सिमानामा भारतले एकतर्फी सडक बनायो, नेपालतिर भासियो जमिन

सिमानामा भारतले एकतर्फी सडक बनायो, नेपालतिर भासियो जमिन

काठमाडौं : भारतले कालापानी क्षेत्र जाने दुई लेन सडक काली नदी किनारमा एकतर्फी रूपमा बनाइरहेको छ । त्यसले नेपालतर्फ घोडेटो बाटोमा क्षति पुगेको छ । सुगौली सन्धिअनुसार काली नदीसम्म नेपाल हो । नदीको गर्ज साँघुरो भएका कारण भारतले ब्लास्टिङ गर्दा नेपालतर्फ पहिरोसमेत गएको छ ।

'भारतले सडक बनाउँदा हाम्रोतिर क्षति भइरहेको छ', स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका इन्जिनियर जनकराज पन्तले भने, 'बचेखुचेको घोडेटो बाटोमा पनि क्षति पुगेको छ । दुई देशको भूगोल जोडिएको हुँदा भारतले सडक बनाउँदा नेपालतर्फको पहाड ठाउँ-ठाउँ भत्किएको छ ।'

उनी कालापानी जाने बाटोको डीपीआरका लागि स्थलगत अध्ययनमा गएका थिए । भारतीय बाटो हुँदै छाङरुङनजिक पुगेको उनले सुनाए । उनका अनुसार गुम्दीसम्म भारतले सडक बनाइरहेको हो । त्यस क्रममा एस्काभेटर कतिपय स्थानमा नेपालकै भूमिबाट लगिरहेको उनले सुनाए । ब्लास्टिङ गर्दा ढुंगा उछिट्टिएर आउने गरेको छ । 'भारतले ब्लास्टिङ गर्दा थर्किएर धेरै ठाउँमा पहाडै खसेको छ', उनले भने ।

उनका अनुसार कतिपय स्थानमा नदी थुनिएको छ । भारतले नेपालको भत्किएको बाटो बनाइदिन्छौं भने पनि विश्वास नलागेको उनले बताए । उनले आफूले बाटामा कहीं पनि नेपाल प्रहरी नदेखेको बताए । भारतीय प्रहरी, अर्धसैनिक बल भने जताजतै थिए । भारतले ६ महिनासम्म कालापानीसम्मै सडक पुर्‍याउने गरी द्रुत गतिमा बाटो बनाइरहेको छ । त्यो भारतीय सडक हुँदै चीनको धार्मिक स्थल मानसरोवरसम्म पुग्ने भारतीय लक्ष्य छ ।

स्थलगत सर्वेक्षणमा नेपालले चाँडै बाटो बनाउनुको विकल्प नरहेको उनले बताए । 'नेपालबाट हिँड्ने बाटो त चाहियो नि', उनले भने । बाटो नबनाएसम्म भारतीय अतिक्रमण हटाउने कुरा कोरा कल्पना मात्रै हुने उनले बताए ।

पञ्चायतकालमा कालापानीसम्म पुग्ने घोडेटो बाटो बनेको थियो । अधिकांश स्थानमा त्यसको नामोनिसान छैन । बाटो भएका ठाउँमा पनि भारतले सडक बनाउँदा क्षति भएको छ । यही बेला नेपालतर्फको बाटो नबनाए पछि मुस्किल हुने उनको ठहर छ ।

'हाम्रो बाटो बनाउँदा उता असर पर्छ । उसले बनाउँदा हाम्रोमा क्षति पुगेको छ', उनले भने, 'गर्ज साँघुरो भएका कारण हामीले बाटो बनाउँदा उता क्षति पुग्छ अनि उसले कसरी बनाउन दिन्छ ? पाँच ठाउँमा त पहाड खोपेर झोलुंगे पुल बनाउनुको विकल्प छैन ।'

सीमाविद् पुण्यप्रसाद ओलीले सीमा क्षेत्रमा ढुंगा फुटाउँदा पनि छिमेकी राष्ट्रको सहमति चाहिने बताए । 'नदी थुन्ने गरी सडक बनाउन पाइँदैन', उनले भने, 'त्यो राष्ट्रियता र सार्वभौमिकतासँग सम्बन्धित विषय हो ।' यो विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । ‘स्थानीय प्रशासनले गृह मन्त्रालय हुँदै परराष्ट्रलाई जानकारी गराउनुपर्छ', उनले भने, 'परराष्ट्र मन्त्रालयले त्यसबारे भारतसँग कुरा गर्नुपर्छ ।'

नेपालतर्फ घोडेटोको डीपीआर

सरकारले कालापानी क्षेत्र जाने घोडेटो बाटोको डीपीआर बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका-२ दाम्लिङबाट व्यास-१ छाङरुङसम्मको ३० किलोमिटर बाटो स्थलगत अध्ययनपछि डीपीआर बनाउन थालिएको छ ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा बनाएपछि त्यो क्षेत्रमा जाने बाटोसमेत नभएको भन्दै आलोचना भएको थियो । काली नदी (महाकाली)को किनारै किनार लैजाने गरी घोरेटो बनाउन डीपीआर एक महिनाभित्र बुझाइने उनले बताए । स्थलगत सर्वेक्षणमा विभागका डिभिजनल इन्जिनियर महेश्वर घिमिरे पनि सहभागी थिए ।

नेपालले त्यहाँको सुरक्षा र पूर्वाधारमा चासो दिएको छ । सीमा सुरक्षाका लागि कालापानी क्षेत्रमा बीओपी राख्ने र त्यहाँ पुग्ने बाटो बनाउनुपर्ने आवाज उठेको थियो । दार्चुला सदरमुकामबाट टिंकरसम्मको सडक बनाउने कार्य अलपत्र छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.