अन्ततः हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी

अन्ततः हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी

हेटौंडा : अन्ततः हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी हुने भएको छ। बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन्। राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो। प्रदेश ३ संसदीय दल बैठक शुक्रबार हेटौंडाका विषयमा सहमतिमा पुगेको हो।

चार दलको एउटै मत

३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दल राजधानी हेटौंडा बनाउन एकै ठाउँ उभिएका छन्। मुख्यन्त्री निवासमा शुक्रबार राति भएको सर्वदलीय बैठकमा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्त उक्त निचोडमा पुगेका हुन्।

बागमती नाम राख्न भने सबै दल सहमत छन्। नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले स्थायी राजधानीबारे आफूहरू सकारात्मक रहे पनि निर्णय शनिबार बिहान मात्र दिने बताए। साझा विवेकशीलका प्रदेशसभा सदस्य रमेश पौडेलले पनि शनिबार बिहान मात्र आधिकारिक धारणा दिने बताए।

बैठकमा नेकपा प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, नेकपा नेता शालिकराम जम्कट्टेल, दीपक निरौला, नेमकिपाका गोसाईं, विवेकशील साझाका पौडेल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ सहभागी थिए। प्रदेशसभामा १ सय १० सदस्यमध्ये नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र छन्।

नेकपा पुग्यो निचोडमा

६ दिनको मतमतान्तरपछि नेकपा निचोडमा पुगेको छ। ‘६ दिनमा पाँचवटा बैठक भए, सबै माननीयले आफ्नो मत राख्नुभयो। हामी अन्ततः हेटौंडा स्थायी राजधानी र नाम बागमती राख्ने निर्णयमा पुगेका छौं’, बैठकपछि मुख्यमन्त्री पौडेलले भने, ‘पुस २७ गतेभित्र मतदान प्रक्रियाबाट प्रदेशसभाबाट नाम र राजधानी टुंगो लाग्नेछ।’

नेकपा केन्द्रीय सचिवालयले राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएको थियो। प्रदेशसभा सदस्यबीच एकमत बनाउन पुस १८ गते प्रदेश संसदीय दल बैठक सुरु भएको थियो। ६४ प्रदेशसभा सदस्यले धारणा राखेपछि प्रदेशभित्रका नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद, प्रदेशका मन्त्री र प्रदेश कमिटीका पदाधिकारीले बैठकमा व्यक्त धारणा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सुनाएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेशका नेताको कुरा सुनेपछि अध्यक्षद्वय ओली र दाहालले सचिवालयको निर्णय परिवर्तन नहुने भन्दै पुनः स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएका थिए। दुवै अध्यक्ष अडानमा रहेपछि असन्तुष्ट नेता पनि सचिवालयको निर्णय मानेर अघि बढ्न तयार भएका हुन्।

प्रदेश संसदीय दलले प्रदेशसभामा स्थायी राजधानी र नाम एउटा मात्र प्रस्ताव लैजाने निर्णय गरे पनि पार्टीभित्र प्रदेश सांसदले लिखित फरक मत राख्न पाउनेछन्। ‘सबै साथीले स्वतन्त्र रूपमा मत राख्नुभएको छ। कसैको फरक मत भए लिखितै राख्ने छुट दिएका छौं, त्यो पार्टी सम्पत्तिका रूपमा रहनेछ’, नेकपा प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले भने, ‘प्रदेशसभामा भने फरक मत राख्न पाइँदैन। नाम र राजधानीको एउटै मात्र प्रस्ताव जान्छ। निर्णय नै एकप्रकारको ह्विप हो।’

प्रदेशसभा सदस्य एवं नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले केन्द्रीय सचिवालयको निर्णय सुरुमा चित्त नबुझे पनि सबैले धारणा राखेपछि एउटै नाम र राजधानीको प्रस्ताव अघि बढाउन सहमत भएको बताइन्। ‘यो निर्णय र साथीहरूको फरक मत पार्टी सम्पत्तिका रूपमा रहन्छ। हामी केन्द्रीय सचिवालयमा पनि पठाउँछौं’, उनले भनिन्, ‘अब नाम र राजधानीबारे कसैको असहमति छैन।’

