दैलेख दुर्घटना : न गाडी भेटियो, न त यात्रु नै !

दैलेख दुर्घटना : न गाडी भेटियो, न त यात्रु नै !

दैलेख : बिहीबार बिहान साढे ११ बजे कर्णाली राजमार्गमा एक यात्रुवाहक फोर्स गाडी दुर्घटनामा पर्‍यो। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा परेको हो।

सडकबाट करिब ५ सय मिटर तल कर्णाली नदीमा खसेको सो गाडी ३ दिन बितिसक्दासमेत भेटिएको छैन भने यात्रुहरू पनि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी   श्रवणकुमार विकका अनुसार शनिबार साँझसम्म कर्णाली नदीमा खसेको गाडी र यात्रुहरू फेला परेका छैनन्।
गाडीमा सवार ५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको पहिचान सार्वजनिक गरेको हो।

सनाखत भएकामध्ये चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन्। त्यस्तै सिर्जना खड्का कालीकोटको रास्कोट नगरपालिका–२ खड्कागाउँकी हुन् भने मेखे तिरुवा र जोखे तिरुवा कालीकोटकै पचालझरना गाउँपालिका–१ का बासिन्दा हुन्। दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरेपछि पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ। 

गाडीमा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान जारी छ। सुरक्षा निकायले कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारेको छ।

 कर्णालीको तीव्र बहाव, धमिलो पानी र भिरालो भूगोलका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।

नदीमा खसेका यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय, कुरिनटार चितवनबाट सहायक प्रहरी निरीक्षक प्रेम तामाङको कमान्डमा ५ जना गोताखोरसहितको टोली खटिएको छ। खोजबिन टोलीले ड्रोन क्यामेरा, डुंगा, चुम्बक, सोनार क्यामेरा र बोरस्कोप क्यामेराको प्रयोग गरी यात्रु र गाडीको खोजी गरिरहेको छ। शनिबार साँझ अँध्यारो भएपछि खोजी कार्य स्थगित गरिएको छ। आइतबार बिहानैदेखि पुनः खोजी कार्य थालिने डीएसपी विकले जानकारी दिए।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बेपत्ता भएको गाडी तथा यात्रुको खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक परे हेलिकप्टरसमेत परिचालन गर्न निर्देशन दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.