दैलेख : दैलेख सदरमुकाम नजिकै सुन्दर गाउँ छ। यो गाउँ भुर्ती नामले परिचित छ। नारायण नगरपालिका–६ मा पर्ने यो गाउँ भुर्तेल थरको आदिभूमि हो। भुर्ती गाउँमा छुट्टाछुट्टै दुई स्थानमा साना तथा ठूला २७ देवल छन्। अहिले एक ठाउँमा २२ र अर्को स्थानमा पाँच देवल देख्न सकिन्छ। शिखर शैलीमा निर्माण भएका देवल ६ देखि १५ फिटसम्म अग्ला छन्। यी देवल पाण्डवले निर्माण गरेको हुन सक्ने जनविश्वास छ।
शिखर शैलीका प्राचीन देवलहरू शताब्दीयौंदेखि इतिहासका साक्षी बनेर उभिएका छन्। समयसँगै कतिपय संरचना जीर्ण बनेका छन्। संरक्षणको अभावमा केही भग्नावशेषमा परिणत भएका छन्। देवलको ऐतिहासिक महत्त्व भने कहिल्यै ओझेलमा परेको छैन। सन् २००८ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस भयो। तर, पञ्चदेवल क्षेत्र १८ वर्षसम्म कागजी प्रक्रियामै सीमित बन्यो। अहिले पुरातत्व विभागले देवललाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रारम्भिक प्रक्रियासँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यको थालनी भएको छ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगसहितको टोलीले पञ्चदेवल क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीले स्थानीय सरकारसहितसँग छलफलसमेत गरेको छ। महानिर्देशक प्रधानांगका अनुसार दैलेखको भूर्तीका देवलहरू नेपालका अत्यन्त महत्त्वपूर्ण सम्पदामध्ये एक हुन्। ‘एकै स्थानमा फरक–फरक शैली र संरचनाका देवलहरू हजारौं वर्षदेखि सुरक्षित रहनु आफैंमा अद्वितीय विषय हो,’ उनले भनिन्। उनका अनुसार अब यस क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विस्तृत अध्ययन, नक्सांकन, संरक्षण तथा व्यवस्थापनका काम निरन्तर गरिने महानिर्देशक प्रधानांग बताउँछिन्।
इतिहासकार र सम्पदा अनुसन्धानकर्ताहरूका अनुसार ११औंदेखि १४औं शताब्दीबीच निर्माण गरिएका यी देवलहरू खसकालीन वास्तुकलाका उत्कृष्ट नमुना मानिन्छन्। पूर्ण रूपमा ढुंगाले निर्माण गरिएका यी संरचनाले तत्कालीन समाजको कलात्मक दक्षता र सांस्कृतिक समृद्धिको परिचय दिन्छन्। प्राध्यापक नरेन्द्र आचार्यका अनुसार स्थानीय जनविश्वासले यी देवलहरू पाण्डवकालीन सम्पदाका रूपमा व्याख्या गर्दै आएको छ। यद्यपि, ऐतिहासिक अध्ययनले तिनलाई खस राज्यकाल र सिंजा सभ्यतासँग जोडेर हेर्ने गरिएको छ। पञ्चदेवल अवलोकलमा नेपालका विभिन्न जिल्ला तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्।
एकै स्थानमा फरक–फरक शैली र संरचनाका देवलहरू हजारौं वर्षदेखि सुरक्षित रहनु आफैंमा अद्वितीय विषय हो। यस क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ।
सौभाग्य प्रधानांग,महानिर्देशक, पुरातत्व विभाग
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले पञ्चदेवल दैलेखको पहिचानसँग जोडिएको सम्पदा भएकाले संरक्षणका लागि नगरपालिका तयार रहेको बताए। उनका अनुसार स्थानीय सरकारले सम्पदा क्षेत्र व्यवस्थापनका लागि जग्गा खरिद गर्ने लगायतका पहल गरिरहेको छ। ‘संरक्षण र पुनर्निर्माणको मुख्य जिम्मेवारी संघीय सरकारको भए पनि आलोचना स्थानीय सरकारले खेप्नुपरेको छ,’ उनले भने, ‘अब पुरातत्व विभागले थालेको अभियानमा स्थानीय सरकारको पूर्ण सहयोग रहनेछ।’ वडा नम्बर ६ का अध्यक्ष जनक न्यौपानेले स्थानीय समुदायलाई सम्पदा संरक्षणबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वडाको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले पञ्चदेवललाई विशेष महत्त्वका साथ संरक्षण प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार अब दैलेखका अन्य सम्पदाको संरक्षणका लागि पनि चरणबद्ध कार्यक्रम सञ्चालन गरिनेछ। दैलेखका जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सम्पदा संरक्षण केवल सरकारको जिम्मेवारी नभई नागरिकको साझा दायित्व भएको बताउँछन्। दैलेखलाई सम्पदा संरक्षित क्षेत्रका रूपमा विकास गर्न स्थानीय तहले आवश्यक नीतिगत व्यवस्था तयार गर्नुपर्ने उनको भनाइ छ।
सम्पदा क्षेत्रका अनुसन्धानकर्ता विष्णु शर्माले संघीय सरकारले दैलेख र समग्र कर्णालीका सम्पदा, इतिहास र पर्यटन सम्भावनामा पर्याप्त ध्यान नदिएको बताउँछन्। उनका अनुसार कर्णाली ७८ थरको उद्गमस्थलका रूपमा परिचित छ भने दैलेखमा मात्रै ३२ थरको ऐतिहासिक सम्बन्ध रहेको मानिन्छ। ‘जिल्लाभर सय बढी देवल तथा एक हजारभन्दा बढी मूर्त र अमूर्त सम्पदा छन्, तीनको संरक्षण, अध्ययन र प्रचारप्रसारमा पर्याप्त लगानी हुन सकेको छैन,’ उनले भने। दैलेखलाई देवलहरूको स्थल भनेरसमेत चिनिन्छ।
स्थानीय बासिन्दा र जानकारहरूबाट संकलन गरिएको तथ्यांकअनुसार दैलेख जिल्लाभर एक सय चारवटा देवल छन्। इलाका प्रशासन कार्यालय दुल्लूले वेबसाइटमा राखेको छ, दैलेखमा रहेका सम्पदाहरूको सूचीमा जिल्लाभर देवलको संख्या १ सय १० वटा रहेको उल्लेख छ। दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं. १ मा ७४ र क्षेत्र नं. २ मा ३६ देवल रहेको उक्त सूचीमा छ। विगतमा योभन्दा पनि बढी देवल थिए।
प्रतिक्रिया दिनुहोस !