'निर्णय सच्याउन सभापति देउवा तयार'

'निर्णय सच्याउन सभापति देउवा तयार'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पछिल्लो समय गुटगत विवाद गहिरिँदोछ। पार्टीभित्र संस्थापन र असन्तुष्ट समूह आआफ्नो अडानमा दृढ देखिन्छ। त्यसैले पनि विवाद तत्काल साम्य हुने संकेत देखिएको छैन। संस्थापन समूह बहुमतबाट अगाडि बढ्न खोजेको भन्दै असन्तुष्ट समूहले निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ। 

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका विषयमा कांग्रेसभित्र विवाद छ। सभापति शेरबहादुर देउवालाई दबाब दिन असन्तुष्ट समूहले जिल्ला सभापति भेला बोलाएको छ। यसले पनि पार्टीभित्रको विवाद सतहमा ल्याइदिएको छ।  सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मनोवैज्ञानिक युद्ध, पार्टीभित्रको विवाद, सहमतिका लागि भइरहेका प्रयासबारे कांग्रेस केन्द्रीय सदस्य एनपी साउदसँग अन्नपूर्णकर्मी चन्द्रशेखर अधिकारी खगेन्द्र भण्डारीले गरेको कुराकानी :


पार्टीभित्रको विवाद मिलाउन तपाईंसहित केही युवानेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्नुभयो ? के भन्नुहुन्छ उहाँहरू ?

हामी पार्टीका केही युवा साथीहरू बानेश्वरमा बसेका थियौं। पार्टीभित्र पछिल्लो आन्तरिक विवाद बढ्दै गएको र पार्टीको सार्वजनिक छवि पनि धुमिल हुँदै गएको अवस्थामा हामीहरूले यसलाई न्यूनीकरण गर्न केही पहलकदमी लिनुपर्छ भनेर जमघट भएको थियो। त्यसपछि हामी ६ जना साथीहरूले पार्टी सभापति र वरिष्ठ नेतालाई भेट्यौं। सभापतिज्यूसँग भेट्दा उहाँ धेरै विषयमा खुलस्त भएको हामीले पायौं। १४ महाधिवेशन अब थपिएको समयमै हुनुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ।

केही साथीहरूले बैठक बहिष्कार गरेको अवस्था र पार्टीले गरेको निर्णयमा केही सच्याउनुपर्ने भएमा पनि सभापति तयार हुनुहुन्छ। महाधिवेशन तोकिएकै समयमा हुने भए पनि कार्यतालिका तलमाथि गर्न उहाँ तयार हुनुहुन्छ। पार्टीका अरू विषयमा पनि सबैलाई समेटेर लैजाने कुरा सभापतिले व्यक्त गर्नुभयो। त्यसपछि वरिष्ठ नेतालाई भेट्यौं। उहाँ पनि सकारात्मक नै पायौं। उहाँहरूबीच मनोवैज्ञानिक द्वन्द्व देखिन्थ्यो। उहाँहरूलाई मिलाउनेभन्दा पनि विभिन्न नाममा विवाद बल्झाउने अवस्था आउनुमा दुई नेताबीच संवादको कमी भएको हामीले महसुस गर्‍यौं।

 शीर्ष नेतृत्वबीच नै संवादहीनताका कारण विवाद बढेको हो ?

ठीक कुरा गर्नुभयो। उहाँहरूबीच संवादको अभाव देखियो। दुई नेताबीच नै संवाद भएको भए अहिले देखिएको विवाद समाधान गर्न सघाउ पुग्थ्यो। त्यसैले पनि हामी केही साथीहरू मिलेर दुई नेताबीच नै सीधै संवादको वातावरण मिलाउन र अहिलेको पार्टी विवाद समाधानका लागि पहल गर्नुपर्छ भन्ने निष्कर्षका साथ लागिपरेका हौं। एकपटक सभापति आफैं वरिष्ठ नेताको घरमा पुगेर संवाद थाल्नुभएको थियो। अब फेरि उहाँलाई घरमै बोलाएर छलफल गर्दा प्रभावकारी हुन्छ। सभापति, वरिष्ठ नेता र आवश्यक परे कृष्णप्रसाद सिटौलाजी तीनैजना बसेर संवाद गर्नुपर्छ। नभए वार्ता समितिका संयोजकलाई पनि सँगै राखेर संवाद गर्नुपर्छ। शीर्ष तहमा संवादहीनताको अवस्था तोड्नुपर्छ।

