इरानका कारण हुनेछैन तेस्रो विश्वयुद्ध
इरानबाट विश्वलाई ठूलो खतरा थिएन। तर, अमेरिकाले कासिम सुलेमानीको हत्या गरेपछि मध्यपूर्वका मानिसले थप दुःख पाउने निश्चित छ।
नसरिन मलिक
कुवेतमा सन् १९९० मा इराकी शासक सद्दाम हुसेनले आक्रमण गरेको केही सातापछि नै सुडानको राजधानी खार्तुमस्थित म पढ्ने स्कुलमा कैयौँ नयाँ विद्यार्थी आउन थाले। शैक्षिक सत्रको आधाआधी बितिसकेपछि उनीहरू आएका थिए। उनीहरू व्यग्र देखिन्थे। तिनका लुगाफाटा पनि सुहाउँदा र मिलेजुलेका थिएनन्। कसैका जुत्ता ठूला थिए। कसैका लुगा ह्वार्लाङे, कसैका टिमिक्क !
सुरुका केही दिनसम्म उनीहरू कक्षामा चुपचाप बसिरहे। नयाँ शैक्षिक सामग्रीसँग घुलमिल हुन सकिरहेका थिएनन्। नयाँ साथी बनाउने इच्छा पनि उनीहरूमा देखिँदैनथ्यो। एउटी केटीले त कक्षाको पछाडिको झ्यालबाट बाहिर बगैँचा हेरेरै एक साता बिताई। उसका आँखाबाट निर्बाध आँशु बगिरहेका हुन्थे।
बिस्तारै उनीहरू बोलचाल गर्न थाले। उनीहरूले हामीलाई आफ्नो परिचय दिन थाले। ती सद्दामका शरणार्थी थिए। अर्थात्, कुवेतमा काम गरिरहेका सुडानीका सन्तान थिए। सद्दामले त्यहाँ आक्रमण गरेलगत्तै झोलीतुम्बा बोकेर उनीहरू सुडान आएका थिए।
तिनले आक्रमणको कथा सुनाइरहँदा हामी उनीहरूवरिपरि कुँडुलो लाग्थ्यौँ। ती कथा नै पछि गएर सद्दामको बर्बरताको मिथक बने। उनीहरूले दोहोर्याइरहने सबैभन्दा डरलाग्दो बर्बरताको कथा थियो– ‘सैनिकहरू अस्पतालमा पसे र भर्खर जन्मेका बच्चालाई न्यानो पार्न राखिएको इन्क्युबेटरको प्लग थुतिदिए।’ फेरि कुवेत फर्किने सम्भावनै छैन भन्ने मान्न उनीहरू तयार थिएनन्।
कुवेतलाई सद्दामको पञ्जाबाट मुक्त गर्न जनवरी, १९९१ मा सैन्य अभियान सुरु गरियो। अमेरिका नेतृत्वको गठबन्धनले यसलाई ‘अपरेसन डिजर्ट स्टोर्म’ नाम दिएको थियो। तर, हाम्रो स्कुलमा आएका ती केटाकेटीले अमेरिकाले सुरु गरेको यो अभियानको चर्को विरोध गरे। एउटी केटी साह्रै रिसाहा थिई। नयाँ ठाउँमा असहज महसुस गरेकी उसको तौल पनि स्वाट्टै घटेको थियो। ऊ एक दिन डेस्कमाथि चढेर कराई, ‘अब झन् भद्रगोल हुनेछ ! अब संसारैभरि भद्रगोल हुनेछ !’ यो देखेर हामी सबै दुविधामा परेका थियौँ।
त्यो क्षण बितेको तीन दशक पूरा भइसक्यो। गत साता अमेरिकाले इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि त्यो केटीका हरेक शब्दको प्रतिध्वनि अहिले पनि सुन्न सकिन्छ। त्यो केटीको अन्तःकरणले सबै प्रकारका वैधानिक, राजनीतिक र नैतिक प्रश्नहरूलाई भेदेर त्यो भविष्यवाणी गरेको थियो। उसका लागि अर्थ राख्ने कुरा एउटै थियो– अन्ततोगत्वा झन् धेरै मानिसले कष्ट भोग्नुपर्नेछ र परिस्थिति सम्हाल्नै नसक्ने गरी बिग्रिनेछ। र, सबैभन्दा बढी दुःख पाउने मानिस उसका आफन्तहरू नै हुनेछन्, न कि कुवेत मुक्त गर्न आएका आधुनिक हतियारले लैस र कवचले सुरक्षित विदेशी सैनिक।
