अदुवाको ट्रेड मार्क लिन पहल

अदुवाको ट्रेड मार्क लिन पहल

इलाम : नेपाल एकीकृत व्यापार रणनीति १० ले १२ निर्यातजन्य वस्तुमा समावेश गरेको अदुवाको सामूहिक व्यापार चिह्न निर्माणका लागि पहल सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा अदुवा उत्पादक र व्यपारीको छाता संस्था नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले चिह्नको स्वरूप र प्रक्रियाबारे किसान, व्यापारी र सरोकारवालासँग परामर्श सुरु गरेको हो।

अदुवा उत्पादन हुने सबै जिल्लाका सरोकारवालाको सुझावपछि मन्त्रालयमा सामूहिक व्यापार चिह्नका लागि प्रतिवेदन पेस गर्ने संघका महासचिव हेमन्त बोहोराले जानकारी दिए। नेपालका चार लाख किसानले उत्पादन गरेको अदुवा नेपालको लोगोमा विदेश निर्यात हुँदैन। महासचिव बोहोराका अनुसार भारतबाहेक बंगलादेश, जापानलगायत देशमा पुग्ने अदुवा भारतको ट्रेड मार्कमा अन्य देशमा पुग्ने गरेको छ। उनले भने, ‘नेपालको अदुवामा गुणस्तर छ, तर लोगो छैन त्यसैले हाम्रो भनेर बेच्न सकिएको छैन।’

व्यापार चिह्न निर्माणमा सहयोग गरिरहेका विज्ञ युवराज सुवेदीले चिह्न निर्माण भएपछि त्यसले नयाँ बजार खोज्नसमेत सहयोग पुग्ने बताए। उनका अनुसार सामूहिक चिह्नले वस्तुको मूल्यमा समेत बार्गेनिङ पावर वृद्धि गर्छ। महासचिव बोहोराले चार वर्षको प्रयासपछि मन्त्रालयले चासो दिएको बताए। यसअघि चिया, पश्मिना, हर्बललगायत सामूहिक लोगो दर्ता भएको विज्ञ पौड्यालले जानकारी दिए।

संघका कार्यवाहक अध्यक्ष टोम राजबंशीले तेस्रो मुलुकमा बजार खोजीका लागि समेत सामूहिक चिह्नले सहयोग गर्ने भएकाले बनाउन पहल सुरु गरेको बताए। पछिल्लो समय नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको निर्यात सहज भएको छ भने देशभरका अदुवा कृषकले अघिल्लो वर्षभन्दा राम्रो मूल्य पाएको राजबंशीले जानकारी दिए।

संघका महासचिव बोहोराले भारतबाहेक जापान, बंगलादेश, अमेरिकालगायत देशबाट समेत नेपालको अदुवा खरिदका लागि इच्छा देखाएको बताए। इलाम पाँचथरलगायत जिल्लाबाट अधिकांश अदुवा झापाको धुलाबारी हुँदै भारत निकासी हुने गरेको छ। यसअघि भारतको नक्सलबाढीमा मात्रै अदुवाको धुने पखाल्ने काम हुने गरेको थियो। भारतले माटोरहित अदुवामात्र निर्यात गर्न दिने भएपछि धुलाबारीमा अदुवा धुने काम सुरु भएको हो। इलामका १२ हजार ९३२ परिवार किसानले अदुवा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

इलाम, पाँचथर र झापामा अदुवाको उत्पादन बढ्दो रूपमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ। इलाममा ३२३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। त्यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ। पाँचथरमा २१ हजार १ सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ। झापामा ३४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन ४ हजार ५८३ टन छ।

नेपालका २६ जिल्लामा अदुवा खेती हँुदै आएको छ। चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ। नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारत निकासी हुने गरेको छ। सामूहिक व्यापार चिह्नले नेपालमा उत्पादन हुने अदुवाको बजारका लागि सहयोग पुग्ने संघका पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.