पाम आयात प्रतिबन्ध कुनै मुलुक लक्षित होइन : भारत

पाम आयात प्रतिबन्ध कुनै मुलुक लक्षित होइन : भारत

नयाँ दिल्ली : पाम आयल आयातमा लगाइएको प्रतिबन्ध कुनै मुलुक विशेषलाई लक्ष्य नगरिएको भारतीय विदेश मन्त्रालयले बताएको छ। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘कुनै मुलुक विशेषलाई लक्ष्य गरेर यो प्रतिबन्ध लगाइएको होइन। कुनै वस्तु विशेषको आयातमा कडाइ गर्न लगाइएको हो।

नेपालको समग्र निर्यातको करिब २४ प्रतिशत हिस्सा ओगटेको पामको आयातमा भारत सरकारले प्रतिबन्ध लगाएपछि नेपाललाई पर्ने असरबारे अन्नपूर्णले राखेको जिज्ञासामा रविशले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘यो भारत सरकारको व्यापार नीतिको कुरा हो। त्यसमा पनि आयात प्रतिबन्ध गरिएको हो, बन्द नै गरिएको होइन’, उनले स्पष्ट पार्दै भने। उनले यसले नेपालको व्यापार प्रभावित गर्ने कुरालाई तत्काल निर्णयमा पुग्न नहुने कूटनीतिक जवाफ फर्काएका छन्।

भारत सरकारको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो।

विदेश मन्त्रालय स्रोतका अनुसार भने यो प्रतिबन्धले नेपालको निर्यातलाई प्रभावित नगर्ने दाबी गरेको छ। यो प्रतिबन्धपछि भारतीय आयातकर्ताले पाम आयल आयात गर्दा आयात गर्ने मुलुकबारे भारतीय वैदेशिक व्यापार महानिर्देशनालयबाट अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ। स्रोतले भन्यो, ‘यस्तो स्वीकृति लिँदा नेपालबाट आयात हुने प्रशोधित पाम आयलमा रोक लगाउने भारतको मनसाय छैन।’

भारतीय विदेश मन्त्रालय स्रोतले नेपालको निर्यातलाई असर नपर्ने दाबी गरे पनि अति कम विकसित मुलुकलाई दिँदै आएको सुविधालाई उपयोग गरेर नेपाल र बंगलादेशबाट हुने आयातलाई नियन्त्रण गर्नुपर्ने भारतीय वनस्पतीजन्य उद्योगलाई प्रवद्र्धन गर्न स्थापित संस्था दी सोलभेन्ट एक्स्ट्रयाक्टर्स एसोसिएसन अफ इन्डिया (एसईए)ले २०१९ अक्टोबरमा प्रधानमन्त्री मोदी तथा वित्तमन्त्री निर्मला सीतारमणलाई सुझाव दिएको थियो। फाइनान्सियल एक्सप्रेसमा अक्टोबर १९ मा प्रकाशित समाचारअनुसार सार्क सदस्य मुलुकमध्ये शून्य भन्सार दरको सुविधालाई उपयोग गरेर नेपाल र बंगलादेशबाट अत्यधिक मात्रामा खाद्य तेलको आयात भइरहेको भन्दै सरकारले यसमा हस्तक्षेप गर्नुपर्ने सुझाव एसईएले दिएको थियो।

यो समाचारलाई आधार बनाएर हेर्दा अन्य मुलुकले शून्य भन्सार दरको सुविधा पाएको नेपालको भूमि प्रयोग गरेको अथवा नेपालका व्यवसायीले यो सुविधाको अनधिकृत लाभ उठाएको विषय भारतले नियालिरहेको देखिन्छ। भ्यालू एडका विषयमा पनि भारतको आपत्ति हुन सक्ने नेपालतर्फका अधिकारीहरूको भनाइ छ।

भारतस्थित नेपाली दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले भने यो विषयमा छलफल गरेर भारतीय पक्षसँग कुरा गर्ने बताए। उनले भने, ‘यो प्रतिबन्धले नेपालको निर्यातको ठूलो हिस्सा प्रभावित हुन्छ। यस विषयमा चुरो कुरा बुझ्न बाँकी छ त्यसपछि विदेश मन्त्रालयमार्फत सम्बन्धित मन्त्रालयसम्म कुरा गर्छौं।’

भारतीय सञ्चारमाध्यम भन्छन्, ‘मलेसिया लक्षित’

यद्यपि भारत सरकारले प्रशोधित पाम तेलको मुख्य आयातकर्ता मुलुक मलेसियालाई लक्ष्य गरेर यो प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बिहीबार प्रकाशित दी इकोनोमिक टाइम्समा रोयटर्सलाई उद्धृत गर्दै छापिएको समाचारमा यो प्रतिबन्ध मलेसियालाई लक्ष्य गरेर ल्याइएको उल्लेख छ। समाचारमा भनिएको छ, ‘पाम तेल तथा पामेलियन प्रशोधित तेलको आयातमा प्रतिबन्ध लगाइएको हो। यसको अर्थ भारतले अब कच्चा तेल मात्र आयात गर्नेछ। त्यसैले यो प्रतिबन्धको प्रत्यक्ष असर मलेसियालाई पर्छ। तर, यसले इन्डोनेसियालाई भने फाइदा नै पुर्‍याउँछ। इन्डोेनेसियाबाट भारतले कच्चा तेल आयात गर्दै आएको छ।’

प्रधानमन्त्री मोदी कार्यालयको स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भर्खरै मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा भारतको आलोचना गरेपछि मोदी सरकारले मलेसियालाई निशाना बनाउन चाहेको थियो। महाथिरले भारत सरकारको जम्मु कश्मीर निर्णयबारे गत अक्टोबरमा आलोचना गरेका थिए भने भर्खरै सरकारले ल्याएको नयाँ नागरिकता कानुनको पनि आलोचना गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.