सद्दाम वा सुलेमानीजस्ता कुटिल तानाशाह मारिँदाको खुशी र यस्ता हस्तक्षेपले अन्ततः अस्थिरता बढाएरै छोड्छ भन्ने भयका बीच सन्तुलन कायम राख्न सधैँ कठिन हुने गर्छ। यस्ता हस्तक्षेपले केही समयका लागि कसैको जीवन बचाउला तर त्यसको प्रभाव छोटो समय मात्र टिक्ने गर्छ। त्यो अस्थिरताको अर्थ के हो भने रक्तपात अझ बढ्नेछ, अझ धेरै शरणार्थी बन्न विवश हुनेछन् र रातारात अझ धेरै बालबालिकाको भविष्य अन्धकार बन्नेछ।
वैदेशिक हस्तक्षेपविरोधी कुनै सिद्धान्तबाट प्रभावित भएर मैले यस्ता हस्तक्षेप खतरनाक हुन्छन् भनेको होइन। सुलेमानीको हत्यापछि मैले सो क्षेत्रका केही मानिससँग कुरा गरेकी थिएँ। उनीहरू सुलेमानीजस्तो खतरनाक व्यक्तिको मृत्युमा खुशी थिए। तर, सँगसँगै ‘बैचन’ र ‘त्रस्त’ पनि थिए।
पश्चिममा सुलेमानीको हत्याले राष्ट्रपति डोनाल्ड ट्रम्पको महाअभियोग तथा पुनःनिर्वाचनमा कस्तो प्रभाव पार्ला वा व्यक्ति हत्यालाई विदेश नीतिको औजारको रूपमा प्रयोग गर्नु उचित हो कि होइन भन्ने नैतिक प्रश्नमा बहस चलिरहेको छ। तर, यस्ता छलफलभन्दा धेरै टाढा मध्यपूर्वका लाखौँ मानिसको जीवन साँच्चै नै असहनीय बनेको छ।
सुलेमानीले सो क्षेत्रमा अनेकौँ पीडा थोपरेका थिए। उनले छद्म युद्ध चलाएका थिए। क्रान्ति र आन्दोलनको गला दबाएका थिए। सिरियाका बसर अल असदजस्ता तानाशाहको आयु बढाएका थिए। सुलेमानीको सहयोग नपाएको भए असद सत्ताच्युत भइसक्थे। तर, सुलेमानीको हत्याले यी कुरा रोकिनेछैनन्, अर्थात् त्यसको नतिजा उल्टो हुनेछ। अमेरिकीहरूको जीवन पहिले जस्तो थियो, त्यस्तै निर्बाध चलिरहनेछ तर मध्यपूर्वमा थप अस्थिरता आउनेछ।
हत्याका माध्यमबाट युद्धमा संलग्न हुने तरिकामा एउटा गम्भीर समस्या हुन्छः यसमा युद्ध अन्त्य गर्ने प्रयास कहिल्यै हुँदैन। समस्या विदेशी हस्तक्षेपमा होइन, विदेशमा हस्तक्षेप गर्ने अमेरिकाको तरिकामा छ। आक्रमण गर्ने र त्यो ठाउँ छोडिदिने, सरकार प्रमुख तथा आफूले दुश्मन ठानेका शक्तिका प्रमुखलाई हटाइदिने र आफ्ना हातहतियार बटुलेर फर्किने (ड्रोन आक्रमणको कुरा गर्ने हो भने स्क्रिन अफ गर्ने र घर जाने) तरिकाले कुनै उपलब्धि हात लाग्दैन। यसले समस्याको आधारभूत समाधान दिँदैन। वास्तविक होस् वा ह्वाइटहाउसले आफ्नो प्रचारका लागि गरेको होस्, सुलेमानीको हत्याले अस्थायी समस्या मात्र समाधान गर्न सक्छ। यसको नतिजा तिनले खेप्नुपर्नेछैन, जो सामाजिक सञ्जालमा ‘वल्र्ड वार ३’ ट्रेन्डिङमा ल्याइरहेका छन्।