असन्तुष्टि उत्तिकै

असन्तुष्ट सांसदले स्थायी राजधानी काभ्रे हुनुपर्ने भन्दै प्रदेश संसदीय दलमा फरक मत राख्ने तयारी गरेका छन्। त्यसका लागि हस्ताक्षर संकलन जारी रहेको काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले बताए। ‘हामीले काभ्रे स्थायी राजधानी हुनुपर्ने फरक मत हस्ताक्षरसहित संसदीय दलका नेतालाई बुझाउनेछौं’, उनले भने।

नामबारे पनि प्रदेश संसदीय दलमा फरक मत दर्ता भएको छ। प्रदेश ३ को नाम नेवा ताम्सालिङ र नेपाल मण्डल हुनुपर्ने भन्दै फरक मत दर्ता गराइएको प्रदेशसभा सदस्य ओम घलानले बताए। ‘हामीले नेवा ताम्सालिङ नाम हुनुपर्छ भनेर पार्टीभित्र फरक मत दर्ता गराएका छौं’, उनले भने, ‘केही साथीहरूले नेपाल मण्डल हुनुपर्छ भनेर फरक मत दर्ता गराउनुभएको छ।’

स्रोतका अनुसार पूर्वमाओवादी पक्षका केहीले नेवा ताम्सालिङ र पूर्वएमाले पक्षका केहीले नेपाल मण्डल नाम हुनुपर्ने माग गरेका हुन्।

प्रस्ताव दर्ता आज

प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न शनिबार बिहान ९ देखि ११ बजेसम्म समय तोकेको छ। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्लामध्येबाट प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन्। कार्यविधिअनुसार एक प्रदेशसभा सदस्य प्रस्तावक र दुई जना समर्थक रहेर राजधानी र नाम छुट्टाछुट्टै प्रस्ताव दर्ता गराउन पाउनेछन्।

दर्ता भएको प्रस्तावबारे शनिबारै छलफल हुनेछ। बैठकको अन्त्यमा सभामुखले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन मतदानको मिति र समय घोषणा गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आइतबारै स्थायी राजधानी र नाम टुंगो लगाउन मतदान गर्ने प्रदेशसभा सचिवालयको तयारी छ।

प्रस्ताव निर्णयार्थ पेस भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहितको मतविभाजनपछि मतपरिणाम घोषणा हुनेछ। राजधानी टुंगो लागेपछि सोही विधिद्वारा नाम टुंगो लगाइनेछ।

शुक्रबारको बैठकमा विशेष समितिको प्रतिवेदनबारे प्रदेशसभा सदस्यले बोल्ने क्रम सकिएको थियो। समिति सभापति दीपक निरौलाले प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए।

एउटै प्रस्ताव दर्ता हुने सम्भावना

विशेष समितिले मकवानपुर, काभ्रे, चितवन, भक्तपुर र नुवाकोट स्थायी राजधानीका लागि उपयुक्त हुने सिफारिस गरेको थियो। नेकपा प्रदेश संसदीय दलको बैठकपछि अब नेकपाबाट स्थायी राजधानीका लागि हेटौंडा मात्र प्रस्ताव दर्ता हुने सम्भावना छ।

प्रदेश ३ को नामका लागि प्रदेशसभामा नेवा ताम्सालिङ, गौरीशंकर र नेपाल मण्डल दर्ता भएको थियो। अब कार्यविधिअनुसार भने बागमती नाम मात्र दर्ता हुने सम्भावना छ। ‘नेकपाको निर्णपछि हामी फरक स्थान र नाम दर्ता गर्ने वा नगर्ने भन्नेबारे छलफलमै छौं, शनिबार बिहानसम्म निर्णय लिन्छौं’, साझा विवेकशीलका प्रदेशसभा सदस्य पौडेलले भने।

कांग्रेसले हेटौंडाका लागि ह्विप लगाउने

प्रदेशको राजधानी र नाम टुंगो लगाउन कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ह्विप लगाउने निर्णय गरेको छ।

हेटौंडामा शुक्रबार साँझ बसेको दलको बैठकले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने र प्रदेशसभाबाट पारित गर्न ह्विप लगाउने निर्णय गरेको दलका नेता इन्द्र बानियाँले बताए। ‘हामीले हेटौंडा प्रदेशको राजधानी र नाम बागमती बनाउने सर्वसम्मत निर्णय गरेका छौं’, उनले भने, ‘निर्णय प्रक्रियाका क्रममा प्रदेशसभामा मतदान गर्दा हाम्रा सदस्यहरूलाई ह्विप लगाउँछौं।’

        


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.