पर्यटकको पर्खाइमा मुस्ताङ
जोमसोम : बर्खायाम गुल्जार भइरहने मुस्ताङ हिउँदयाम लागेपछि गुमनाम बनेको छ । हिमपातसँगै जाडो बढेकाले पर्यटकको रौनक घटेको हो । स्थानीय पर्यटन व्यवसायी समेत व्यवसाय बन्द गरी जिल्ला बाहिरिएका छन्।
मुस्ताङ सदरमुकाम जोमसोम र पुथाङ एयरपोर्ट आसपासमा संञ्चालित होटल तथा रेष्टुरेन्ट यतिबेला आधाजसो बन्द छन् । तर केहीले भने होटल खुल्ला गरी पर्यटकको पर्खाइमा बसेका छन् । मुस्ताङको तापक्रम माइनस १५ डिग्री भन्दा माथि पुगेको छ ।
यस्तै, उपल्लो मुस्ताङको लोमान्थाङ ,चराङ र घमीलगायतमा संञ्चालित अधिकांश होटल पनि बन्द छन् । मुक्तिनाथका अधिकांश होटल भने खुल्लै रहेको पर्यटन व्यवसायी मानबहादुर थकालीले जानकारी दिए ।
हिउँ पर्न रोकिए पनि बेजोडको उत्तरी हावा चल्ने र अत्याधिक जाडो बढेकाले सदरमुकाम जोमसोम बजारमा मानिसको आउजाउ पातलिएको छ । संघीय सरकारअन्तर्गतका संघ ,प्रदेश र स्थानीय तहका कर्मचारीको उपस्थित अत्यन्तै न्युन छ भने सेवाग्राहीको उपस्थित समेत देखिदैन ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको प्याकेज २,३ र ४ वटा खण्डमा केही उपकरणले सडक फराकिलो पार्न रककटिङको काम गरेपनि अन्य कार्यालयहरुको भौतिक पूर्वाधार विकासको काम ठप्पै भएको हो ।
जिल्लास्थित कार्यालयका कर्मचारी तालिम ,सेमिनार ,गोष्ठी र बिदाको बहाना बनाएर जाडो छल्न बेसी झरेको बुझिएको छ । केही कार्यालयका प्रमुखले आलोपालो मिलाएर बेसी झरेको जनाइएको छ। त्यसो त हिउँदयाम लागेपछि कतिपय स्थानीय तहका जनप्रतिनिधि पनि जाडो छल्न बेसी झर्ने गरेका छन्।
जिल्लाको घरपझोङ ,वारागुङ र थासाङ गाउँपालिकाका कार्यालयमा केही कार्यालय सहयोगी र आशिंक कमृचारीले पालिका धानेर बसेका छन् भने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले नागरिकलाई अतिआवश्यकीय सेवा उपलब्ध गराउन पोखरामा सम्पर्क कार्यालय खोलेको लोमान्थाङका अध्यक्ष सुबर्णकुमार बिष्टले जानकारी दिए ।
उनले जिल्लामा जाडो र हिमपातका कारण अधिकाँश स्थानीयबासी बेशी झरेको र जाडोले गर्दा विकासका काम ठप्प भएको जनाए । बर्खायाममा दैनिक सयौंको संख्यामा सवारी आउजाउ गर्ने मुस्ताङमा यतिबेला दैनिक १५ वटा भन्दा कम सवारी भित्रिने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै , पोखरा-जोमसोम हवाई सेवाको उडान घटेर २ वा १ उडानमा सीमित भएको छ ।
यस्तै, मौसम प्रतिकुलका कारण एकसाता अघिदेखि पोखरा÷जोमसोम हवाई उडान प्रभावित भएको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए । उनका अनुसार पर्यटक वर्षको पछिल्लो दिनदेखि जोमसोममा प्लेन आउन नसकेको बताए।
पर्यटन वर्षको पहिलो साता २ सय ४४ जना पर्यटक
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सुरु भएपछि मुस्ताङमा २ सय ४४ पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोम चेकपोष्टका अनुसार म्याग्दी हुँदै जोमसोम आएका १ सय ९७ पर्यटक मध्ये ३३ जना पश्चिमेलीमुलका छन् भने अरु सबै भारतीय पर्यटक छन् ।
यस्तै ,राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत मनाङ हुँदै मुस्ताङमा ४७ जना पर्यटक भित्रिएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए ।
गत वर्षको जनवरी महिनाको पहिलो साता ८९ जना पर्यटक मुस्ताङ भित्रिएका थिए भने ६७ जना पर्यटकले राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आएको कार्यालय प्रमुख दाहालको भनाई छ । दाहालका अनुसार गत वर्षको तुलनामा यसवर्षको पहिलो साता दोब्बर पर्यटक बढेको हो भने राउण्ड अन्नपूर्ण गर्ने पर्यटक चौथाइले घटेको हो । सन् २०१९ को जनवरीमा ५ सय ८ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । सन् २०१८ भन्दा सन् २०१९ मा २ हजार २ सय पर्यटक घटेको हो ।
मुक्तिनाथ सडकमा २ फिट हिउँ
मुस्ताङको प्रमुख पर्यटकीय धार्मिककेन्द्र मुक्तिनाथ सडकमा २ फिट हिउँ जमेको छ भने मुस्ताङका डाँडाकाँडा सेताम्मे बनेका छन् । कालोपत्रे सडक माथि बाक्लो हिउँ जमेकाले मुक्तिनाथ सवारी आउजाउ कठिन बनेको हो । जोमसोमबाट छुट्ने गरेका फोर ह्वील जीप जोखिम मोलेर मुक्तिनाथ पुग्छन् भने टु ह्वील जीप र बस चल्न सकेका छैनन्।
हिउँले सडक चुनौति बनेपछि मुक्तिनाथ जाने तिर्थालुले दोब्बर भाडा तिर्नुपर्ने बाध्यता आएको हो । ६ दिनअघि हिउँ पर्दा कागबेनी बाटै घोडाले तिर्थालु ओसार÷पोसार गरेका थिए । यस्तै ,मुक्तिनाथ परिसरको १ सय ८ धारा र २ वटा स्नानकुण्डको पानी ठण्डीले जमेको छ । तिर्थालुले दर्शनअघि चोखिनका लागि कुण्ड र धारामा स्नान गर्ने चलन रहेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुबेदीले उल्लेख गरे ।
यस्तै ,चिसो मौसमकै कारण जोमसोम अस्पतालमा बिरामीको संख्या भने घटेको छ । पर्यटक ,स्थानीय र कर्मचारीको संख्या न्युन भएकाले बिरामीको संख्या घटेको अस्पतालले जनाएको छ । मुस्ताङमा दोश्रो पटक हिमपातले स्थानीयको दैनिकीमा प्रतिकुल असर पुगेको छ ।
पोखरा-जोमसोम उडान प्रभावित
हिमपात र हावाहुरीले पोखरा-जोमसोम हवाईसेवा लगातार ९ दिन अघिदेखि उडान हुन सकेको छैन । भिजिट नेपाल २०२० पछिको जनवरी २ देखि ९ तारिखसम्म उडान हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । यस्तै ,विद्युत आपूर्ति ,संञ्चार सेवा र यातायात आवागमन प्रभावित बनेको हो । जोमसोमका बैंक तथा वित्तीय संस्था र कार्यालय प्रभावित भएका छन्।