मनाङमा ढुवानी ठप्प
बेंसीसहर : भारी हिमपातका कारण हिमाली जिल्ला मनाङमा एक सातादेखि ढुवानी ठप्प छ । पुस १७ देखि मनाङमा हिमपात भएको थियो। अहिले हिमपात अलि पातलो भएको छ । तर, सडकमा बाक्लो हिउँ जमेको छ ।
तल्लो मनाङको नासो गाउँपालिका ९, दानक्युदेखि माथिल्लो क्षेत्रका सबै सडक तथा पदमार्गमा हिउँ जमेपछि पैदल यात्रासमेत कठिन भएको छ। एक सातायता यातायात सेवा ठप्प भएको छ । सवारीसाधन गुड्न नसकेपछि खाद्यान्न, निर्माण सामग्री लगायतको ढुवानी हुन सकेको छैन । माथिल्लो मनाङ क्षेत्रमा गत मंसिर २७ देखि चामेदेखि सवारीसाधन चल्न सकेका छैनन् । चार सातादेखि माथिल्लो क्षेत्रमा ढुवानी ठप्प छ ।
माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले हिमपातपछि ढुवानी ठप्प भएको बताएका हुन् । त्यस क्षेत्रमा पर्यटक पनि पुग्न सकेका छैनन्। आवश्यक खाद्यान्न हिउँ पर्नुअघि नै पुर्याइएको थियो। तरकारी भने अभाव भएको स्थानीयले बताएका छन्। मनाङको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार खाद्यान्न ढुवानी ठप्प छ भने सवारी गुड्न सक्ने अवस्था छैन ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार दानाक्युदेखि माथिल्लो क्षेत्रको सडक तथा पदमार्गमा हिउँ जमेको छ । हिमपातपछि मनाङको जनजीवन असहज बनेको उनको भनाइ छ। ‘रात र बिहानको समयमा तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ’, उनले जानकारी दिए। चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
स्थानीयका अनुसार अत्यधिक चिसोले सानासाना खोलाहरू जम्न थालेका छन्। राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्न थालेको छ। कहिलेकाँही पानी जमेर लघु जलविद्युत् आयोजना समेत बन्द हुने गरेको छ। ‘साँझ परेपछि पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन’, मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले भने, ‘खोलानाला जम्न थालेका छन्। धारामा पानी जमेर खस्न सक्दैन्।’
अत्यधिक चिसो बढेसँगै माथिल्लो मनाङ क्षेत्रका विद्यालय बन्द भएका छन्। स्थानीय बासिन्दा जाडो छल्न काठमाडौं र पोखरा झरेका छन्। माथिल्लो मनाङ, नारफूलगायत केही स्थानमा मंसिर १२ गते नै हिमपात भएको थियो।