दशकौंको सास्ती अन्त्य, हुकाम–मैकोट बेलिब्रिज निर्माण
रुकुमपूर्व : रुकुमपूर्वको दुर्गम मानिने हुकाम – मैकोटमा वर्षौँदेखि नागरिकले भोग्दै आएको सास्ती अन्ततः अन्त्य भएको छ। बर्खायाम लागेसँगै उर्लिने मैकोट खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो। संघ र प्रदेश सरकारबाट पटक–पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तरगंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर बेलिब्रिज निर्माण गरेको छ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट र –५ हुकामलाई जोड्ने गरि निर्माण गरिएको बेलीब्रिजको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले उद्घाटन गरेका हुन्। करिब एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन्।
पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्षाको समयमा उर्लिंदा स्थानीय महिनौंसम्म आवतजावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या हुने गरेको थियो।
स्थानीय पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्या समाधान भएको बताए। उनले बर्खायाममा खोला तर्न नसक्दा गाउँ नै बाहिरी संसारबाट विच्छेद हुने अवस्था रहने गरेको उल्लेख गर्दै अब आवतजावत सहज हुने विश्वास व्यक्त गरे।
मैकोट क्षेत्र उत्तर–दक्षिण जोड्ने रणनीतिक महŒवको सहिदमार्गअन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबास–दाङ–होलेरी–थवाङ हुँदै रुकुमपूर्वका काक्री, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सडकखण्डका धेरै भाग अझै अलपत्र छन्।
सवारीचालक भागी बिकले पुल निर्माणसँगै यात्राको जोखिम घट्ने र नियमित यातायात सञ्चालनमा सहज हुने बताए। वर्षायाममा खोला बढ्दा यात्रु तथा सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको उहाँको भनाइ छ।
समाजसेवी चन्द्र रसाइलीले पेल्मादेखि सिस्नेसम्म सडक स्तरोन्नति र पुल निर्माण सम्पन्न भए जिल्लावासीले झेल्दै आएको प्रमुख समस्या समाधान हुने बताए। उनले संघीय सरकारले हिमाली भेगको पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। वडा नम्बर १३ का वडाध्यक्ष शिविसन शेर्पालीले पक्की पुल निर्माणका लागि संघ र प्रदेश सरकारसँग पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले विकल्पका रूपमा बेलिब्रिज निर्माण गर्नुपरेको बताए।
प्रमुख प्रशासकीय अधिकृत धु्रव विकले विगतमा वडागत रूपमा छरिएर खर्च हुने बजेटलाई एकीकृत गर्दै जनताको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्ने नीतिअनुसार पुल निर्माण गरिएको जानकारी दिएका छन्।
गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले नागरिकको पीडा अन्त्य गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताए। उनले पक्की पुलका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय सरकार आफैं अग्रसर हुनुपरेको उल्लेख गरे। संघ र प्रदेश सरकारको प्रतीक्षा गरेर मात्रै विकास सम्भव नहुने भन्दै उनले आवश्यकताअनुसार स्थानीय स्रोतबाटै विकास निर्माणलाई निरन्तरता दिने बताए।
गाउँपालिकाले अन्य दुई स्थानमा निर्माण भैरहेका बेलीब्रिजसमेत उद्घाटन गर्ने तयारी गरेको जनाएको छ। पुल सञ्चालनमा आएसँगै दुर्गम बस्तीका नागरिकको आवतजावत, व्यापार, कृषि उत्पादन ढुवानी तथा सेवा प्रवाह थप सहज हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस !