सखियै हो, माघीक् पिलि गुरी जाँर

सखियै हो, माघीक् पिलि गुरी जाँर

माघेसंक्रान्ति आम नेपालीको पर्व हो। त्यसमा पनि पश्चिमा थारू समुदायले मनाउने खास पर्व हो। थारू समुदायले माघीलाई स्थान विशेषअनुसार माघ, खिचरा, खिचरी, तिला संक्राइत पनि भन्छन्। थारू समुदायमा कसैले यसलाई नयाँ वर्षको रूपमा पनि नामकरण गर्छन्। खासमा माघी नयाँ आर्थिक वर्ष भने पक्कै हो। किनकि गएको वर्षको व्यक्तिगत, सामूहिक हरहिसाबको फरफारक यसै अवसरमा हुन्छ।

माघीमा गाउँको अगुवा बरघर चुनिन्छ। गाउँका प्रत्येक घरका एक सदस्य अनिवार्य उपस्थित ख्याल (भेला)ले उही बरघरलाई निरन्तरता दिने कि नयाँ चयन गर्ने म्यान्डेट दिन्छ। कामकारबाहीका क्रममा बरघरले कुनै गल्ती गरे सचेत पनि गराइन्छ। बरघरलाई स्थान विशेषअनुसार ककनडार, भलमन्सा, महटाँवा पनि भनिन्छ। उसकै नेतृत्वमा गाउँ सञ्चालनका लागि मौखिक नियम तय गरिन्छ। जस्तो सिँचाइका लागि झलारी (कामदार)को व्यवस्थापनदेखि चौपायाले बिगार गरे के कति दण्ड जरिवाना लिनेसम्मको नियम बन्छ। त्यस्तै गाउँको रखवारीका लागि चौकीदार, गाउँको मरुवा (देउथान)मा पूजा गर्ने चिराकीदेखि हलो फाली बनाउने लोहारसम्म माघीमा चुनिन्छन्।

गाउँ समुदायको मात्रै होइन, परिवारको गर्ढुरिया (घरमूली) को बन्ने भन्ने छलफल, घरसल्लाह पनि यही माघीमा हुन्छ। प्रायः जेठो भाइ घरमूली हुन्छ। तर उसको कामप्रति चित्त नबुझे अरू भाइले अगुवाइ गर्छन्। कुरा नमिले छुट्टिन्छन्। भाइ भाइ अघिपछि झगडा गरेको देख्दा अभिभावकले भन्छन्, ‘किन बेमौसममा झगडा गर्छौ, बरु माघी आएपछि अलग हुनु।’ माघीबाहेक अघिपछि छुट्टिएको परिवारलाई राम्रो नजरले हेरिँदैन। यसरी मघौटा नाचको माहोलमा अलग हुने परिवारको माघी भने खल्लो हुन्छ।

सहर पसेको माघी

२०५९ सालमा सरकारले थारू समुदायको पर्व माघीमा बिदा दिने निर्णय गरेपछि माघी थारू गाउँको घेरा पार गरेर सहर पसेको छ। अझ केही वर्षयता सात समुद्रपारि समेत माघी महोत्सवकै रूपमा मनाउन थालिएको छ। माघीको अवसरमा गरिने मेला, महोत्सवमा थारू नृत्यको झंकारसँगै थारू परिकारले राम्रै व्यापार गर्न थालेको छ।

सहर पसेको माघीले बाहिरी झकिझकाउको आवरण त पाएको छ तर पर्वको मौलिकता भने गाउँमै छाडेर आएको छ। काठमाडौं उक्लिएपछि यो पंक्तिकारको गाउँको माघी छुटेको छ। छ त केवल माघीको मीठो अग्र्यानिक सम्झना मात्र।