 सभापतिले पार्टीलाई बहुमतबाट सञ्चालन गर्न खोजेपछि हामी बहिष्कार गर्न वाध्य भयौं भन्ने असन्तुष्ट समूहको भनाइ छ। विवादको कारण यही होइन र ?

प्रजातान्त्रिक मूल्यमान्यताबाट सञ्चालित पार्टीमा बहुमत र अल्पमतकै कारण विभाजन भइहाल्ने, अराजकता आउने भन्ने हुँदैन। प्रजातान्त्रिक पद्धतिभित्र सर्वसम्मति, अल्पमत, बहुमत निर्णय प्रक्रियाकै अंग हुन्। जिल्ला कार्यसमितिमै पदाधिकारी मनोनयनमा अल्पमत बहुमतबाट भएको छ। त्यसकारण कुनै विषयमा सहमति हुन सकेन भने अल्पमत बहुमतबाट जाने गरेको अवस्था कांग्रेसभित्र नयाँ विषय होइन। प्रजातान्त्रिक पार्टीभित्र सर्वसम्मति हुन नसके बहुमतबाट जाने कुरालाई अन्यथा मान्नुहुँदैन।

. सभापतिले पार्टी नभई गुट चलाएको आरोप छ नि ?

पहिला त हामी नेपाली कांग्रेसको इतिहासतर्फ फर्किनुपर्छ। कांग्रेसको स्थापना नै दुई पार्टीको समायोजनपछि भएको हो,नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस। त्यसपछि गोर्खा परिषद् कांग्रेसमा आयो। पछि सुवर्ण शमशेर र बीपी कोइरालाबीच पनि टकराव देखिन्थ्यो। गणेशमान सिंह, किसुनजी र गिरिजाबाबुबीचको विवादको साक्षी हामी स्वयं छौं। त्यसपछि गिरिजाबाबु र शेरबहादुर देउवा, सुशील कोइराला र देउवा, अहिले देउवा-रामचन्द्र दाई बीचको विवाद हो। मुख्य कुरा विभिन्न स्वार्थ समूहहरू सक्रिय भइरहँदा निश्चित दायराभित्र पारदर्शी ढंगले सम्बन्धको विकास गरौं र निरन्तर संवाद र समन्वय होस् भन्ने कुरा महत्वपूर्ण हो।

त्यसमा कांग्रेसभित्र गम्भीर अभाव देखियो। नेताहरूबीच छुट्टाछुट्टै कुरा गर्दा केही विवाद नभएको जस्तो देखिन्छ। तर, उहाँहरू एक ठाउँमा आउँदा किन समस्या समाधान भइरहेका छैनन्, हामीले पनि बुझ्न सकिरहेका छैनौं। अहिले हाम्रो प्रयास पनि उहाँहरूलाई एक ठाउँमा ल्याउने र पानी धमिल्याएर माछा पार्ने गोही प्रवृत्तिलाई निरुत्साहित बनाएर पार्टीभित्र सहमति, सहकार्य र साझेदारीमा सञ्चालन गर्नुपर्छ भन्ने नै हो। पार्टीभित्र नेता कार्यकर्ताको कामको उचित मूल्यांकन गरेर जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्छ। यसले मात्र कांग्रेसलाई सशक्त बनाउँछ।

तपाईंले भनेजस्तो सजिलै कुरा मिल्ने अवस्था अहिले देखिँदैन। असन्तुष्ट समूहलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