वास्तवमा सुलेमानीको हत्याले तेस्रो विश्वयुद्ध सुरु हुनेछैन। यस्तो चर्चाले अमेरिकी प्रोपागान्डा संयन्त्र कति बलियो छ भन्ने मात्रै देखाउँछ। इरानले संसार नै ध्वस्त पार्ने खतरा छ भन्ने प्रभाव देखाउन त्यो संयन्त्र सफल भएको छ।
सिरिया, इराक र लेबनानमा रहेका अमेरिकी दूतावास र सेनामाथि सम्भावित आक्रमणलाई टार्न रक्षात्मक हिसाबले चालिएको कदम भन्दै सुलेमानीको हत्यालाई उचित ठहर्याइएको छ। ज्वाइन्ट चिफ अफ स्टाफका प्रमुख जनरल मार्क मिलीले त्यस्तो षडयन्त्र ‘सोझो र स्पष्ट’ रहेको दाबी गरेका छन्। तर, एक अमेरिकी अधिकारीले ‘न्युयोर्क टाइम्स’लाई बताएअनुसार त्यस्तो सूचना ‘मध्यपूर्वमा नौलो थिएन।’
यी कुरा पहिल्यै पनि सुनिएजस्ता लाग्दैनन् त ? के पश्चिमाहरूको जीवनमा खतरा छ भन्ने सूचना पाउनेबित्तिकै त्यसको सत्यतथ्य छानबिन नगरी आक्रमणमा उत्रिहाल्नुपर्छ ?
सन् २००३ को प्रलयकारी इराक आक्रमणका बेला यस्तै छल गरिएको थियो। अहिले पनि त्यसमा कुनै सुधार भएको छैन, मात्र त्यसलाई पुनःप्रयोग गरिएको छ। इराक आक्रमणपछि लाखौँलाख मानिसको मृत्यु भयो। यो युद्धको दलदलमा फस्दै गएपछि इराकमा इरान र सुलेमानीको शक्ति र प्रभाव बढ्यो, तैपनि हामीले कुनै पाठ सिकेनौँ। हामी जहाँको तहीँ छौँ। त्यसबेला र यसबेलाको एउटै फरक के हो भने अहिले कसैले पनि आक्रमणको बहाना बनाउन कुनै फाइल तयार गरेन र कसैले ‘४५ मिनेटभित्रै आम नरसंहारकारी हतियार तयार पार्न सक्छ’ भनेर दाबी गरेन।
तेस्रो विश्वयुद्ध होइन, यसबाट तनाव झन् बढ्नेछ। किनभने, अमेरिकी भूमिमा पुगेर बदला लिने शक्ति इरानसँग छैन। बरु, ऊ यही क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्नतर्फ लाग्नेछ। साउदी अरब वा उसका सहयोगीजस्ता अमेरिकाका प्रोक्सीहरू उसका शिकार बन्नेछन्। अमेरिकीहरू धमाधम इराक छोडेर भागिरहेका छन्। तर, इराकी नागरिक र सो क्षेत्रका जनतासँग अन्यत्र जाने विकल्प उपलब्ध छैन। क्षतिबाट उम्किने कुनै उपाय छैन। उनीहरूका लागि ३० वर्षअघि त्यो केटीले भनेजस्तै यो संसार झन् भद्रगोल बनेको छ।
(‘द गार्जियन’बाट। सुडानी मूलकी मलिक लन्डनमा आधारित पत्रकार तथा स्तम्भकार हुन्। अनुवादः कवि आचार्य )
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2733)