च्छोरोल्पामा भेटियो हिमचितुवा

च्छोरोल्पामा भेटियो हिमचितुवा

दोलखा : विश्वमै दुर्लभ मानिएको हिमचितुवा रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपास फेरि भेटिएको छ। गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप)ले गौरीशंकर गाउँपालिका–९, रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमतालआसपास गरेको क्यामेरा ट्र्यापिङबाट संरक्षण क्षेत्रभित्र दोस्रोपटक हिमचितुवा भेटिएको हो। जीक्यापले आइतबार पत्रकार सम्मेलन गरी हिमचितुवा भेटिएको जनाएको छ।

रोल्वालिङ उपत्यकामा १२ वटा इन्फ्रारेड प्रविधिको सेन्सरयुक्त क्यामेरा जडान गरी ७ महिनाअघि थालिएको अनुसन्धानमा दोस्रोपटक हिमचितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले बताए। ०७६ जेठदेखि मंसिरसम्म गरिएको अध्ययनले सामुद्रिक सतहबाट ४५३६ मिटर माथि हिमचितुवाका तीनपटक तस्बिर खिचिएको प्रमुख शाहको भनाइ छ। असार १५, भदौ २२ र २६ गते गरी एउटै हिमचितुवा ३ पटक भेटिएको उनले जानकारी दिए।

नेपालमा संरक्षित २७ वटा वन्यजन्तु तथा पक्षीमध्ये रोल्वालिङ उपत्यका क्षेत्रमा हिमचितुवासहित ७ वटा जन्तु र पक्षी भेटिएको उनले बताए। क्यामेरा ट्र्यापिङमार्फत ५ वटा र मानवीय स्रोतबाट २ वटा संरक्षित वन्यजन्तु भेटिएको हो। रोल्वालिङ उपत्यकामा पहिलोपटक ब्वाँसो र रेडपाण्डा भेटियो।

करिब ७ महिनाअघि तिब्बतसँग सीमा जोडिएको लप्ची उपत्यकामा क्यामेरा ट्र्यापिङमार्फत भाले जातको हिमचितुवा भेटिएको संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए। १२ वटा क्यामेरा जडान गरिएकामा ६ वटाले मात्र काम गरेको थियो। प्रत्येक क्यामेराले सरदर १४८ दिन काम गरेको थियो। रोल्वालिङ उपत्यकामा ब्वाँसो, कस्तुरी, मृग, रेडपाण्डा, डाँफे, मुनाल र आसामी रातो बाँदरजस्ता संरक्षित वन्यजन्तु र पक्षी भेटिएको आयोजनाले जनाएको छ।

विश्वव्यापी उष्णताको प्रभाव सो क्षेत्रमा न्यून देखिएकाले वन्यजन्तुका लागि उपयुक्त क्षेत्रका रुपमा रोल्वालिङ उपत्यका रहेकाले पनि हिमचितुवा भेटिएको संरक्षण अधिकृत पाण्डेको भनाइ छ। अन्तर्राष्ट्रिय संरक्षण संघ (आईयुसीएन)ले दुर्लभ प्रजातिका रूपमा सूचीकृत गरेको हिमचितुवाको संख्या विश्वमा ६ हजारभन्दा कम भएको अनुमान गरेको थियो। नेपालमा यसको संख्या तीन सयदेखि पाँच सयसम्म रहेको अनुमान छ।

गौरीशंकर संरक्षण क्षेत्रभित्र यसको संख्या ३ देखि ५ सम्म हुन सक्ने अध्ययनमा संलग्नहरू बताउँछन्। कञ्चनजंघा, मकालु बरुण, सगरमाथा, लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, से–फोक्सुन्डो, ढोरपाटन, अपिनाम्पालगायत हिमाली क्षेत्रमा हिमचितुवा भएको रेकर्ड छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.