदै आएका हौं।’
मुन्धुम अनुसार कृषियुग सुरु हुनुभन्दा अगाडि किराँत लिम्बूहरूका पुर्खाले कन्दमूल काँचै खाने गर्थे। त्यस कारण कुपोषण भई अनेकौं रोग लाग्यो। रोगबाट मुक्ति पाउन ईश्वरले मावनलाई अन्नबाली लगाउन बीउ दिएको र सोही अन्नबाली पाकेपछि आफूले नखाई पहिले प्रकृतिलाई नै चढाउने प्रथा चासोक तङनामको रूपमा विकास भएको सिक्किमका मुख्यमन्त्री प्रेमसिं गोलेको भनाइ छ। ‘सिक्किम सरकारले सबै जातजातिका चाडपर्वलाई महत्वका साथ लिने गरेको छ’, उनले भने, ‘सबैको मौलिकता बचाउनु नै सरकारको दायित्व हो।’
यस पटकको चासोक तङनाम पूर्वसिक्किमको रानीपुलमा तीन दिनसम्म मनाइएको छ। पुस पहिलो साता आयोजना भएको पर्वमा एक सयभन्दा बढी सांस्कृतिक बाजा च्याब्रुङ देखिए। विभिन्न जातिको झाँकी प्रस्तुतिले ग्यान्तोक क्षेत्रमा रौनक छाएको थियो। हजारौंको उपस्थितिमा मौलिक पुजारी फेदाङमाबाट परम्परागत सामूहिक पूजाका झलक देखिन्थे। जातीय परम्परागत खेलको साथमा नृत्य, गायन, खानेकुराका परिवार तङनामको विशेष आकर्षण थियो।
भारतका विभिन्न क्षेत्रबाट आएका लिम्बूहरू जातीय भेषभूषामा सजिएका थिए। तङनामका लागि पुगेका नेपाली कलाकारको टोलीले समेत प्रस्तुति दिएको थियो। आफू बर्सेनि प्रस्तुतिका लागि सिक्किम जाने गरेको नेपाली कलाकार सुनिता थेगिमले बताइन्। ‘सिक्किममा हुने विभिन्न कार्यक्रममा जाने गरेकी छु’, उनले भनिन्।
सिक्किममा लिम्बू जातिका मौलिक पर्व चासोक तङनाम, कक्फेवा तङनाम, सिसेक्वा तङनाम, वलिहाङ तङनामलगायत धूमधामका साथ मनाउने गरिएको उत्तर सिक्किमका अजित सुब्बाले बताए। उनले भने, ‘यहाँ अन्य जातिभन्दा लिम्बूले आफ्नो धेरै पर्व मनाउँदै आएका छन्।’
नेपालको पहाडी मूलमा पाइने प्रायः सबै जातिको बसोबास रहेको सिक्किमको जनसंख्या करिब सात लाख छ। नेपाल भाषी यी सबै जातिले नेपालमा झैं आफ्नो मौलिक परम्परा र संस्कृति मनाउने गरेका छन्। लिम्बू जातिको बाहुल्य रहेको यहाँ सरकारी कामकाज तथा स्कुल र कलेजसमेत लिम्बू भाषा एवं लिपिमा सञ्चालित छन्। देश फरक भए पनि भाषा, भेष, संस्कार र संस्कृति विश्वभर छरिएर रहेका जातिको एकै हुन्छ भन्ने उदाहरण सिक्किमका लिम्बूले दिएका छन्।