जिल्ला सभापतिलाई देउवाको प्रतिप्रश्न : बैठकमा मलाई किन नबोलाएको ?

जिल्ला सभापतिलाई देउवाको प्रतिप्रश्न : बैठकमा मलाई किन नबोलाएको ?

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दिन जिल्ला सभापतिको भेला चल्यो। संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला डाकेको थियो। पार्टीलाई एकलौटी सञ्चालन गर्न खोजेको आरोप देउवामाथि छ। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश जिल्ला सभापतिले देउवाको आलोचना गरे। देउवामाथि दबाब दिने निर्णयसहित भेला सकियो।

देउवाले भने आफूविरुद्धको मोर्चाबन्दीमा सहभागी जिल्ला सभापतिलाई ‘लन्च मिटिङ’ का लागि घरमै बोलाए। उनीहरू भेलाको निर्णय बोकेर बिहीबार बूढानीलकण्ठ पुगे। धेरैलाई लागेको थियो- सानेपाको चर्काचर्की देउवा निवासमा दोहोरिनेछ। तर, बूढानीलकण्ठको बिहीबारको दृश्य फरक थियो।

‘यति धेरै जिल्ला सभापतिको भेला काठमाडौंमा भयो। म पनि आउँथें नि ! तपाईंहरूका कुरा सुन्थें। कसरी अगाडि जाँदा पार्टी बलियो हुन्छ भनेर एकै ठाउँमा बसेर छलफल गर्दा राम्रो हुन्थ्यो। तर, तपार्इंहरूले मलाई किन बोलाउनु भएन? ’, देउवाले जिल्ला सभापतिहरूसँग प्रश्न गरे।

असन्तुष्ट पक्षको भेलाप्रति देउवा रुष्ट भएको समाचार आए पनि बिहीबार त्यस्तो नपाएको बैठकमा सहभागी कास्की जिल्ला सभापति कृष्ण केसीले बताए। ‘उहाँ खुसी मुडमा देखिनुभयो। सुरुमा आफ्ना कुरा राख्छु अनि तपाईंका कुरा सुन्छु भन्नुभयो’, उनले भने, ‘सुरुमै आफूलाई किन नबोलाएको भनेर प्रश्न पो गर्नुभयो।’

वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले बोलाएकाले काठमाडौं आएको जवाफ जिल्ला सभापतिले दिएका थिए। ‘सभापतिको कुराले हामीलाई छोयो। उहाँले गम्भीर मुद्रामा ती कुरा राख्दा पार्टी सभापतिलाई खबर नगरेर हामीले गल्ती गरेजस्तो लाग्यो’, केसीले भने, ‘हामीलाई चाहिँ केन्द्रीय कार्यालयमै भएकाले सभापति आउनुहोला भन्ने लागेको थियो भनेर उहाँलाई सुनायौं।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, महाधिवेशनका लागि विधानका कतिपय धारा निलम्बन, विभाग संख्या बढाउनेलगायत निर्णय गरेपछि पौडेल पक्ष रुष्ट थियो। भेलामा जिल्ला सभापतिहरूले बहुमतबाट गरिएको निर्णय नसच्याए केन्द्रीय कार्यसमितिको निर्णय अवज्ञा गर्ने चेतावनी दिएका थिए।

सभापति देउवाले महाधिवेशन मिति यथावत् राखेर बाँकी सबै विषय सच्याउन तयार रहेको बताएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए। ‘छलफल एकदमै सकारात्मक भयो। महाधिवेशन समयमै गर्न आवश्यक सबै विषयमा छलफल गर्न म तयार छु भनेर सभापतिज्यूले भन्नुभयो’, केसीले भने, ‘बैठकले सबै नेता मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ।’

देउवाले शीर्ष नेताहरूसँग बसेर आन्तरिक विवाद चाँडै मिलाउने वचन दिएका छन्। देउवाले जिल्ला तहमा पनि पार्टीभित्र एकताका लागि पहल गर्न जिल्ला सभापतिलाई आग्रह गरेका थिए। जिल्ला सभापतिसँगको छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए। निधिले यसअघि पार्टीभित्र सहमतिका लागि भएका छलफलबारे जानकारी गराएका थिए भने महामन्त्री खड्काले पार्टी विधान र नियमावलीबारे स्पष्ट पारेका थिए।

तीन घण्टा चलेको छलफलले पार्टीभित्रको कटुता अन्त्य गर्न महत्‍वपूर्ण योगदान गरेको जिल्ला सभापतिहरूको बुझाइ छ। ‘सबैभित्र रहेका कटुता अन्त्य गर्न सभापति देउवासँगको भेट महत्‍वपूर्ण भयो’, कास्की सभापति केसीले भने। देउवासँगको छलफलमा २५ जिल्ला सभापति उपस्थित थिए। प्रवक्ता शर्माले १४ औं महाधिवेशन सहमतिमै हुने बताए। उनले भने, ‘सभापतिज्यू सबैलाई मिलाएर पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्छ भन्नेमा दृढ हुनुहुन्छ।’

जिल्ला सभापतिहरूले महाधिवेशनमा सबै जना पार्टीको वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक तथा आरक्षण कोटामा एक व्यक्ति, एकपटक मात्रै अवसरको व्यवस्था लागू गरिनुपर्ने माग देउवासँग राखेका थिए। देउवालाई बुझाइएको परामर्शपत्रमा भनिएको छ, ‘पार्टीको महाधिवेशन पूर्ण बैठकले गरिनुपर्ने स्थापित मान्यता र परम्पराविपरीत पुस ११ गते बहुमत केन्द्रीय सदस्यले एकलौटी रूपमा १४ औं महाधिवेशन कार्यतालिका, विधानको धारा निलम्बन, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप, विभाग संख्या बढाउनेलगायतका निर्णय सच्याएर पार्टीभित्रको विवाद अन्त्य गरिनुपर्छ।’ त्यस्तै क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्न जिल्ला सभापतिहरूले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.