सवारी पार्किङ गर्ने ठाउँ छैन महानगरमा
काठमाडौं : काठमाडौं महानगरपालिकामा सवारी पार्किङको समस्या टड्कारो बनेको छ। महानगरभित्र व्यवस्थित सवारी पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालक समस्यामा पर्ने गरेका छन्। सरकारी कार्यालयमै पार्किङ गर्ने ठाउँ अभाव छ।
काठमाडौं जिल्ला अदालत, विशेष अदालतलगायत कार्यालयमा सेवाग्राहीलाई पार्किङ गर्ने ठाउँ छैन। राधानीकै पुरानो र ठूलो वीर अस्पतालको समेत आफ्नो पार्किङ छैन। पार्किङ नहुँदा अस्पतालमा आउने सेवाग्राहीलाई पनि सवारी राख्ने ठाउँ खोज्दै समय बित्ने गर्छ।
सेवाग्राहीले अहिले सडकपेटीमै सवारी राख्ने गरेका छन्। जसले पैदलयात्रुलाई हिँड्नसमेत असहज हुन्छ। माइतीघरबाट तीनकुनेसम्म हिँड्ने यात्रुलाई सडकपेटीमा राखेको सवारीले गर्दा मुख्य सडकबाटै हिँड्नुपर्ने बाध्यता छ। दृष्टिविहीनका लागि सडकपेटीमा राखिएका टायल पनि सवारीको पार्किङले पुरिँदा अपांगता भएका व्यक्तिलाई समस्या भएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। कतिपय पार्क गर्न दिएका ठाउँमा सडकको दुवै छेउमा सवारी राखेर आवत–जावतमा समस्या हुने गरेको छ।
‘व्यवस्थित पार्किङ गर्ने ठाउँ सबै स्थानमा छैन,’ मोटरसाइकल चालक विवेक कुँवरले भने, ‘भएका ठाउँ सबै उपुक्त छैनन्। काम डिल्लीबजारमा हुन्छ। पार्किङ गर्न बागबजार जानुपर्छ। सडकमै पार्किङ गर्यो। प्रहरीले उठाइसकेको हुन्छ।’ महानगरले सवारी पार्किङ व्यवस्थापन गर्न नसक्दा समस्या भएको उनी बताउँछन्। पहिले पार्किङ व्यवस्थित गरेर जरिवाना गरे राम्रो हुने उनको भनाइ छ।
ट्याक्सी पार्किङको पनि समस्या उस्तै छ। सडकपेटीमा कुनै–कुनै ठाउँमा ट्याक्सी लेखेर पार्क गर्ने ठाउँ छुट्याइएको छ। तर, दुई ÷तीन वटाभन्दा बढी ट्याक्सी राख्न पाइँदैन। उपत्यकामा चल्ने ट्याक्सीलाई पार्किङ नहुँदा सडकमा चक्कर मात्रै लगाइरहनुपर्ने बाध्यता रहेको ट्याक्सी चालक स्याङ्जाका विष्णु गुरुङले बताए। ‘ट्याक्सीका लागि व्यवस्थित पार्किङ छैन,’ उनले भने, ‘भएको ठाउँमा दुई वटाभन्दा बढी राख्न पाइँदैन। राख्यो ट्राफिक प्रहरीले सिटी फुक्छ। अनि सडकमै चक्कर लगाइरहनुपर्छ।’
महानगरले जथाभावी पार्किङ गरेको सवारीलाई दैनिकजसो कारबाही गरिरहेको हुन्छ। गत वर्ष मात्र १२ हजार तीन सय ८० मोटरसाइकललाई कारबाही गरेको थियो। जरिवानाबापत एक करोड २३ लाख ८० हजार रुपयाँ उठाएको थियो। यस आर्थिक वर्षको मंसिरसम्म करिब ८ लाख उठाइसकेको छ। तर, पार्किङ गर्ने ठाउँको व्यवस्थापन नगरी जरिवाना मात्र गर्दा सवारी चालक मार्कामा पर्ने गरेका छन्।
महानगरले गत आर्थिक वर्षबाट केही स्थानमा शुल्कसहित पार्किङ गर्ने योजना बनायो। तर, त्यो सबै ठाउँमा भने कायम भएन। न्युरोडमा केही स्थानमा स्मार्ट पार्किङ सुरु गर्यो, त्यो पनि टेन्डर आह्वान नगरी दिएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरलाई पत्र काटेको थियो। यस वर्ष पार्किङलाई व्यवस्थित गर्ने भनेर बागबजार, वसन्तपुरलगायत ठाउँमा सडकका केही भाग प्रयोग गरेर पार्किङ स्थान बनाउन टेन्डर प्रक्रिया सुरु हुन लागेको महानगरका सहरी सुव्यवस्था विभागका निर्देशक हरिबहादुर कुँवले जानकारी दिए। तर, पार्किङस्थलमा शुल्कसहित व्यवस्थापन गर्ने बनाएको योजना रोकिएको कार्यालयका एक कर्मचारीले बताए। ‘पार्किङलाई व्यवस्थित गर्ने योजना बनेको थियो,’ उनले भने, ‘तर यसमा माथिल्लो तहबाटै कार्यान्वयनमा ल्याउन पहल भएन। यसको योजना रोकिएको छ।’