पुल बनेपछि झन् सास्ती
दैलेख : सुर्खेत–दैलेख सडकखण्डको लोहा खोलामा हचुवाको भरमा पुल निर्माण गरिँदा सवारी सञ्चालनमा झन् सकस भएको छ। उक्त पुल सडकभन्दा निकै होचो छ।
सम्बन्धित निकायले हचुवाको भरमा पुलको सर्भे गर्दा डिजाइन नै फेल भएको हो। पुलको दुवै छेउबाट आउने पहिरोको जोखिमले समेत पुल बग्ने खतरा छ। स्थानीय देवेन्द्र गोदारले भने, ‘खोला उर्लेर आए पुलमाथि नै पानी बग्ने देखिन्छ, यसरी इन्जिनियरले गलत सर्भे गर्दा राज्यकोषको करोडौं रकम खेर जाने सम्भावना छ।’ लोहा खोलामा पुल नभएका कारण यात्रुले सास्ती खेप्दै आएको उनले बताए। स्थानीय करुणाकर खनालले हचुवाको भरमा पुल निर्माण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
‘पुल बन्यो तर जोखिम घटेन’, उनले भने, ‘सडकभन्दा होचो पुल निर्माण भएपछि गाउँका सबै स्थानीयको विरोध जारी छ।’ विश्व बैंकको सहयोगमा निमार्णाधीन पुल निर्माणको जिम्मा रसुवा इलाइट सूर्य जेभीले लिएको छ। लोहाखोलासहित रसुवा इलाइट सूर्य जेभीले कर्णाली राजमार्गका १५ वटा पुल निर्माणको जिम्मा लिएको छ।
तर, राजमार्गमा निर्माणाधीन अधिकांश पुल होचा र कमजोर बनाइएका छन्। १५ पुलको लागत करिब ५८ करोड रुपैयाँ छ। तर, निर्माणाधीन पुलको सम्झौता अवधि सकिए पनि कम्पनीले पटक–पटक समय थपेर पुल निर्माण गर्दै आएको छ।