गाउँको माघीले साथीभाइ र इष्टमित्रसँग भेटघाटमा जोड्छ। किनकि गाउँ जतिसुकै ठूलो किन नहोस्, माघ १ गते नुहाएपछिको बिहान गाउँको प्रत्येक घरमा पस्दै साइनोअनुसार सेवाढोग गरिन्छ। माघीको सबैभन्दा ठूलो सौन्दर्य यही हो कि पानी बाराबार भएको छिमेकीकहाँ गएर बोलीवचन साटिन्छ। यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। त्यसैले माघीलाई मेलमिलापको दिनका रूपमा पनि लिइन्छ। तर सहरकेन्द्रित महोत्सवमा स्टलमा राखिएको खानेकुरा (खासगरी रक्सी, मासु) अनि मञ्चमा प्रदर्शित नाचमै दर्शक मक्ख परेर बस्छ। अनि कहाँको भेटघाट नवीकरण हुनु ? त्यसैले सहरको माघी कृत्रिम हुन्छ।

माघीमा ढमार र ढुम्रु विशेष गीतका रूपमा गाइन्छ। तर यो गीत पुस्तान्तरण हुन सकेको छैन। मघौटा नाचमा साली भाटु (भिनाजु) बीचको प्रणय प्रसंगलाई मात्रै गायकहरूले बढी प्राथमिकता दिइरहेका छन्। त्यसैले धमार गीतमा निहित समाजशास्त्रीय प्रसंग ओझेल पर्दै गएको छ।

२०५७ साउन २ गते कमैया मुक्तिको घोषणा अघिसम्म कमैया, कम्लहरीहरू माघीमा करिब एक साता विशेष छुट्टी पाउँथे। ऋण नभएका कमैयाहरू मालिक फेर्थे। अथवा काम नगर्न स्वतन्त्र हुन्थे। यसरी यसलाई मुक्ति दिवसको रूपमा पनि लिइन्थ्यो।

माघी लहान अर्थात् माघ १ गते बिहानै स्थानीय जलाशयमा सामूहिक रूपले नुहाउन जाने अनि जलदेउतासँग आफ्ना दुःखसुख सुनाउने गर्छन्। नुहाइ सकेर पीठो या चामलको टीका लगाउँछन्। यसरी थारू समुदायमा सेतो टीका लगाउने चलन छ। तर सहरमा माघेसंक्रान्तिमा नुहाउने परम्परा हराएको छ, सेतो टीका धारण गर्ने त परको कुरा।

नुहाएर घरमा आएपछि पाँच औंलाको छाप पर्ने गरी ‘निस्राउ’ छुने चलन छ। निस्राउमा चामल, मासको दाल र नुन हुन्छ। यसमा थपथाप गरी विवाहित चेलीबेटीलाई उपहार पठाइन्छ। निस्राउको मौलिक चलन छाडेर थारू समुदाय अहिले भाइटीकामा पो लहसिएको छ।

माघमा सुँगुरको मासु, अन्डीको जाँर र लामो ढिक्री यी तीन परिकार अनिवार्य हुन्छ। लेखक छविलाल कोपिलाका अनुसार माघपछि समय लामो हुने भएकाले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा। अर्को तर्क माघमा लामो ढिक्री खाएपछि आयु लामो हुने जनधारणा पनि छ।

आजको दिन ससाना बालबालिका पनि निकै रमाउँछन्। उनीहरूले नयाँ लुगा पाउँछन्। माघीको पहिलो दिन नयाँ कपडा फेर्ने दिनका रूपमा पनि लिइन्छ। वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुर्खाहरू बताउँछन्।

माघीको दोस्रो दिन ‘खिच्रहवा’। यो दिन खिचडी खाएर गाउँको भेला आयोजना गरिन्छ। आजको दिन कसैले कसैप्रति पदीय विभेद गर्न पाउँदैन। अधियाँ खेती गर्ने किसानहरू जमिनदारकहाँ ‘करै’मा दारू लिएर जान्छन्। वर्षभरिको कामको समीक्षा गर्दै पुनः जिम्मेवारी नवीकरण गर्ने यस छलफललाई माघी डिवानी भनिन्छ। तर अधियाँ दिने बहानामा जमिनदारहरूले अहिले पनि अधेरुवाको छोरी कमलरी माग्ने, बेठबेगारी गराउने श्रमशोषण जारी छ।

