मध्यमर्स्याङ्दी आयोजना : विद्युत उत्पादन घट्यो
बेसीसहर : मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा जडित एउटा टबाइनको मर्मत सुरु भएको छ। केन्द्रमा जडित ३५/३५ मेगावाट क्षमताको २ वटा टर्बाइनमध्ये युनिट नन्बर २ को टर्बाइन फेर्ने कार्य शनिबारदेखि सुरु भएको हो। युनिट २ को मर्मत हुँदा युनिट १ बाटमात्रै विद्युत् उत्पादन भएको छ।
उक्त टर्बाइन फेर्न र आवश्यक मर्मत सम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले १८ दिनको समय दिएको छ। यसबीचमा युनिट २ को पूरै रनर फेरिने मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार शाहले बताए। मर्मतका लागि २० दिनको योजना बनाएकोमा प्राधिकरणले १६ दिनमा सक्न निर्देशन दिएको थियो। तर १६ दिनमा मर्मत नसक्ने भएपछि १८ दिनमा सक्ने योजना बनाइएको शाहले बताए।
उनका अनुसार टर्बाइनमा जडित रनर, गाइभेन्सलगायत फेरिनेछ। स्वीचएड, जेनेरेटरलगायत बिग्रन लागेका मेसिनरी सामानको पाटपूर्जा फेर्ने र मर्मत गरिने योजना छ। केही मेशिनरी सामग्रीको सर्भिसिङसमेत गरिने प्राविधिकले बताएका छन्।
मध्यमर्स्याङ्दी मर्मत यसअघि सोमबारदेखि हुने भनिएको थियो। यसबीचमा भारतबाट ढल्केबरसम्मको प्रसारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्ति बन्द भएपछि आयोजनाको मर्मत कार्य सारिएको आयोजना स्रोतले बताएको छ। आयोजना प्रमुख शाहले भने, ‘पानी तत्काल धेरै नघटेको र चिसो भएकाले बढी विद्युत् खपत हुन्छ। त्यसैले समय सारिएको हो।’
प्राधिकरणका अनुसार कालीगण्डकी र बुढीगण्डकीबाट थप विद्युत्भार उपलब्ध गराएर मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन बन्द गर्न लागिएको हो। यसअघि पुस १९ गतेदेखि युनिट २ मर्मत थाल्ने योजना बनाएको थियो। प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमर्स्याङ्दीमा जडित युनिटको मर्मत गर्दै आएको छ। २÷२ वर्षमा यसको इन्टेकसहित मर्मत गरिँदै आएको छ।
आधा विद्युत उत्पादन
पानीको बहाव घटेपछि ७० मेगावाट क्षमताको आयोजनाबाट आधा परिमाणमा विद्युत् उत्पादन हुन थालेको छ। राति र दिउँसो विद्युत् उत्पादन रोकेर जलाशयमा पानी जम्मा गरी साँझबिहान मुस्किलले तीन घण्टा मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ।
हाल मध्यमर्स्याङ्दीबाट दैनिक औसत ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पानी जम्मा नगरी नदीमा बगेको पानीले २० देखि २२ मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । अर्ध जलाशययुक्त (पिकिङ रन अफ रिभर) मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा करिब ६ महिना मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।