स्थानीयले आफैं भत्काए छाउगोठ
सुर्खेत : प्रशासनले थालेको छाउगोठ भत्काउने अभियानमा स्थानीय आफैं जुटेका छन्। चार दिनको अवधिमा सुर्खेतमा चारसय छाउगोठ भत्काइएको छ। बिहिबारदेखि जिल्लाको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाबाट एकैसाथ छाउगोठ भत्काउने अभियान थालिएको हो। आइतबारसम्म दुई स्थानीय तहमामात्रै चारसय छाउगोठ भत्काइएको छ।
महिनावारी भएका बेला छाउगोठमै बसेका कारण महिलाको ज्यान गएपछि छाउगोठ भत्काउने अभियान सुरु भएको हो। सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकामा छाउपडी प्रथा कायमै छ। यी तीनवटै स्थानीय तहमा जिल्ला प्रशासनका कर्मचारीको नेतृत्वमा प्रहरी र जनप्रतिनिधिसहित स्थानीयको सहभागीतामा छाउगोठ भत्काउन थालेको हो।
‘चौकुने र पञ्चपुरीमा रहेका सबै छाउगोठ भत्काइसकेपछि मात्रै बराहताल हुँदै अन्य स्थानीय तहमा अभियान थालिनेछ,’ प्रजिअ अधिकारीले भने, ‘गाउँ जाँदा अवरोध हुन्छ कि भन्ने थियो, तर यसपटक स्थानीय आफैं छाउगोठ भत्काउन उत्साहित देखिए।’ छाउगोठ भत्काउन सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएपछि अभियानले तिव्रता पाएको हो।
छाउगोठ भत्काउने अभियानमा सुरक्षाकर्मीसहितको तीनवटा टोली गाउँमा खटेका छन्। यो अभियानलाई स्थानीय तहका जनप्रतिनिधि, महिला समूह, युवाले पनि साथ दिएका छन्। छाउगोठ भत्काउने क्रममा कतिपय छाउगोठमै बसेका बालिका तथा महिलाको अवस्था दयनीय रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको भनाइ छ।
महिनावारी भएको बेला कम्तिमा तीन दिनसम्म छाउगोठमै बस्ने, भारी काम गर्ने, पोषिलोे खानेकुरा नखाने गरेका कारण यहाँका महिलाको शारीरिक अवस्था कमजोर बन्दै गएको छ।
अझै १४ सय छाउगोठ बाँकी
तथ्यांक अनुसार सुर्खेतमा अझै १४ सय छाउगोठ भत्काउन बाँकी छन्। अति छाउ मान्ने प्रतिनिधि घरधुरी संख्याको आधारमा सुर्खेतमा १८ सय छाउगोठ थिए। प्रशासनको निर्देशन अनुसार जिल्लाका हरेक स्थानीय तहले केहिदिनभित्रै आ–आफ्नो तहमा रहेका सबै छाउगोठ भत्काउने छन्। प्रशासनले छाउगोठ भत्काउन थालेपछि स्थानीयले पनि घरमा रहेका छाउगोठ आफैं भत्काउन थालेको अभियानका नेतृत्वकर्ता तथा प्रशासनका कर्मचारी नवराज शर्माले बताए।
प्रशासनका अनुसार महिनावारी भएका महिला देविदेवता लाग्ने डरले घरभित्र नबस्ने भएकाले यस अभियानको नेतृत्व नै धामी÷झाँक्री र धार्मिक अगुवालाई गर्न लगाउने तयारी गरिएको छ। धार्मिक मान्यताको त्रासले छाउगोठमा बस्न बाध्य भएकाले यो भ्रम चिर्न धामी÷झाँक्रीलाई नै अभियानमा सहभागी गराइने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।
‘अभियानको पहिलो चरण धामी र झाँक्रीलाई गलत प्रचार नगर्न सचेत गराएका छौं, अब स्थानीय तहले धामी र झाँक्रीलाइ तालिम दिएर टोलटोलमा खटाउने छन्,’ उनले भने, ‘त्यसपछि विस्तारै समाजमा न त छाउगोठ रहनेछन्, न मनको छाउपडी प्रथा रहनेछ।’