विधानका केही धारा निलम्बनका विषयमा उहाँहरूले असहमति जनाउनुभएको छ। महाधिवेशन कार्यतालिका हेरफेरको कुरा उठाउनुभएको छ। यसमा सभापतिले सच्याउन तयार छु भनिसक्नुभएको छ। अधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उहाँहरूकै माग हो। त्यसलाई सम्बोधन भइसकेको छ। विधानको धारा निलम्बन महाधिवेशन प्रभावित गर्न नभई महाधिवेशन गर्नकै लागि हो भनेर सभापतिले भन्नुभएको छ। त्यसमा साथीहरूको चित्त बुझेको छैन भने फेरि ती धाराहरू ब्युँताएर सहमति खोजौं भनेर उहाँले भनिसक्नुभएको छ। नेविसंघ गठन भएकै छैन। त्यसकारण हामी सबै सहमतिका लागि जिम्मेवार भयौं भने कहीं पनि समस्या म देख्दिन। सहमति गर्न सबै पक्ष तयार हुनुपर्छ।

पार्टी सभापति विधानविपरीत चलेको आरोप जिल्ला सभापतिहरूले लगाएका छन्। त्यसलाई हामी स्वीकार्दैनौं भनेका छन्। यसले त पार्टीभित्रको विवाद थप जटिल बन्ने देख्नुहुन्न ?

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य बुथबाटै निर्वाचित नभई सीधै पदेन हुने कुरा सभापति देउवाजीको पालामा पहिलो पटक भएको होइन। यो पहिलादेखिकै प्रचलन हो। भ्रातृसंस्थामा पनि महाधिवेशन आयोजक समिति, जिल्ला अधिवेशनमा जिल्ला समिति, नगर अधिवेशनमा नगर कमिटी र केन्द्रीय अधिवेशनमा केन्द्रीय समिति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। जहाँसम्म यो विषय महासमिति बैठकमा दुईवटा विषय (केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य बुथबाटै निर्वाचित हुनुपर्ने र एक व्यक्ति एक अवसर) उठेको थियो। त्यतिबेला वैधानिक एजेण्डा बनेन। चर्चाका लागि त्यो विषय केही व्यक्तिले उठाएका हुन्। यदि त्यो वैधानिक एजेण्डाका रूपमा आएको भए एक चौथाइ महासमिति सदस्यले प्रस्ताव गर्ने र दुईतिहाइले पारित गर्नुपथ्र्याे। त्यसकारण विधान उल्लंघन गरेको भन्ने यथार्थ होइन।

सहमतिका लागि पार्टी सभापतिले नै अग्रसरता लिनुपर्ला नि ?

पक्कै पनि सभापतिले उदारता देखाउनुपर्छ। उहाँहरूले पनि प्रक्रियामा सहभागी भएर सहमतिका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। पार्टीभित्र सहभागिता र हिस्सेदारी पार्टीको पद्धतिभित्रै खोज्नुपर्छ। पार्टी बैठक बहिष्कार गर्ने र छुट्टाछुट्टै भेला गर्ने विषयले समस्याको समाधान दिन सक्दैन। विभाग ४७ भए पनि उहाँहरूले ४० प्रतिशत हिस्सा पाउनुहुन्छ। तरुण दल र नेविसंघमा पनि उहाँहरूलाई न्याय हुनेगरी नै साझेदारी हुन्छ। त्यसकारण प्रक्रियाबाहिर गएर विवादलाई तन्काउने नभई मिलाउनेतर्फ नै हामी सबै जिम्मेवारीपूर्वक लाग्नुपर्छ।

अहिलेको कांग्रेस नेतृत्वबाट पार्टी बच्दैन, विकल्प खोज्नुपर्छ भनेर असन्तुष्ट समूहले भन्न थालेको छ। नेतृत्व असफल भएकै हो ?