तेस्रो दिन भुराखेल अर्थात् बृहत् बैठक गरी गाउँको अगुवा चयन गरिन्छ। बैठकमा गत वर्षमा भए गरिएका बाटोघाटो, कुलानाला, सडक, धार्मिक पूजापाठलगायत विकासको कामसम्बन्धी समीक्षा हुन्छ। वर्षौंदेखि एकै डेरामा बस्ने सहरिया आफ्नो टोलको सरसफाइ, विकासनिर्माणमा कुनै ध्यान दिँदैन। जब कि बरघरको अगुवाइमा करोडौंको विकासनिर्माण छपरगन्टी प्रणाली अर्थात् एक घरको एकजनाले अनिवार्य श्रमदान गर्नैपर्ने नियमले अघि बढेको छ। यसले आफ्नो गाउँ आफंै बनाऔं, सरकारको मुख ताकिराख्नु पर्दैन भन्ने सन्देश दिएको छ। स्थानीय सरकारले बरघरहरूसँगको सहकार्यमा गाउँलाई कायापलट गर्न सक्छ। तर जनप्रतिनिधिहरूको नजरमा बरघरहरू ओझेलमा छन्।

सहरको माघी मनोरञ्जन र खानपिनमा सीमित भएको छ। लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण बनाइने, वर्षभरिको समीक्षा गरिने भएकाले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी देखिन्छ। तर सहरमा यसबारे छलफल शून्य बराबर छ। यही पुस १८ को फेसबुक स्टाटसमा थरुहट नेता लक्ष्मण थारूको अभिव्यक्ति छ, ‘माघ पर्वमा खानपिन, टोलटोलमा नाचगान व्यापक तयारी राम्रै लाग्छ। टीकापुर घटनामा थारूहरू जेलमा छन्, संविधान हाम्रो लागि बनेन, आन्दोलन अधुरै छ।

शासकहरू यहि चाहन्छन् कि थारूलगायत आदिवासी जनजातिहरू आफ्नो चाडबाडमा केही हजार चन्दा मागून्, आफ्नै भेषभूषामा नाचून् गाऊन्। दुईचार पेग धेरै तानून्। रमाउँदा रमाउँदै राजनीतिक एकता, अधिकार र न्यायको कुरा गर्दै नगरून्। आशा गरौं, यसपटकको माघ मनाउँदा आन्दोलनको छलफल गरौं। अधिकार, न्यायको कुरा गरांै, माननीय रेशमलाल चौधरी र राजबन्दीहरूको कुरा गरौं।’ लक्ष्मणको अभिव्यक्ति निश्चय पनि मननीय छ। तर अहिले सहरको माघी बहसलाई तिलाञ्जलि दिएर खोेक्रो माघीमा रमाएको छ।

र, अन्तमा बर्दिया जोतपुरका सीताराम चौधरी विगत दुई दशकदेखि कीर्तिपुर बस्दै आएका छन्। कीर्तिपुरको पाँगामा बरघर रेस्टुरेन्टसमेत सञ्चालन गरेका उनी सुरुदेखि कीर्तिपुर बसोबास गर्ने थारूहरूको सर्वसम्मत बरघर रहेका छन्। उनको अगुवाइमा कीर्तिपुर बस्ने थारूहरू एकजुट छन्। कीर्तिपुरमा जस्तै बरघर प्रणाली सहरमा पनि भिœयाउन सके मात्र माघीले सार्थकता पाउला। नभए माघी उही साली भाटु गीतको ठुम्का, सुरिक सिकार र गुरी गुरी जाँडमा मात्र सीमित हुने खतरा छ।

@ksarbahari


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.