श्रीमान परदेशमा, शिशु हत्या आरोपमा आमा पक्राउ
राजविराज : सप्तरीमा सन्तानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। जन्मिएलगत्तै शिशु हत्या गरेको आरोपमा रूपनी गाउँपालिका-३ की २५ वर्षीया उमादेवी शर्मा पक्राउ परेकी हुन्।
हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको एसपी कृष्ण प्रसाइले बताए। बालिका शिशु जन्मिएपछि हत्या गरिएको हुन सक्ने प्रसाइले बताए। ‘आरोपितको गर्भबाट शिशु बालिका जन्मिएको मिति र वास्तविकता परिक्षण गर्न आरोपितलाई धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न पठाइएको छ।’
रूपनी गाउँपालिका-३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो। अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको स्थानीयवासीले बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। दुई छोराकी आमा रहेकी आरोपितका श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा छन्। पोखरीको छेउमा बाँसको ढकियासमेत फेला परेकोले सोही ढकियामा बालिका ल्याई पोखरीमा फालिएको स्थानीय बताउँछन्।