‘पेरुंगो’ बोकेर रसिक

‘पेरुंगो’ बोकेर रसिक

इलाम : आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’

यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, ताराभन्दा सपना धेरै नामका पुस्तक र हालसालै प्रकाशनमा आएको छपक्कै मनमा बसेकाहरूलाई एउटै प्याकेजमा सांग्रिला बुक्सले प्रकाशनमा ल्याएपछि पाठकसँग ‘पुस्तक बहस’ मा जुटेका हुन्।

सानासाना कुरालाई पनि कलात्मक संयोजन गरेर लेख्न सिपालु रसिकले कथा, कविता, गीत, सस्मरण प्रकाशनमा ल्याएका छन् रसिक भन्छन्, ‘साना कुरा धेरैलाई केही लाग्दैन मलाई चाहिँ तिनै सानाकुरा झ्यालका काँटी कब्जा जस्तो लाग्छ।’ उनले रचनामा साना लाग्ने कुरालाई नै जोडेर आफ्नो समयको इतिहास लेखेका शर्माले टिप्पणी गरे।

दसगजामा उभिएर नामको संस्मरण पढ्दा मन नै ‘डगडग’ गर्ने शर्माले सुनाए। उनले भने ‘यी सिर्जनाहरू कसैलाई उपहार दिनका लागि समेत उपयुक्त छन्।’ कवि प्रकाश थाम्सुहाङ रसिकले साहित्यमा उम्दा धुन निकालेको बताउँछन्। उनले रसिकका समाजको चित्र भएको टिप्पणी गरे।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले उनका पुस्तकमा नेपाली समाजको चित्र पाएको बताए। भोजपुर जिल्लाको नौलागाउँमा २००४ साल असोज ४ जन्मेका रसिकले इलाममा विष्णु नवीनलगायतका साहित्यकारहरूसित साहित्य साधना सुरु गरेका थिए।

मूलतः लेखक तथा कथाकार भए पनि सर्वप्रथम लेकाली समूहबाट गायन क्षेत्रमा रसिकले आफ्नो पहिचान बनाएका थिए। रसिकका क्षितिजलाई छुन खोज्दा कथा संग्रह, एउटा सारंगीभित्र कथा संग्रह, रसिकका गीत संग्रह, बिलाउँदै गएको गीत कथा संग्रह, दसगजामा उभिएर कथा संग्रह, आकाश—गंगामुनिलगायतका उपन्यास मौलिक कृतिका रूपमा बजारमा आएका छन्।

उनले चोइटा, छाया–हस्तलिखित, नेपाली संस्कृति, उपत्यका सामयिक संकलन, सगरमाथा पाक्षिक सम्पादन गरेका छन्। विभिन्न पत्रपत्रिकाहरूमा कथा, कविता, गीत, नाटक, संस्मरण आदि प्रकाशित छन्।

२०१९ सालमा कविता प्रकाशन गरेर नेपाली साहित्य र संगीतको क्षेत्रमा देखा परेका रसिकले गीतकार, गायक र कथाकारको रूपमा चर्चित छन्। राल्फा, लेकालीजस्ता चर्चित सांगीतिक समूहमा आबद्ध यिनी लोक, आधुनिक तथा काव्यात्मक शब्दलाई समेत संगीतमा ढाल्न खप्पिस रहेको शर्माले बताए। ‘रातोभाले क्वाएँ क्वाएँ...’,ए भेडाबाख्रा...’, ‘घरबेटी नानी...’, ‘धन राख्ने धनसार...’, ‘घर छाडी परदेश लाग्दा...’, ‘याङजी नाना...’ लगायत यिनका चर्चित भाकाले नेपाली आकाश अहिले पनि गुञ्जिरहेका छन्।

रसिकले ‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ...’ लगायत केही देशभक्तिका गीत रचेका थिए, जुन कुनै समय स्कुलमा घोकाइन्थ्यो। उनका अनुसार यस्ता गीत राजाको दबाबमा रचिएका थिएनन्। पञ्चायतकै बेला रसिक रत्न रेकर्डिङमा दुई वर्ष र सांस्कृतिक संस्थानमा करिब साढे सात वर्ष महाप्रबन्धक बनेका थिए। बहुदल आएपछि पनि उनी दुई वर्ष साझा प्रकाशनका अध्यक्ष समेत भए।

भोजपुर, काठमाडौं हुँदै इलामको फिक्कल बसाइ सरेका यिनको परिचय कुनै एक विधामा मात्र सीमित छैन। करिब ५० गीतमा स्वर भरेका रसिकले झन्डै एक सय ५० भन्दा बढीमा संगीत दिएका छन्। संस्मरण र निबन्ध लेखनमा पनि उनले रामै उचाइ लिएका छन्।

अनवरत यात्राको फलस्वरूप रसिकले २०२८ मा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम पुरस्कार, वि.स. २०३४ मा रेडियो नेपाल संगीत प्रतियोगितामा उत्कृष्ट गीतकार, वि.स. २०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र गोदबा चौथोलगायतका पुरस्कार र सम्मान प्राप्त गरेका छन्। अहिले इलामको फिक्कलमा रेडियो फिक्कल चलाएर बसेका उनी अहिले भने पाठकसँग पुस्तक बहसमा व्यस्त छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.