देउवाले थाले सहमतिको पहल
काठमाडौं : कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतबार उनले छलफल गरेका हुन्।
पार्टीको विवाद समाधानका लागि शीर्ष तहमै संवाद गर्नुपर्ने दबाब बढेपछि उनले छलफलका लागि पौडेल र सिटौलालाई बोलाएका हुन्। ‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ। सहमतिका लागि पहल भइरहेको छ। चाँडो गृहकार्य गरेर टुंग्याउने भन्ने कुरा भयो,’ बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्नपूर्णसँग भने। उनले पार्टीभित्रको संवादहीनता अन्त गर्न सभापतिसँगको छलफलले सकारात्मक भूमिका खेलेको बताए। देउवाले बहुमतको आडमा पेलेर जान खोजेको भन्दै पौडेल र सिटौला समूहले पार्टीको केन्द्रीय समिति बैठकदेखि औपचारिक कार्यक्रमहरू बहिस्कार गर्दै आएका छन्।
महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्दै मंसिर २६ गतेदेखि सुरु केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको थियो। देउवाले पुस ११ को केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, स्थानीय र केन्द्रीय महाविधेशनका लागि पार्टीको विधानका केही धारा निलम्बन, विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउनुका साथै नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने निर्णय गराएका थिए। सहमतिबिनै सभापति देउवाले पार्टीलाई अगाडि बढाउन खोजेको भन्दै पौडेल र सिटौला पक्ष थप चिढिएको थियो।
पछिल्लो समय देउवा, पौडेल र सिटौलाबीच सामूहिक छलफल भएको थिएन। ‘सभापतिको पहलमा छलफल भयो। संवाद र सहमतिबाटै कांग्रेसभित्रको विवाद मिलाउने सहमति भएको छ,’ बैठकमा सहभागि कांग्रेस नेता रमेश लेखकले भने, सहमतिका लागि कार्यदललाई जिम्मेवारी दिइएको छ। कार्यदलले सहमतिका लागि पहल गर्नेछ।’
देउवाले उपसभापति विमलेन्द्र निधि र पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कार्यदल बनाएका थिए। पौडेल स्वास्थ्य उपचारका लागि सोमबार दिल्ली जाँदैछन्। कार्यदललाई उनी फर्किदासम्म सहमतिमा पुग्न निर्देशन दिइएको छ। यसअघि पार्टीभित्र शीर्ष तहमा संवादका लागि युवा नेताले पहल गरेका थिए।
पौडेलले गरे बुद्धिजीवीसँग छलफल
पार्टी नेतृत्वलाई दबाब दिन जिल्ला सभापति भेला गरेका पौडेलले बुद्धिजीवीसँग पनि छलफल गरेका छन्। पार्टी र मुलुकको अवस्थाबारे आइतबार काठमाडौंमा सभापतिले पार्टीलाई एकलौटी सञ्चालन गर्न खोजेको बताए। पौडेलले पार्टीभित्र विकृति हावी भएको भन्दै त्यसविरुद्ध राष्ट्रव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ‘कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्छ, त्यसका लागि अभियान चलाउनुपर्छ,’ उनले भने। कांग्रेस नसुध्रिएसम्म जनताले नपत्याउने उनको भनाइ छ।
प्रकाशमान सिंह र डा. रामशरण महतलाईसँगै राखेका पौडेलले पार्टी नेतृत्वका कारण कांग्रेस कमजोर बनेको आरोप लगाए। सिंहले अहिलेकै नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेको बताए। १३ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टी सञ्चालन हुन सक्दैन भन्ने नेता एक ठाउँमा रहेको उनको भनाइ छ।
महतले पनि पार्टीमा सही नेतृत्वको अभाव रहेको बताए। ‘पार्टीका लागि गतिलो नेतृत्व र राम्रो व्यवस्थापन चाहिन्छ, दुवैको खडेरी छ,’ उनले भने, ‘सभापति देउवा बहुमतबाट अगाडि बढ्नुभएको छ, बहुमतबाट गरिएको निर्णय हामी स्वीकार्दैनौं।’
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले कांग्रेसभित्र रहेको भागबण्डाको राजनीति अन्त्य गर्न नेताको ध्यानाकर्षण गराए। ‘पार्टीभित्रको ६०/४० मा म जाँदिनँ भनेर तपाईंले घोषणा गर्नुपर्छ’, पौडेललाई केसीले भने, ‘कार्यकर्ता निराश छन्, प्रजातन्त्रप्रति आस्थावान् मान्छेलाई समेट्नुपर्छ।’
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले कांग्रेसको अहिलेको नेतृत्वको विरोध गर्दैगर्दा वैकल्पिक नेतृत्वबारे सोच्न नेताको ध्यानाकर्षण गराए। ‘नेतृत्वको विरोध गरेर मात्र हुँदैन, अहिलेको नेतृत्वको विकल्प दिने नेतृत्व खै ? यथास्थितिकै अवस्थामा कांग्रेस बलियो बन्न सक्दैन,’ उनले भने।
वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अंग न्यायपालिका राज्यको प्रभावमा परेको बताए। ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अंग स्वतन्त्र न्यायपालिका हो। तर न्यायपालिकाको शिरदेखि पाउसम्म सत्ताको प्रभाव छ’, उनले भने, ‘न्यायपालिका आमनागरिकको पहुँचमा छैन।’