करोडपति उपसचिव
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले २६ वर्षे जागिरे अवधिमा चार करोड ५८ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको देखाएको छ। उनीविरुद्ध ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाइएको छ।
उपसचिव ढुंगाना २०४९ साउन १९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। २०४९ साउन १९ देखि २०७५ असार ३२ सम्ममा ४ करोड ६८ लाख ४८ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ। यो अवधिमा उनको तलब भत्तालगायत वैध आय ७९ लाख ५४ हजार ७९५ मात्रै हुन्छ। तर उनले विभिन्न क्षेत्रमा करोडौं लगानी गरेका छन्। उनको यो अवधिको खर्च तथा लगानी अस्वभाविक देखिएको छ।
यो अवधिमा उनले ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा देखिएको छ। उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि भएपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले उनीसँग ४ करोड ६८ लाख ४८ हजार बिगो माग गरेको छ। ढुंगानाकी पत्नी मधु कोइराला (ढुंगाना)लाई प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अख्तियारले मधुको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गर्दै उनलाई प्रतिवादी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
उपसचिव ढुंगानाविरुद्ध उनले आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद तोक्न र बिगो बमोजिम जरिवाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफतको माग दाबी गरिएको छ। ढुंगाना वीरगञ्ज भन्सार कार्यालय र विराटनगर भन्सार कार्यालयमा पनि बसेका थिए। उनी अर्थमन्त्रालयको ‘कोर’ ग्रुपभित्रका कर्मचारी हुन्।