हेटौंडा राजधानी बनाउन ह्विप लगाउने तयारी

हेटौंडा राजधानी बनाउन ह्विप लगाउने तयारी

हेटौंडा : नेकपाले ह्विप लगाएर प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउने भएको छ। नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेश संसदीय दलले नाम बागमती र राजधानी हेटौंडा कायम गर्न ह्विप लगाउन लागेको हो।

‘प्रदेशसभामा नेकपाबाट स्थायी राजधानी हेटौंडा र नाम बागमती मात्र प्रस्ताव जान्छ’, नेकपाका नेता तथा प्रदेशसभा सदस्य दीपक निरौलाले भने, ‘त्यसका लागि पार्टी केन्द्रको निर्देशन मान्नुको विकल्प छैन।’

यसका लागि बिहीबार नेकपा प्रदेश संसदीय दलको बैठक बस्दै छ। बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालको निर्देशनबारे संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालले जानकारी गराउनेछन्। ‘बैठकमा हामी पार्टीको मार्गनिर्देशनबारे प्रदेशसभा सदस्यहरूलाई फेरि जानकारी गराउँछौं’, नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले भने, ‘पार्टीको निर्देशन नै ह्विप हो। पार्टी लाइनबाहिर जानेहरू पार्टीको सदस्य हुन सक्दैनन्।’

हेटौंडाका विपक्षमा रहेका नेकपाका प्रदेशसभा सदस्यले भने प्रदेशसभामा स्थायी राजधानी काभ्रे दर्ता गर्ने तयारी छ। ‘संसदीय दलको बैठकमा कस्तो माहोल हुन्छ, त्यसपछि हामी निर्णय गर्छौं’, काभ्रेका प्रदेशसभा सदस्य चन्द्र लामाले भने, ‘पार्टीले ह्विप लगायो भने हामी कसरी अघि बढ्ने सल्लाह गर्छौं।’

प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले प्रदेशसभाको अधिकार क्षेत्रभित्र पार्टीले ह्विप लगाउन नमिल्ने बताए। ‘यसबारे हामी संसदीय दलमा थप छलफल गर्दैछौं। प्रदेशसभाको अधिकारभित्र हामीले ह्विप लगाउन मिल्दैन।’

नेकपाबाट प्रदेशसभामा काभ्रे राजधानीका लागि प्रस्ताव दर्ता नभए विवेकशील साझा पार्टीले दर्ता गर्ने जनाएको छ। ‘नेकपाका सांसदले दर्ता गरेनन् भने हामी काभ्रे राजधानीका लागि दर्ता गर्छौं’, विवेकशीलका रमेश पौडेलले भने।

फेरियो समीकरण

सचिवालयको निर्देशनपछि नेकपाभित्र प्रदेश राजधानीका सम्बन्धमा भूगोलमा विभाजित प्रदेशसभा सदस्यहरू गुटमा एकताबद्ध भएका छन्।

पार्टी निर्देशनपछि नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट प्रदेशसभा सदस्य हेटौंडा र नेता माधव नेपाल पक्षका सदस्य काभ्रेको पक्षमा देखिएका छन्। तत्कालीन माओवादी केन्द्र निकट सदस्य पनि हेटौंडाका पक्षमा उभिएका छन्। ‘काभ्रेका पक्षमा करिब ४३ मत थियो। नेपाली कांग्रेस र अन्य मत तानेर दुई तिहाइ पुग्ने अपेक्षा गरिएकोमा नेकपाको निर्देशनपछि माहोल परिवर्तन भएको छ’, नेकपाका एक सदस्यले भने, ‘हेटौंडाका पक्षमा दुई तिहाइ मत पुग्न नदिने र अल्पमतमा पार्ने प्रयास जारी छ।’

कतिपय प्रदेशसभा सदस्यले भने प्रदेश राजधानीलाई ‘बार्गेनिङ’ को आधार बनाएका छन्। स्थायी राजधानी हेटौंडा कायम भएलगत्तै मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा ११ वटा मन्त्रालय बनाउने नेकपाको आन्तरिक तयारी छ। ‘प्रदेश राजधानी बनाउन सहयोग गर्ने र असन्तुष्ट केही प्रदेशसभा सदस्यलाई मन्त्री बनाउने पनि आश्वासन दिइएको छ’, प्रदेश सरकारका एक मन्त्रीले भने, ‘नाम र राजधानी टुंगो लाग्नेबित्तिकै प्रदेश सरकार विस्तार हुन्छ।’

२७ गते मतदान

पुस २७ गतेसम्म नाम र राजधानी प्रदेशसभाबाट टुंगो लाग्ने अन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए। त्यसका लागि बुधबारदेखि प्रदेशसभामा प्रदेशको राजधानीबारे बहस सुरु भएको छ। प्रदेशको स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि बिहीबारसम्म छलफल हुनेछ।

‘सबै सदस्यको धारणा राख्ने काम सकिएपछि कार्यविधिअनुसार स्थायी राजधानी र नाम दर्ता गर्न प्रदेशसभाले समय तोक्छ’, सभामुख सानुकुमार श्रेष्ठले भने, ‘त्यसपछि वर्णानुक्रमअनुसार पहिला राजधानी र त्यसपछि नामबारे मतदान प्रक्रियाबाट टुंगो लाग्छ।’ बुधबारको बैठकमा १२ जना प्रदेशसभा सदस्यले नाम र राजधानीबारे धारणा राखेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.