भागवत सिक्दै बालिका

भागवत सिक्दै बालिका

चितवन : कैलालीकी दीक्षा चौधरी हरेक दिन बिहान ५ बजे उठ्छिन। हरेक बिहान स्नान गरेपछि व्यायाम, जप र ध्यान गर्छिन्। १३ वर्षकी दीक्षाको दैनिकी पूजापाठ र भजनबाट सुरु हुन्छ। उनले भागवत सिक्न थालेकी छन्। भागवतको वाचन, त्यसको महत्वको बारेमा रुचि राख्ने चौधरीलाई भागवत वाचिका बन्ने ठूलो रहर छ। त्यसैले उनी साथीहरूसँग देवघाटमा संस्कृत पढिरहेकी छन्। भागवत शास्त्रभित्रको अर्थ बुझ्दै सिकिरहेका छन्। ‘गाउँको दिदीबाट थाहा पाएपछि संस्कृत पढ्न रहर लाग्यो’ दीक्षाले भनिन्, ‘प्रवचन भन्न इच्छा छ। यसैमा रमाउँछु।’

बाजुरा कबल्टाकी जयलक्ष्मी हमाललाई पनि भागवत वाचिका बन्ने इच्छा छ। संस्कार सिक्न संस्कृत पढ्न आएको उनले बताइन्। त्यसैले उनी कक्षा ६ मा संस्कृत अध्ययन गरिरहेकी छन्। ‘गुरुकुलमा जस्तो संस्कार अरू विद्यालयमा हँुदैन’ जयलक्ष्मी भन्छिन्, ‘मलाई भागवतको बारेमा जानेर ठूलो मान्छे बन्ने इच्छा छ’। गुरुकुलको शैक्षिक वातावरणमा साथीहरूसँग उनी रमाएकी छन्।

कुनै समय महिलाले गायत्री मन्त्र सुन्न हँुदैन भन्ने प्रचलन थियो। त्यसमा पनि महिलाका लागि संस्कृत पढ्ने भन्ने कुरा सोचको विषय थिएन।

तर देवघाटमा बालिकाले संस्कृत पढिरहेका छन्। छोरी मान्छे पनि धार्मिक कामका लागि उत्तिकै सक्षम छन् भन्ने देखाउन उनीहरूले खोजेका छन्। उनीहरू गुरुकुलमा शक्तिको आराधनाका साथै संगीत पनि सिकिरहेका छन्। वैदिक परम्पराअनुसार कथा सिकिरहेका छन्। बिहान सबरै उठेर नुहाएर पूजापाठ गर्छन्। पूजा हुँदा होम गर्ने मन्त्र पढ्ने गर्छन्। हिन्दू धर्मको परम्परामा सबै जातका किशोरी रमाएका छन्।

देवघाटमा रहेको कन्या गुरुकुलमा रहेका छात्रा। तस्बिर : अनिल ढकाल

‘आधुनिकताभन्दा संस्कृतमा मन रमाएको छ’, कक्षा ७ मा पढ्ने चेतना बाग्ले भन्छिन्, ‘गुरुकुलमा पढेर भविष्य बन्छ भन्ने लागेको छ।’ बालिका भजन गाउन पनि सिपालु छन्। गायनसँगै वाद्यवादनमा पनि उनीहरू सक्रिय छन्। हार्मोनियम, मादल, खैचडी र मुजुरा उनीहरूको साधन हुन्। धार्मिक कार्यक्रममा सहभागी हुन्छन्। अनुशासनसँगै संस्कार उनीहरूको नित्यकर्म जस्तै हो।

गुरुकुलमा जाने सबैलाई उनीहरू आदर सत्कार गर्छन्। घरबाट टाढा भए पनि उनीहरू गुरुकुलमा रमाएका छन्। गुरुकुलमा उनीहरूको आफ्नै संसार छ। आफूजस्तै साथीहरूसँग रमाएका छन्। संस्कृतप्रतिको मोह बढ्दै गएको छ।

देवघाटमा रहेको रामजानकी गार्गी कन्या गुरुकुलमा २८ जना बालिका संस्कृत पढ्छन्। यो नेपालको एक मात्र कन्या गुरुकुल हो। वेदको ज्ञानमा रुचि राखेर उनीहरूले त्यहाँ पढेका छन्। विधिवत् रूपमा शास्त्रभित्रको अर्थ प्रष्ट्याउने गरी उनीहरू सिक्दैछन्।

कतिपय घरमा पढ्ने वातावरण नभएकाहरू आएर यहाँ पढ्न थालेका छन्। बालिका १० देखि १६ वर्ष उमेर समूहका छन्। उनीहरू भागवतसँगै शास्त्रीय संगीत र नृत्य पनि सिक्दैछन्। संंस्कृतको मूल पाठ पारायणमा रमाउन थालेका छन्। ‘यहाँ भागवत कथाको मूल मर्म सिकाइन्छ’, गुरुकुलका प्रधानाध्यापक खिमनाथ चालिसेले भने, ‘यिनै बालिका भोलि भागवतको ज्ञाता बन्नेछन्।’ पाठ्यक्रमबाहेक यहाँ दैनिक एक घण्टा भागवतको कक्षा हुन्छ। २०३० सालमा दरबारले वेद विद्या श्रम सञ्चालन गथ्र्यो। २०६२÷६३ को परिवर्तित व्यवस्थापछि सरकारले गुरुकुल शिक्षासम्बन्धी निर्देशीका तयार गरेको थियो। सोहीअनुसार गुरुकुलमा पढाइ हुन्छ।

२०५३ सालमा व्यक्तिगत सम्पत्तिबाट भगवती उपाध्यायले संरचना तयार पारेकी हुन्। उनी गुरुकुलको अध्यक्ष हुन्। अहिले विभिन्न दाताको सहयोगबाट गुरुकुल सञ्चालन हुँदै आएको छ। अहिले कक्षा ६ र ७ मा पढाइ हुन्छ। बर्सेनि कक्षा बढाउँदै १२ सम्म पुर्‍याउने लक्ष्य रहेको विद्यालयले जनाएको छ।

बालिकाको यसप्रति आकर्षण बढेको छ। व्यवस्थापन गर्न कठिन हुने भएकोले आउने सबैलाई राख्न नसकिएको गुरुकुलकी सहसचिव ममता शर्मा न्यौपानेले बताइन्। ‘एउटा विद्यार्थी संस्कारी भए त्यसबाट सभ्य समाजको निर्माण हुन्छ’, उनले भनिन्।

गुरुकुललाई समावेशी बनाइएको छ। बाहुन, क्षेत्री, गुरुङ, मगर जातिका बालिका पनि रहेका छन्। उनीहरूले प्रार्थना, संस्कृतमा स्त्रोत्र र श्लोकहरू पढ्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.