छाउ बार्दैनन् लामा समुदाय
मुगु : मुगुम कार्मारोङ गाउँपालिका ८ की ३२ वर्षीया पेमा याङजु लामा महिनावारी भएको बेला सधैं घरभित्रै बस्छिन्। उनकी दिदिबहिनी, आमा, भाउजू र सासूआमासमेत अहिलेसम्म महिनावारी भएको बेला छाउगोठमा बसेको रेकर्ड छैन।
महिनावारी भएका बेला उनीजस्तै मुगुम कार्मारोङ गाउँपालिकाका १२ वटै लामा बस्तीका महिला छाउ गोठमा बस्दैनन्। जिल्लामा चार वटा स्थानीय तह छन्। तर गाउँपालिकाकै लामा समुदायबाहेक अन्य स्थानीय तहमा भने छाउपडी प्रथा कायम छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकामा छाउपडी प्रथाले विकराल रूप लिएको बेला मुगुम कार्मारोङ गाउँपालिकामा रहेका लामा समुदाय छाउ नबार्नेमा उदाहरण बनेका हुन्।
अन्य स्थानीय तहको तुलनामा यो गाउँपालिका शैक्षिक दृष्टिकोणले पछि परेको पालिका हो। अन्य स्थानीय तहका महिला महिनावारी भएको बेला अहिले पनि तीन दिनदेखि सात दिनसम्म घरबाहिर छाउगोठमै बस्छन्। यहाँका लामा समुदायले छाउ नबारे पनि अन्य बाहुन, क्षेत्री समुदायमा भने छाउ बार्ने चलन हटेको छैन। मुगम कार्मारोङमा बसोबास गर्ने बौद्ध धर्मालम्बीले छाउपडी प्रथा मान्ने व्यक्तिलाई धर्मविरोधीका रूपमा लिन्छन्। हिन्दू समाजमा छाउ नबार्नेलाई धर्म विरोधीका रूपमा लिइन्छ।
‘हाम्रो समुदायमा छाउ बार्ने चलन नै छैन, महिनावारी हुँदा घरभित्रै सबै परिवार सँगै बस्छौं’, मुगुम कार्मारोङ १ की छोर्देन तामाङले भनिन्, ‘तर अन्य समाजमा महिनावारी हुँदा छाउ मान्ने, पोसिलो खानेकुरा खान नदिने, घरबाहिरै बसाल्ने चलन देख्दा अचम्म लाग्छ।’ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ तामाङले लामा समुदायजस्तै अन्य समुदायका महिला पनि छाउपडी प्रथाबारे बिस्तारै परिवर्तन हुदै जाने बताइन्।
‘लामा समुदायका महिला महिनावारी हुँदा पनि पुजाआजा गर्दा केही नहुने, तर अन्य समुदायका महिलाले घरभित्र बसे पाप लाग्ने यो कस्तो संस्कार हो’, उनले भनिन्, ‘यस्ता गलत संस्कार अन्त्यका लागि हामी भरपुर रूपमा लाग्छौं।’ उनका अनुसार लामा समुदायका महिलाले महिनावारी हँुदा पकाएको सेलरोटी धर्मगुरुहरूले समेत खाने गर्छन्। तर उनीहरूलाई अहिलेसम्म केही नभएको भन्दै छाउ बार्ने समुदायलाई पनि परिवर्तन गरिने उनको भनाइ छ।
मुगुम कार्मारोङ १ देखि ८ सम्मका ११ सय १५ घरधुरीका लामा समुदायले छाउ नबार्ने गरेका हुन्। तर सोही गाउँपालिका ९ मा बस्ने दुई सय ३० घरधुरीमा रहेका क्षेत्री समुदाय भने छाउ बार्छन्। छाउपडी प्रथा मान्ने घरधुरी वा समुदायलाई सामाजिक सुरक्षा भक्तामा रोक लगाउने गृह मन्त्रालयको परिपत्रले जिल्लामा तरंग उत्पन्न गरेको छ। मुगुम कार्मारोङका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालका अनुसार छाउ नबार्ने समुदायलाई छाउ बार्ने समुदायमा पठाएर सचेतनाका कार्यक्रम सञ्चालन गरिने बताए।