शाली नदीमा स्नान गर्न पक्की बाँध (फोटो फिचर)

शाली नदीमा स्नान गर्न पक्की बाँध (फोटो फिचर)

साँखु  : एक महिने माधवनारायण व्रत यहीं पुस २५ गतेदेखि सुरु हुँदैछ। यसलाई श्री स्वस्थानी व्रतका नामले पनि चिनिन्छ। यो व्रत बस्नको लागि काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित शाली नदी बढी महत्वपूर्ण मानिन्छ।

स्वस्थानी व्रत कथाअनुसार शाली नदी क्षेत्र ऐतिहासिक एवं पौराणिक स्थान भएकाले पनि यसको महत्व बढेको छ। त्यसैले व्रत अवधिभर लाखौं भक्तजन शाली नदी पुग्ने गरेका छन्। यहाँ पुग्ने भक्तजनले शाली नदीमा नुहाउने प्रचलन रहेको छ।

शाली नदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ। त्यस्तै व्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता रहेको छ। त्यसैले यहाँ विगतमा राज्य प्रमुखसमेत पुगेर व्रतालुलाई गच्छेअनुसार दान दिने गरेका थिए।

माधवनारायण एवं स्वस्थानी माताको व्रत बस्दा व्रतालुले प्रत्येक दिन शाली नदीमा स्नान गर्नुपर्छ। त्यसैले व्रतालुलाई स्नान गर्न सहज हुने गरी शाली नदीलाई छेकेर पोखरी बनाइन्छ।

गत वर्षसम्म व्रतालुलाई स्नान गर्न शाली नदीमा बालुवा भरिएको बोराले पानी छेक्दै आएको थियो तर यस वर्ष भने पक्की बाँध निर्माण गरिएको छ। नदीको दुई किनारबाट पानी जाने गरी पक्की बाँध निर्माणसँगै स्नान गर्ने ठाउँ व्यवस्थित भएको छ।

माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले शाली नदीमा पक्की बाँध निर्माण गरेको हो। त्यस्तै स्नान गर्ने शाली नदीको पूर्वी किनारमा पनि पक्की खुड्किला निर्माण गरिएको छ। जसले गर्दा भक्तजनलाई शाली नदीमा स्नान गर्न थप सहज हुने समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले सुनाए।

उनले एक महिने व्रतको लागि शाली नदी परिसर सिंगार्ने तथा अरु व्यवस्थापन पूरा भएको जानकारी दिए। यस वर्ष अघिल्ला वर्षहरुमा भन्दा सहज र व्यवस्थित हुने गरी समितिले तयारी गरेको उनको भनाइ थियो।
एक महिन् व्रतको लागि अहिले शाली नदी परिसर सिंगार्ने काम धमाधम भइरहेको छ। सरसफाइसँगै मर्मतसम्भार तीव्र भइरहेको छ। शाली नदीमा बनाइएको ट्रस पुलको पनि मर्मत भइरहेको छ। शाली नदी स्तम्भ निर्माण जारी छ। स्तम्भको चारैतिर दुबो रोपेर हरियाली बढाइँदै छ। माधवनारायण पार्क सिंगारिएको छ।

भएका शौचालयको मर्मत तथा सरसफाइसँगै थप शौचालयको लागि अस्थायी संरचना निर्माण तीव्र बनाइएको छ। मेला भर्न पुग्ने भक्तजनलाई चिया, नास्ता र खाना खुवाउने पसलको लागि अस्थायी घरटहरा निर्माण पनि धमाधम भइरहेको छ। पसल खोल्न साँखुबाट शाली नदी जाने मुख्य सडकको दायाँबायाँका खाली ठाउँमा कोही जग्गा सम्याइरहेका छन्, कोही बाँस उठाएर टहरा ठड्याउँदैछन्। कोही मिटर टेप लिएर आफ्नो भागको ठाउँ छुट्याउँदैछन्।

पहिलेदेखि भएका पसलले पनि आफ्नो ठाउँ विस्तार गर्ने र मेच टेबलको संख्या बढाइरहेका छन्। यता व्रत सुरु नहुँदै शाली नदी पुग्ने सर्वसाधारणहरुको संख्या बढेको छ। अरु दिनभन्दा शनिबार र बिदाका अरु दिनमा शाली नदी पुग्नेहरुको संख्या बढ्ने गरेको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन्। ‘शाली नदीमा सर्वसाधारणहरुको चहलपहल बढ्न सुरु भएको छ’, उनले भने, ‘अरु दिनभन्दा शनिबार र बिदाको बेला यहाँ बढी पुग्छन्।’

गत वर्ष नबनेको काठमाडौं चाबहिल जोरपाटी साँखु सडक लगभग बनिसकेकाले यस वर्ष बढीभन्दा बढी भक्तजन शाली नदी पुग्ने समितिका महासचिव एलपी श्रेष्ठले दाबी गरे।

उनले यस वर्ष करिब चालीस लाख भक्तजन शाली नदी पुग्ने अनुमान गरे।‘यस वर्ष नेपाल भ्रमण वर्ष २०२० पनि परेकाले हामीले त्यहींअनुसार व्यवस्था गरेका छौं’, उनले भने, ‘शाली नदी पुगेकाहरु काठमाडौंकै बज्रयोगिनी, नाङ्लेभारे, कात्तिके, सिन्धुपाल्चोकको भोटेचौर र भक्तपुरको नगरकोट, तेलकोट र चाँगुनारायणसम्म पुग्न सक्छन्।’

काठमाडौंको चाबहिलसँगै भक्तपुरको बोडे, दुवाकोट, चाँगुनारायण, तेलकोट र नगरकोटबाट साँखु पुग्न सकिने महासचिव श्रेष्ठ बताउँछन्। उनले शाली नदी पुग्ने भक्तजनलाई केन्द्रित गरेर समितिले यातायात तथा पार्किङको राम्रो व्यवस्था गरेको सुनाए।
‘भक्तजनलाई ठगिनबाट जोगाउन तीन दिनको फरकमा बजार अनुगमन गर्न छुट्टै समितिको व्यवस्था गरेका छौं’, उनले भने, ‘प्रत्येक पसलमा सर्वसाधारणले देख्ने गरी मूल्यसूची राख्न अनिवार्य गरेका छौं।’

एक महिने व्रतको तयारी पूरा
यसैबीच समितिले शनिबार पत्रकार सम्मेलन गरी एक महिने व्रतको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। कार्यक्रममा शंखरापुर नपाका प्रमुख सुवर्ण श्रेष्ठले नपाको पहिचान बोकेको स्वस्थानी व्रत हुने शाली नदी क्षेत्रको दिगो विकासको लागि योजनाबद्ध काम गर्ने बताए।

उनले काठमाडौंबाट साँखु पुग्ने सडकको २५ प्रतिशत काम बाँकी भएको र उक्त काम व्रत सुरु हुनुअघि नै सकाउने गरी काम गराइने जानकारी दिए। ‘सडकका ठेकेदारबाट काम नभए भक्तजनबाट गुनासो नआउने गरी नगरपालिका आफैले उक्त सडक सुधारको काम गर्नेछ’, उनले भने।

महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले व्रत अवधिभरको लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिए।

एक महिने माधवनारायण स्वस्थानी व्रतको तयारीबारे जानकारी दिँदै समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.