भत्काइए १५ छाउगोठ
कालिकोट : जिल्लामा १५ वटा छाउगोठ भत्काइएका छन्। अछाम जिल्लासँग सिमाना जोडिएको नरहरिनाथ गाउँपालिकामा रहेका विभिन्न ठाउँका १५ वटा छाउगोठ भत्काइएका हुन्। शनिबारसम्म १५ वटा छाउगोठ पूर्ण रूपमा भत्काइएको कालिकोटमा डीएसपी श्यामबाबु ओलियाले बताए।
जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउन उर्दी जारी गरेको थियो। नरहरिनाथ गाउँपालिकाको लालु, कुमालगाउँ र रुप्सामा रहेका छाउगोठ स्थानीयको सूचनाका आधारमा भत्काइएका हुन्। प्रहरीले जिल्लाभर छाउगोठ भत्काउने अभियान थालेको छ। तर, जिल्लाका कतिपय गाउँबस्तीमा महिनावारी हँुदा छाउगोठमा नभई गाई, भैंसीसँगै गोठमा बस्ने गर्छन्।
यस विषयमा प्रहरीले सचेतना फैलाएको छ। प्रहरीले सुरु गरेको सर्च अभियानका क्रममा छाउगोठमा बसेको भेटिए कानुनी कारबाही हुनेछ। महिनावारी भएका बेला छाउगोठमा राख्ने व्यक्तिको घरमा वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जा, सिफारिसलगायत सरकारी सेवा रोक्का गरिने जिल्लामा निर्णय भएको छ। दुर्गमका प्रहरी युनिटलाई समेत आफ्नो सेवा क्षेत्रभित्र छाउगोठ भए÷नभएकोबारे सूचना संकलन गर्न निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले गत सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न आग्रह गरेको थियो। जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने चलन छ। मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानुनी व्यवस्था सम्बन्धमा आमनागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !