योगदान पुर्‍याएका निजी विद्यालयलाई सरकारीकरण गर्नुपर्छ

योगदान पुर्‍याएका निजी विद्यालयलाई सरकारीकरण गर्नुपर्छ

भक्तपुरको दधिकोटस्थित मोडर्न बोर्डिङ हाइयर सेकेन्डरी स्कुलका प्रधानाध्यापक हुन्, अनिल कसपाल। उनले शिक्षा क्षेत्रमा काम गर्छु भनेर कहिल्यै सोचेका थिएनन्। उनको सानैदेखिको सपना सेना वा प्रहरीमा गएर देशको सेवा गर्ने थियो। तर, उनी आज शिक्षा क्षेत्रमा लागेर पनि देशकै सेवा गरिरहेको अनुभूत गर्छन्। भन्छन्, ‘मेरो सपना त आर्मी वा प्रहरी भएर देशको सेवा गर्ने थियो। तर, बुवाको प्रेरणाले आज यो क्षेत्रमा आएको हुँ। यो त झन् असल मान्छे उत्पादन गर्ने पेसा पो रहेछ। यो पेसामा लागेर निकै खुसी छु।’

बाल्यकाल र शिक्षा

२०२९ सालमा भक्तपुरको कटुन्जेमा जन्मेका कसपालको बाल्यकाल त्यही ठाउँमा बित्यो। उनी ५ वर्षको हुँदा बुवाले नजिकैको शान्ति निकेतन रेसिडेन्सियल हाइस्कुलमा भर्ना गरिदिएपछि उनको औपचारिक शिक्षा प्रारम्भ भयो। त्यहाँ उनले कक्षा ५ सम्म अध्ययन गरे। उनको सानैदेखि पढ्ने र खेल्ने बानी थियो। खासगरी उनी फुटबल खेल्न रुचाउँथे। स्कुल पढ्दा उनलाई फुटबल खेलाडी नै बन्छु जस्तो लाग्थ्यो। पढाइमा ठिकै थिए उनी। त्यसपछि उनको बुवाले कक्षा ६ मा विद्यार्थी निकेतन नामक विद्यालयमा भर्ना गरिदिए। त्यहाँ उनको पढाइ बिग्रियो। पढाइ बिगे्रको कुरा बुवाले थाहा पाएपछि उनलाई फेरि पहिलेकै विद्यालयमा भर्ना गरिदिए।

२०४४ सालमा त्यहीँबाट उनले एसएलसी पास गरे। एसएलसीपछि आफ्नो टोलछिमेकमा सेना र प्रहरीहरूलाई देखेर उनमा सेना बन्ने इच्छा जाग्यो। यही सोचेर उनले आफ्नो पढाइलाई निरन्तरता दिए। उनले २०४७ सालमा नेपाल कमर्स क्याम्पसबाट आईकम पास गरे।

भक्तपुरस्थित दधिकोटको चित्रपुरमा नेवार बस्ती थियो। त्यहाँका बासिन्दा शिक्षामा पछाडि थिए। चिउरा कुट्ने, खेतीकिसानी गर्ने जस्ता काम मात्र गर्थे। त्यसमाथि उनीहरूलाई नेपाली भाषा बोल्नमा झन् समस्या थियो। त्यही बेलामा उनको बुवाले ‘जहाँ अँध्यारो छ त्यहाँ बत्ती बाल्नुपर्छ’ भनेर विद्यालय खोल्ने कुरा सुनाए र कक्षा ५ सम्मको विद्यालय खोले। प्रिन्सिपल भए उनकै बुवा, बाबुकाजी कसपाल। त्यतिबेला उनी २०५० सालमा स्नातकमा दोस्रो वर्षमा पढ्दै थिए। सुरक्षा सेवा लाग्ने सोच बनाएका कसपाल एकाएक शिक्षक बन्नुपर्ने अवस्था आयो। त्यसपछि उनी बुवाले खोलेको मोडर्न बोर्डिङ स्कुलमा पढाउन थाले। २०५३ सालमा स्नातकोत्तर सके। शिक्षक बन्नका लागि शिक्षा पढ्नुपर्छ भनेर उनले २०५६ सालमा बीएड पनि गरे। उनी शिक्षण पेसामा लागे। शिक्षा क्षेत्रमा राम्रो गर्न सके परिवार, समाज र राष्ट्रलाई पनि राम्रो हुन्छ भन्ने बुबाको भनाइअनुसार नै उनी पनि लागे। उनका बुवा नेपाल बैंक लिमिटेडमा काम गर्थे। बुवा रिटायर भइसकेपछि उनले विद्यालय खोलेका कसपालले बनाए।

