माघे संक्रान्तिमा अन्नदान मेला

माघे संक्रान्तिमा अन्नदान मेला

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित नन्दीकेश्वर महादेव मन्दिर परिसरमा माघे संक्रान्तिको दिन अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव मन्दिर क्षेत्र विकास गुरुयोजनाको लागि आर्थिक संकलन गर्ने उद्देश्यले उक्त मेला गर्न लागिएको हो ।

नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिर क्षेत्रको विकासको लागि करिब १० करोड रुपैयाँको गुरुयोजना निर्माण गरेको छ । सोही गुरुयोजना कार्यान्वयन गर्न आवश्यक आर्थिक संकलन गर्ने उद्देश्यले माघे संक्रान्तिको दिन अन्नदान मेला गर्न लागिएको समितिका अध्यक्ष तुलसीदास कासुलाले जानकारी दिए ।

मेलाबारे जानकारी दिन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कासुलाले गुरुयोजनामा लिच्छविकालीन नन्दीकेश्वर महादेवको प्राचीन स्वरुपको मन्दिर निर्माणसँगै मन्दिर प्रवेशद्वार र पाटी निर्माण गर्ने योजना समेटिएको बताए ।

मन्दिर परिसरमा अहिले समितिकै पहलमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भइरहेको छ । हालसम्म एक करोड ६९ लाख रुपैयाँ खर्च भइसकेको उक्त भवन पूरा गर्न करिब दुई करोड पचास लाख रुपैयाँ लाग्ने उनको भनाइ छ ।
‘प्राचीन स्वरुपको दुईतले नन्दीकेश्वर महादेव मन्दिर निर्माणको लागि मात्रै अढाइ करोडको लगत इस्टिमेट तयार भएको छ’, अध्यक्ष कासुलाले भने, ‘उक्त मन्दिर निर्माण गर्न पुरातत्व विभागले एक करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।’
नन्दीकेश्वर महादेव मन्दिर ६४ शिवलिंगमध्ये एक हो । पशुपतिनाथको शिवलिंगमा जस्तै यसमा पनि महादेवको चारवटा मुखाकृतिमा रहेका छन् । पशुपतिनाथको शिवलिंगजस्तै नन्दीकेश्वर महादेवको शिवलिंग पनि जमिनमा गडिएको अवस्थामा रहेको छ ।

मन्दिर बाहिरबाट हेर्दा मन्दिरजस्तो लाग्दैन । मन्दिरको पश्चिममा ढोका र तीनतिर झ्याल राखेर बनाइएको माथिल्लो भाग ढलान गरिएको छ । ढलानमुनि रातो झल्लर र मन्दिरको तीनदिन बत्ती बाल्ने दियोको लहरले मात्रै यो मन्दिर रहेछ भन्ने भान हुन्छ ।

पुरातत्व विभागले नन्दीकेश्वर महादेवको शिवलिंग लिच्छविकालीन भएको पुष्टि गरिसकेको समितिका उपाध्यक्ष श्रीराम ब्याञ्जूले जानकारी दिए ।

नन्दीकेश्वर महादेव मन्दिर लिच्छविकालीन भएर पनि यसको उचित संरक्षण तथा प्रचारप्रसार हुन नसकेकाले माघे संक्रान्तिका दिन अन्नदान गरेर यसको महत्व उजागर गर्न खोजेको उनले स्पष्ट पारे ।

जिल्ला समन्वय समिति भक्तपुरका सदस्यसमेत रहेको व्याञ्जूले गुरुयोजनाअनुसार मन्दिरको संरक्षणसँगै मन्दिर परिसरमा ढुंगा छापिने जानकारी दिए । मेलामा अन्न, फलफूल मिठाइसँगै गच्छेअनुसार दक्षिणा दान गर्न सकिने प्रवन्ध मिलाइएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद व्याञ्जूले बताए ।

महादेवका वाहन नन्दीले अनाहकमा पृथ्वीलोकमा मानिसको योनीमा जन्म लिनुपर्ने गरी पार्वतीबाट श्राप पाउँछन् । उक्त श्रापअनुसार पृथ्वीलोकमा मानिस भएर जन्मिएका नन्दीले मानव योनीबाट मुक्ति पाउन महादेवको आह्वान गर्दै तपस्या गर्छन् । आफूलाई आह्वान गर्दै तपस्या गरेका नन्दीलाई महादेवले मुक्ति पाउन आफ्नो शिवलिंग स्थापना गरी पूजाआजा एवं प्रार्थना गर्न सुझाउँछन् । 

महादेवको आदेशानुसार नन्दीले शिवलिंग स्थापना गरी पूजाका सम्पूर्ण विधि विधान पूरा गर्छन् । उक्त प्रार्थनाबाट खुसी भएर महादेवले नन्दीलाई मानव योनीबाट मुक्ति दिलाएर पुनः कैलाश लानुअघि नन्दीले पूजाआजा गरेको शिवलिंगको नाम नन्दीकेश्वर महादेव भएको शिवपुराणमा उल्लेख भएको समितिका संरक्षक रामप्रसाद सत्यालले जानकारी दिए ।

मन्दिरमा दैनिक पूआआजाको लागि एकजना पुजारीको व्यवस्था गरिएको छ । उनले प्रत्येक दिन बिहान सूर्योदय अगावै नित्यपूजा र साँझ आरती गर्ने गर्दै आएका छन् । त्यस्तै मन्दिरभित्र अखण्ड दीप प्रज्ज्वलन भइरहेको छ । प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन नन्दीकेश्वर महादेवको कलश खट जात्रा हुँदै आएको अध्यक्ष कासुलाले जानकारी दिए ।

प्रत्येक दिन बिहान भजनकीर्तन हुने नन्दीकेश्वर महादेव मन्दिरमा श्रावण महिनाको सोमबार, हरितालिका तीज, जनै पूर्णिमा, सकिमना पूर्णिमा र महाशिवरात्रीका दिन विशेष मेला तथा पूआअर्चना हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.