पार्टी नेतृत्व भनेको केबल सभापति मात्र होइन, ८५ केन्द्रीय कार्यसमिति नै पर्छ। कोही २५ वर्षदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ, कोही १५ वर्ष त कोही नयाँ हुनुहुन्छ। सबैको सामूहिक नेतृत्वबाट यो पार्टी यहाँसम्म आएको हो। कसको नेतृत्वमा पार्टी चल्छ या चल्दैन भन्ने कुराको निक्र्याैल गर्ने भनेको महाधिवेशनले हो। महाधिवेशनले नेतृत्व बदल्न चाह्यो भने बदलिन्छ। कसैको मानमर्दन गरेर, प्रजातान्त्रिक अधिकार हनन गरेर एउटा लोकतान्त्रिक पार्टी चल्न सक्दैन। अहिलेको महाधिवेशनमा केन्द्रित हुनेभन्दा पार्टीको सक्रियतामा गतिरोध ल्याउने, सभापतिले केही काम गर्न खोज्यो भने त्यसमा भाँजो हाल्ने र पार्टी सभापतिको छविलाई नकारात्मक रूपमा प्रचार गर्ने कोसिस अहिले भइरहेका छन्। यसले पार्टीलाई बल पुर्‍याउँदैन। पार्टीको गौरवमय इतिहास र परम्परा छ, त्यसको विधि भत्किने र पार्टीमा अराजकता र अनुशासनहीनता हावी हुन्छ।

 सरकारविरुद्ध कांग्रेस बोल्न नसक्नुमा पार्टी नेतृत्वलाई पनि जोडेर हेर्ने गरिन्छ। यसले पनि पार्टीलाई हानि पुर्‍याएको जस्तो लाग्दैन ?

यो विषयमा पार्टीभित्रै विभिन्न फोरममा कुरा उठ्ने गरेको छ। कांग्रेस दुई वर्षअघि भएको निर्वाचन हारिसकेपछि अझै पनि तंग्रिन सकेको छैन। नेताहरू अहिले पनि स्थिर भएर पार्टीलाई कुन दिशामा कसरी अगाडि लैजाने भन्नेमा सोच्न सकिरहेका छैनन्। जहाँसम्म सभापतिको कुरा छ, उहाँले सरकारका हरेक गलत क्रियाकलाविरुद्ध सार्वजनिक रूपमा बोलिरहनुभएको छ। संसद्मा पटकपटक ठूला भ्रष्टाचारकाण्डदेखि गैरसंवैधानिक विधेयकविरुद्ध बोल्नुभएको छ। अहिले सरकारले आफ्ना कमजोरी लुकाउन त्यसमा प्रतिपक्षीलाई पनि जोडिदिने चलाखी गरिरहेको छ। सरकारसँग नियामक निकाय छन्, त्यसलाई काम गर्न दिए भइहाल्यो नि।

उसलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ। त्यसले सत्तापक्ष र प्रतिपक्षी नभनी छानबिन गरे भइहाल्यो नि। दोषी जोसुकै होस्, कारबाही गर्न कसले रोकेको छ ? त्यसमा पनि प्रजातन्त्रलाई नरुचाउने शक्ति आज सरकारमा छ। त्यस्ता शक्ति वा दलहरूले कांग्रेसको कुनै कमजोरी भए बाँकी राख्थे होलान् ? सरकारमा बसेका बेला गरेका कमीकमजोरीका कारण कांग्रेस शिथिल भएको होइन कि यो हाम्रै पार्टीको कारणले भएको हो। पार्टीभित्र महाधिवेशनको प्रतिस्पर्धा अहिले सुरु हुनुपर्नेमा आजभन्दा तीन वर्षअघिदेखि चलिरहेको छ। एउटा महाधिवेशन सकिएलगत्तै अर्काे महाधिवेशनको होडबाजीमा नेताहरू लागेका छन्। आफ्नै पार्टी नेताहरूलाई गाली गरेर, पार्टीको आलोचना गरेर कांग्रेस बन्दैन। कांग्रेस बनाउन सबैले आत्मालोचना गरौं। त्यसले मात्र कांग्रेस आमनागरिकको भरोसाको केन्द्र बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.