प्रधानाध्यापकको यात्रा

२०५३ सालमा व्यवस्थापन संकायबाट स्नातकोत्तर गरिसकेपछि उनको बुवाले ‘अब तिम्रो योग्यता पनि पुग्यो, सक्षम पनि भयौ। अब तिमीले यो विद्यालयको जिम्मेवारी लिनुपर्छ’ भने। त्यसपछि २०५५ सालमा उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। यहीँबाट उनको प्रधानाध्यापकको यात्रा प्रारम्भ भयो। उनी भन्छन्, ‘बुवा विद्यालयको डाइरेक्टर तथा संस्थापक अध्यक्ष भएर बस्नुभयो र मलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुभयो। म २०५५ सालदेखि यो विद्यालयको प्रधानाध्यापक भएँ र आजसम्म पनि निरन्तर यसैमा छु।’

कसपालको परिवार संयुक्त परिवार हो। कसपालको घरमा १९ जना सदस्य छन्। अचम्मको कुरा के भने यीमध्ये सबै त्यही विद्यालयसँग सम्बन्धित छन्। कोही पढ्छन्, कोही पढाउने र अन्य काम गर्छन्। उनको बुवाले भने विद्यालयको रेखदेख गर्ने गरेका छन्। कसपाल भन्छन्, ‘अहिलेको समयमा पनि परिवार मिल्यो भने राम्रो काम गर्न सकिन्छ र टिमवर्क भनेको यस्तो हुनुपर्छ भन्ने देखाउँन हाम्रो परिवार नेपालमै एउटा उदाहरण हो जस्तो लाग्छ, मलाई।’

कसपाल प्रधानाध्यापकको पद निकै चुनौतीपूर्ण रहेको बताउँछन्। प्रधानाध्यापक भइसकेपछि प्रशासनिक कार्यदेखि भौतिक पूर्वाधारको व्यवस्थापन गर्न निकै गाह्रो हुने उनको भनुभव छ। ‘प्रिन्सिपल भइसकेपछि आफ्नो विद्यालयमा के कस्तो गतिविधि भइरहेको छ ?  वर्षभरिमा कुन कक्षाका विद्यार्थीलाई के–कस्तो तरिकाले शिक्षण गतिविधि गराउने, विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने चिन्ता हुन्छ। यसै अनुरूप मैले प्रधानाध्यापकको जिम्मेवारी पाएपछि प्रत्येक वर्ष एउटा कक्षा बढाउँदै लगेँ। खासमा भौतिक पूर्वाधारको व्यवस्थापन गर्नु प्रधानाध्यापकको मुख्य चुनौती हुने रहेछ’, उनले भने। शिक्षकले आफ्नो विषय, विद्यार्थी, कक्षा र त्योसँग सम्बन्धित पाठ्यपुस्तक, पाठ्यक्रम र अभिभावकसँग सबै कुरा मिलाउनु पनि उनका लागि चुनौति नै बन्यो। अहिले शिक्षा क्षेत्रमा विकास भइरहेका नयाँ प्रविधि र पद्धतिमा पनि अपडेट हुनु उनी जरुरी देख्छन्।

राज्यको भेदभाव

कसपालको विचारमा राज्यले शिक्षालाई गुणस्तरीय बनाउने तर्फ त्यति चासो दिएको छैन। निजी विद्यालयले शिक्षामा निकै योगदान पुर्‍याएको छ। तर, यसप्रति राज्यले चासो नदिएर भेदभाव गर्नु शिक्षाको क्षेत्रका लागि ठूलो समस्या रहेको उनको बुझाइ छ। ‘राज्यको शिक्षा नीति तथा प्राइभेट स्कुललाई हेर्ने दृष्टिकोण फरक छ। यसमा समानता ल्याउनुपर्छ। शिक्षा क्षेत्रको विकास र दक्ष विद्यार्थी उत्पादन गर्ने खालका जुन विद्यालयहरू हुन्छन्, त्यस्ता विद्यालयलाई कमसेकम सरकारले हेर्नुपर्छ। नेपालका प्राइभेट स्कुलले धेरै नै दुःख गरेर शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको छ’, उनी भन्छन्, ‘राम्रा र निकै लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विद्यालयलाई सरकारीकरण गर्ने खालको भिजन ल्याउनुपर्छ।’ शिक्षा क्षेत्रमा देखिएका समस्या हटाउन उनका सुझाव यस्ता छन्। पहिलो, सरकारले बनाउने शिक्षा नीतिमा प्राइभेट विद्यालयहरूका लागि पनि के हुने, कस्तो हुने कुरा राखिदिनुपर्छ। दोस्रो, प्राइभेट स्कुलको रिजल्ट नहुने हो भने हाम्रो नेपालका समष्टी रिजल्ट के हुन्छ त ? त्यो कुरालाई मनन गरेर हामीले गरेका कुरालाई सकारात्मक रूपमा हेर्नुपर्छ र तेस्रो, सरकारले सरकारी विद्यालयका लागि बजेट निकै छुटयाउँछ तर रिजल्ट हेर्दा नाजुक अवस्थामा देखिन्छ। यस्तो अवस्थालाई नियालेर के कारणले भएको हो भन्ने पत्ता लगाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.