सैनिक र महेन्द्र बहुमुखी क्याम्पस उपाधि नजिक
भक्तपुर : भक्तपुरको सैनिक आवासीय महाविद्यालय र सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस भक्तपुरमा जारी बीबीए कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्। शनिबार भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै सैनिक र महेन्द्र बहुमुखी उपाधि नजिक पुगेका हुन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरका २३ कलेजहरुको सहभागिता रहेको प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा सैनिकले काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसलाई १-० गोलले हरायो। सैनिकको लागि खेलको ५० औं मिनेटमा विजय घलेले गोल गरेका थिए। खेलको निर्णायक गोल गरेका घले खेलको म्यान अफ दी म्याचसमेत घोषित भए।
त्यस्तै अर्को सेमिफाइनलमा महेन्द्र बहुमुखीले काठमाडौंकै शंकरदेव क्याम्पसलाई ३-२ गोलले हराउँदै फाइनलको यात्रा सुनिश्चित गर्यो।
विजेता महेन्द्रको लागि खेलको ३४ औं मिनेटमा खवाङ्ह राई, ५२ औं मिनेटमा सुदीप गुरुङ र ६५ औं मिनेटमा पेम्बा तामाङले एकएक गोल गरे। शंकरदेवको लागि ४० औं मिनेटमा कुमार अधिकारी र ७० औं मिनेटमा सविन कार्कीले एकएक गोल गरे। उक्त खेलमा महेन्द्रका खवाङ्ह राई म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण पुस २८ गते हुने प्रतियोगिताका संयोजक एवं भक्तपुर बहुमुखी क्याम्पसमा सहायक प्रमुख लक्ष्मीसुन्दर लवजूले जानकारी दिए।
प्रतियोगिताका विजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् भने उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिल्डफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टीमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ। अघिल्लो वर्ष कास्कीको पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको उपाधि भक्तपुर बहुमुखी क्याम्पसले जितेको थियो।