पैंचोले दिलायो रोजगारी
गुल्मी : ०७१ अगाडिसम्म गुल्मी छत्रकोट गाउँपालिका रामकृष्ण कँडेलले पैंचो छिमेकीबीच मात्रै गरिन्छ भन्ने बुझेका थिए। पुसको जाडो महिना। गाउँमा हल्ला चल्यो। पैंचो पसल खोल्ने। त्यो पनि तरकारी र फलफूलजन्य सामग्रीको। गाउँलले सोंचे। तरकारीको पनि पैंचो हुन्छ र ? यो प्रश्न सबै मान्छेको मनमा आयो।
पैंचो पसल प्रालिका निर्देशक धुव्र न्यौपाने भन्छन्, ‘प्रश्नको उत्तर दिएर कसैले पत्याउन सकेनन्।’ ०७१ सालको पुस १५ मा गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित बलेटक्सारमा पैंचो पसलको स्थापना गरियो। पैंचो खुलेपछि स्थानीयले घरमा उत्पादन भएको तरकारी लिएर नगद वा सामन लैजान सुरु गरे। त्यसपछि बल्ल थाहा भयो गाउँलेलाई तरकारीको पैंचो।
सुरुवातीका दिनमा पैंचोले केही चुनौती भोग्नु परेको निर्देशक न्यौपानेले बताए। किसानको मन जितेर पैंचोलाई अगाडि बढाउन धेरै मिहिनेत गर्नुपरेको उनको अनुभव छ। स्थापना भएको ५ वर्षमा पैंचोको पहिचान देशभित्र मात्र नभई विदेशमा समेत राम्रै छ। गाउँमा उत्पादन भएका अर्गानिक तरकारी, अन्नपात र फलफूल किसानबाट किनेर सहरमा बिक्री गर्ने काम पैंचोको पहिलो प्राथमिकता हो। किसानलाई तरकारीबापत नगद वा आवश्यकताअनुसार सामान घरमै उपलब्ध गराउने गरेको न्यौपानेले जानकारी दिए।
छत्रकोटका रामकृष्ण कँडेलले सुरुमा पैंचोको विरोध गर्ने गर्थे। तर, ४ वर्षदेखि उनी पैंचो प्रालिका सर्वोत्कृष्ट किसानका रूपमा पुरस्कृत भएको बताए। ‘पहिले पैंचोको विरोध गर्ने मै हो’, उनले भने, ‘अहिले पैंचोलाई सबैभन्दा बढी तरकारी बेच्छु।’ कँडेलले वार्षिक १० लाखको तरकारी पैंचोलाई बेच्ने गरेको बताए। पैंचोलाई तरकारी बेचेर मोटरसाइकल चढ्ने किसानको नाममा उनी गाउँमा कहलिएका छन्।
उनी जस्तै छत्रकोट–४ दिगामका ओम श्रेष्ठ पनि पैंचोका नियमित तरकारी कृषक हुन्। ५७ वर्षीय श्रेष्ठले पैंचोलाई वार्षिक १२ लाख बराबरको तरकारी बेचेर आम्दानी गरेको सुनाए। ‘यसरी घरबाटै तरकारी बेच्न पाइएला भनेर सोचेको थिएनँ’, उनी भन्छन्, ‘तरकारी लिन पैंचो घरमै आउँछ।’ किसानलाई सम्मान र पुरस्कृत गर्दै तरकारी किनिदिने पैंचोको कार्य उदाहरणीय रहेको प्रदेश सांसद कमलराज श्रेष्ठले बताए। पैंचोले नेपालको व्यापार घाटा घटाउन उल्लेख्य सहयोग पुर्याएको श्रेष्ठको भनाइ छ। पैंचोले गुन्दु्रक, सिस्नो र मकै कोदोको महŒव सहरमा मात्रै नभई विदेशमा समेत बढाएको सांसद श्रेष्ठले उल्लेख गरे।
पहाडका गाउँमा के हुन्छ र ? भन्ने सोंच अहिले पैंचोले फेरिदिएको छ। पहाडमा उत्पादित सामग्री सिधै नेपालका मुख्य सहरमा पुग्ने गरेको निर्देशक न्यौपाने बताउँछन्। १६ जनाको २ करोड लगानीमा स्थापना भएको पैंचो पसल हाल ३० करोडमा पुगेको छ। ४५ जना सेयर सदस्य रहेको न्यौपानेले जानकारी दिए। देशैभर पैंचोका ५७ वटा तरकारी संकलन केन्द्र रहेका छन्। यस वर्ष १० वटा नयाँ तरकारी संकलन केन्द्र थपिने पैंचो पसलले जनाएको छ। २ वटा प्रशोधन केन्द्रबाट पैंचोले अचार, जुस र सस उत्पादन गरिरहेको छ। नौ वटा शाखाबाट पैंचोले बिक्री वितरणको कार्य अगाडि बढाएको जनाएको छ। हाल पैंचोमा तीन सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने मासिक एक करोडभन्दा बढी कर्मचारीको तलबमा खर्च हुने प्रालिले जनाएको छ। पैंचोबाट १२ हजार किसान प्रत्यक्ष लाभान्वित भएका छन्।
नेपालमा प्रदेश १ बाहेक अन्य सबै ठाउँमा पैंचोको सामग्री पुगेको निर्देशक न्यौपाने बताउँछन्। दिनप्रतिदन मकै र कोदोको माग बढेकाले माग धान्न नसकेको उनी बताउँछन्। हाल पैंचोले वार्षिक ५० करोडको कारोबार गर्ने गरेको प्रालिले जनाएको छ।