संसदीय दलको बैठक स्थगित, राजधानीबारे बहस जारी
हेटौंडा : स्थायी राजधानी र नामबारे छलफल गर्न ३ दिनदेखि जारी नेकपा प्रदेश ३ को संसदीय दलको बैठक प्रदेशसभा सदस्यहरूले बोल्ने क्रम सकिएपछि आइतबार साँझ स्थगन भएको छ।
हेटौंडामा २० पुसदेखि जारी बैठक २२ गते बिहान ११ बजेसम्मका लागि स्थगन भएको नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए। ‘प्रदेश राजधानीबारे मुख्यमन्त्री डोरमणि पौडेलसहित ६४ जना प्रदेशसभा सदस्यले आफ्नो धारणा व्यक्त गरेपछि बैठक स्थगन भएको छ’, उनले भने, ‘बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल भएको छ, हामी २२ गते ११ बजे पुनः बैठक बस्छौं।’
बैठक समापन गर्दै मुख्यमन्त्री पौडेलले पार्टी केन्द्रको भावनाअनुसार अगाडि बढ्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका थिए। बैठकमा स्थायी राजधानी र नामको विषयसँगै नेकपा केन्द्रीय सचिवालयले गरेको निर्देशन पार्टी विधानविपरीत भन्दै कतिपयले विरोध गरेका थिए।
विरोध गर्दै समर्थन
नेकपा केन्द्रीय सचिवालयले पार्टीको विधान र संविधानविपरीत निर्देशन दिएको भन्दै विरोध गरेका कतिपय प्रदेशसभा सदस्यले समर्थन गर्ने बताएका छन्। ‘प्रदेशको राजधानी र नामबारे एकमत भएरै जाने सबैको भनाइ छ’, नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक फुयाँलले भने, ‘कतिपय साथीले केन्द्रको निर्देशनको विरोध गरे पनि समर्थन गरेर जाने भन्नुभएको छ।’
आइतबार २४ जना नेकपाका प्रदेशसभा सदस्यले बैठकमा मन्तव्य व्यक्त गरेका थिए। ‘पार्टी नेताहरूले सबैको धारण सुन्नुभएको छ, हामीले राजधानीको विषय दूरगामी महŒव राख्ने विषय भएकाले सोचेर निर्णय लिन सुझाव दिएका छौं’, नेकपाका प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारीले भने।
बैठकमा सहभागी कतिपय प्रदेशसभा सदस्यहरूले स्थानबारे सहमति जनाए पनि नामको विषयमा असहमति जनाएको प्रदेशसभा सदस्य ओम घलानले बताए। ‘प्रदेशसभामा दर्ता भएको नाममध्येबाट प्रदेशको नाम राखिनुपर्छ भन्ने हाम्रो माग छ’, उनले भने, ‘यसबारे अन्य पार्टीका माननीसँग पनि कुरा भइरहेको छ, हामी बागमतीलाई नै स्वीकार गरेर जाने पक्षमा छैनौं।’
जित हुने विकल्पको खोजी
पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढ्दा पार्टी र सबै प्रदेशसभा सदस्यको जित हुने विकल्पको खोजी भइरहेको प्रदेशसभा सदस्य सीता अधिकारीले बताइन्। ‘हामीले निर्वाचन क्षेत्रमा फर्कंदा हेल्मेट लगाएर जाने अवस्था आउनु भएन, पार्टी, जनता र माननीयहरू सबैको जित हुने विधिको खोजी गर्नुपर्छ भनेका छौं’, उनले भनिन्।
प्रदेशसभा सदस्यहरूको भावनाअनुसार स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेका स्थानमध्येबाट प्रस्ताव दर्ता हुने सभामुख सानुकुमार श्रेष्ठले बताए। समितिले मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर र चितवन प्रदेश राजधानीका लागि उपयुक्त हुने सिफारिस गरेको छ। ‘समितिले सिफारिस गरेका स्थानमध्येबाट प्रदेश स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा प्रस्ताव दर्ता हुन्छ, दर्ता भएको स्थानमध्ये वर्णानुक्रमका आधारमा मतदान हुन्छ’, सभामुख श्रेष्ठले भने, ‘जसको पक्षमा दुई तिहाइ मत पुग्छ त्यही स्थायी राजधानी हुन्छ। कतै पनि दुई तिहाई पुगेन भने हेटौंडा नै अस्थायी राजधानीका रूपमा कायम रहन्छ।’ वर्णानुक्रमअनुसार प्रस्ताव दर्ता भएका स्थानमा पालैपालो निर्वाचत हुने उनको भनाइ छ।
पुस २१ गते सोमबार प्रदेश नामकरणसम्बन्धी कार्यविधि प्रदेशसभामा पेस हुनेछ। पुस २२ गते नै प्रदेशको नामकरणसम्बन्धी प्रस्तावलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयको तयारी छ।
पूर्वएमाले र माओवादीको आन्तरिक सर्कुलर
पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार अगाडि बढ्न नेकपा सम्बद्ध पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना प्रदेशसभा सदस्यलाई सर्कुलर गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार साँझ पूर्व एमालेसम्बद्ध प्रदेशसभा सदस्यलाई पार्टी निर्णयअनुसार अगाडि बढ्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए। यता, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले पूर्वमाओवादीसम्बद्ध प्रदेशसभा सदस्यहरूलाई बोलाएर पार्टी निर्देशनबारे जानकारी गराएको स्रोतले बताएको छ।
अष्टलक्ष्मीको अडान
नेकपा प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी निर्णय मान्नु कम्युनिस्ट पार्टीको नीति र विधि भए पनि पार्टीले केन्द्रीयता लादेर गलत गरेको बताइन्। उनले पार्टी केन्द्रीय सचिवालयको निर्णयलगत्तै उक्त निर्णय कार्यान्वयन गर्न नसकिने पार्टीका दुवै अध्यक्षलाई जवाफ दिएकी थिइन्।
‘मुख्यमन्त्रीका प्रमुख दावेदार समेत रहेकी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले मुख्यमन्त्री हुनबाट रोकेको बदला लिने उपयुक्त अवसरका रूपमा यसलाई लिनुभएको छ’, नेकपा प्रदेश कमिटीका एक नेताले भने, ‘पार्टी केन्द्रीय सचिवालयभित्र पर्नका लागि उहाँले यसलाई बार्गेनिङका रूपमा राख्नुभएको छ।’
नेकपाका अध्यक्ष र महासचिव आउने
पार्टी केन्द्रीय सचिवालयको निर्देशनबारे जानकारी गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल पुस २२ गते मंगलबार आउने भएका छन्। ‘पार्टीभित्र बोल्न चाहने सबै प्रदेशसभा सदस्यको भावना सुनिसक्यौं, अब कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्ष र महासचिव आएर छलफलमा बोल्ने कार्यक्रम छ।’ प्रदेश सरकारका एक मन्त्रीले भने। २२ गतेको बैठकपछि ठोस निर्णयसहित एकमत भएर प्रदेशसभा बैठकमा निर्णयार्थ प्रदेश राजधानीको विषय लैजाने तयारीमा रहेको मुख्य सचेतक फुयाँलले बताए।