रकम हिनामिनाको आरोपमा सौर्य सहकारीका अध्यक्ष पक्राउ
विराटनगर : विराटनगरको नेता चोकस्थित सौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा अध्यक्ष पवन झा पक्राउ परेका छन्।
सहकारीको रकम हिनामिना, सर्वसाधारणलाई ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा फरार रहेका उनलाई मंगलबार मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो।
सप्तरी घर भई विराटनगर महानगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय झालाई जिल्ला प्रशासन कार्यालयमा काम विशेषले पुगेका बेला पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार झाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो। लामो समयदेखि फरार रहेका उनी सहकारीको रकम हिनामिना गरेको आरोपमा खोजी सूचीमा थिए।
डीएसपी मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट झाले सहकारीको रकम मात्रै नभई सहकारीबाहिरका सर्वसाधारणलाई समेत विभिन्न मितिमा ठगी गरेको देखिएको छ। उनीविरुद्ध सहकारी ठगी, बैंकिङ कसुर तथा अन्य आर्थिक अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
‘विभिन्न व्यक्तिबाट ठगी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सहकारीको रकम हिनामिना मात्रै नभएर सर्वसाधारणलाई पनि ठगी गरेको देखिएको छ। बैंकिङ कसुरसम्बन्धी जाहेरीसमेत परेको जानकारी आएको छ,’ डीएसपी मिश्रले भने। प्रहरीका अनुसार ठगी गरेको भन्दै झाविरुद्ध यसअघि नै जिल्ला प्रशासन कार्यालय मोरङमा पनि धेरै व्यक्तिले उजुरी दिएका थिए। थप अनुसन्धानपछि घटनाको अरू विवरण पत्ता लाग्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !