दसगजाबासीको पीडा
भद्रपुर : रातको करिब ९ बजिसकेको हुन्छ। नेपाल भारत सीमा अर्थात ‘दसगजा’ छेउमा रहेका घरमा धिपधिप बत्ती बलिराखेको छ। साना बच्चालाई सुताउन सबैलाई चटारो हुन्छ। भर्खरका युवायुवतीदेखि वृद्ध महिला पुरुषहरू मटर, सुपारी, मरिचलगायतका सामान भारत पुर्याउन तयारी अवस्थामा बस्छन्। यो दैनिकी दसगजा आसपास क्षेत्रमा बस्ने मजदुरहरूको हो।
यो दृश्य हो नाटक ‘दसगजा’को। परिवर्तन थियटर, काँकडभिट्टाको प्रस्तुति रहेको नाटक पुस १७ देखि सुरु भई २६ गतेसम्म टाउन हलमा मञ्चन भइरहेको छ।
सीमा आसपासका बस्तीको मुख्य आयआर्जनको स्रोत नै सामान तस्कर गरेर भारततिर पुर्याउँदा आउने दुई चार पैसा नै हो। उनीहरूलाई मुख्य नाइकेले एक ठाउँमा च्यानल मिलाएर भेला पारेर राखेको हुन्छ। त्यत्तिकैमा स्थानीय नाइकेको हातमा भएको मोबाइलमा घण्टी बज्छ।
‘च्यानल मिल्यो’ भन्नका लागि उक्त फोन आएको हुन्छ। नाइकेले च्यानल मिल्यो ल सामान छिटो बोक भनेपछि उर्लंदो भेल होस् कि हिउँदको खोला होस्। उनीहरू बोरा बोकेर बाटो कटाउन लागि पर्छन्। कहिले नेपाल प्रहरी त कहिले भारतीय प्रहरीले पक्रेर कुट्नु कुटेको हुन्छ। बल्लबल्ल आफ्नो ज्यान धरापमा राखेर काम गर्ने ती मजदुरहरूलाई नाइकेले पैसा दिन निकै आनाकानी गरेको हुन्छ। एकदिन भारी बोकेनन् भने उनीहरूको छाक टर्दैन। त्यसैले, जोखिम मोलेर भारी बोक्न उनीहरू बाध्य हुन्छन्।
नाटकका निर्देशक घिमिरे युवराज भन्छन्, ‘दुई देशका सिमाना छेउका बस्तीहरूको जीविकोपार्जनको माध्यमका बारेमा र आयस्रोतको विषयमा राज्यलाई राम्रो थाहा छ। उनीहरूले गरिरहेको मजदुरीका मालिक को हुन् भन्ने कुरा पनि राज्यलाई थाहा छ। यद्यपि मजदुरका मालिकलाई समाजसेवीमा गनियो भने मजदुरलाई तस्करको संज्ञा दिइयो।’ यस पक्षलाई उजागर गर्न नाटकको कथावस्तु बनाइएको हो।
नाटक झापाका पत्रकार पर्वत पोर्तेलले लेखेका हुन्। नाटककार पोर्तेल भन्छन्, ‘दसगजामा बस्दा देखिएका वास्तविक कुराहरू नै नाटकमा उतारिएको छ।’