स्वाँतखोलामा बन्यो पक्की पुल
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको स्वाँतखोलामा लक्ष्यभन्दा दुई वर्ष ढिला मोटर चल्ने ३० मिटर लामो पुल निर्माण सकिएको छ।
निर्माण व्यवसायीको लापरबाहीले पुल निर्माणमा ढिलाइ भएको हो। तत्कालीन जिल्ला विकास समितिले ०६३ असोज ६ गते स्वात खोलामा आर्क प्रविधिको पुल बनाउन ठेक्का लगाएको थियो।
स्वच्छन्द–गौचन जेभी पोखराले ठेक्का लिएको यो पुलको पहिलो पटकको म्याद ०७४ पुस ६ गते सकिएको थियो। दुई करोड १० लाख रुपैयाँमा ठेक्का लिएको थियो।
शिखका सेते तिलिजाले भने, ‘पुल नहुँदा शिखदेखि स्वाँत र किन्दु जाने सवारीसाधन खोलाबाट वारपार गर्नुपथ्र्याे,’ उनले भने ‘अब बाह्रैमास मोटर चल्ने भयो।’ जिल्ला विकास समिति खारेज भएपछि यो आयोजना प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको थियो।
पुल तयार भएपछि सवारीसाधन गुड्न थालेका छन्। पुलसम्म पुग्ने पहुँचमार्गको पहिरो नियन्त्रण गरेपछि पुल हस्तान्तरण गरिने पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !