अहेवको भरमा गाउँपालिकाको काम
भोजपुर : साल्पासिलिछो गाउँपालिका–१ दोभानेका ओङ्छु शेर्पा नागरिकताको सिफारिस बनाउन दिनभर हिँडेर चौकीडाँडा पुगे। गाउँपालिकाको कार्यालय पुग्दा उनीजस्ता सरकारी कामकाज लिएर आउने सेवाग्राहीको घुइँचो थियो। प्रमुख प्रशासकीय अधिकृतको काम धानिरहेका अहेव र सह–लेखापाललाई भ्याईनभ्याई थियो। पहिलो दिन काम नभएपछि भोलिपल्ट झन्डै दिनभरिजस्तै पर्खिएपछि उनको पालो आयो। उनले सिफारिस बनाए। सिफारिस बनाउनै २ दिन कुर्नुपर्यो।
भौगोलिक रूपले विकट मानिएको १ र २ वडाका दोभानेवासीलाई गाउँपालिका आउनै दुई दिन लाग्छ। त्यो पनि पैदल। एकातिर भौगोलिक विकटता अर्कोतिर सरकारी कामकाजका लागि पालो कुर्नुपर्ने सास्ती। कर्मचारी समायोजन र भौगोलिक विकटताले भएका कर्मचारी पनि सरुवा जानुले दुर्गम भेगका सेवाग्राहीलाई चर्को सास्ती खेप्नुपरेको छ।
‘२ दिन हिँडेर गाउँपालिका पुग्नुपर्छ, गाउँपालिका पुग्यो समयमै काम हुँदैन’ ओङ्छुले भने, ‘यत्रो पैदल यात्रा गर्दाको थकाई अर्कोतिर कर्मचारी नहुँदा पालो कुर्नुपर्ने हैरानी, सरकारी सेवा लिन पनि आराम छैन’, साल्पासिलिछो गाउँपालिकामा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही मारमा पर्ने गरेका छन्। दिगो रूपले कर्मचारी संयन्त्र नबन्दा गाउँपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बन्ने गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी सरुवा भएपछि स्वास्थ्य शाखाका छैटौं तहका सिनियर अहेव जगन्नाथ प्रसाद साहलाई कामको जिम्मेवारी दिइएको छ। आधिकारिक स्वीकृत गर्ने कार्यकारी नहुँदा गाउँपालिकाको काम धान्नुपरेको उनले सुनाए। भने, ‘कार्यकारी अधिकृत नहुँदा कामको बोझ बढेको छ, सेवाग्राहीको भीड लाग्छ, गाह्रो छ’, गाउँपालिकामा हाल २५ दरबन्दीमा २ स्थायी र एक जना करार गरी ३ मात्रै कर्मचारी छन्। दैनिक १ सय बढीको संख्यामा आउने सेवाग्राहीलाई सेवाभन्दा बढी सास्ती हुने गरेको छ।
भौगोलिक विकट र दुर्गममा गाउँपालिका भएकाले कर्मचारी कम आउने, आए पनि सरुवा र काजमा बस्ने भएकाले सेवाग्राही सेवा प्रवाह गर्न समस्या भएको गाउँपालिका अध्यक्ष महेश राई बताउँछन्। ‘कर्मचारी आउनै मान्दैनन्, आए पनि सरुवा र काजको बहानामा बाहिर जान्छन्, काम धान्नै गाह्रो छ’, उनले भने।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम चलाउमा अहेवलाई नै काममा खटाउन बाध्य भएको अध्यक्ष राईले सुनाए। कर्मचारीका लागि केन्द्र सरकारसम्म निवेदन गर्न अध्यक्षलाई दौडधुप छ। तैपनि, सम्बोधन हुन नसकेको उनले गुनासो गरे। ‘प्रमुख प्रशासकीय अधिकारी नहुँदा जनताको काम एकदमै प्रभावित भएको छ। पञ्जीकरण, सिफारिसलगायत धेरै सरकारी काममा अड्चन आउँछ’, उनले भने, ‘कर्मचारीको विकल्प खोज्न बाध्य छौँ। नमान्दा नमान्दै पनि अहेवलाई गाउँपालिकाको पनि काजमा खटाउनुपरेको छ’
वडासचिव अभावमा कामचलाउ कर्मचारी नियुक्ति गरेर वडाको काम भइरहेको छ। अहिले पनि गाउँपालिकाको ३, ४, ५, ६ वडा सचिवविहीन छन्। ती वडामा करारबाट नियुक्ति गरिएका र अन्य सामाजिक परिचालकबाट काम चलाइएको छ।
वडातहमा कर्मचारी अभाव
कर्मचारी समायोजनपछि रिक्त दरबन्दीअनुसार पदपूर्ति भए पनि वडा तहमा भने कर्मचारी अभाव छ। वडामा सचिव नहुँदा गाउँपालिका तथा नगरपालिकाले करारबाट कर्मचारी नियुक्ति गरेर काम धानिरहेको छ। लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी नियुक्ति गरे पनि भोजपुरका अधिकांश स्थानमा कर्मचारी अभाव छ।
हतुवागढी गाउँपालिका–७, ८ र ९ मा सचिव छैन। कार्यपालिकामै पनि सह–लेखापालको पद खाली हुँदा कामको चाप त्यत्तिकै छ। त्यस्तै, आमचोक गाउँपालिका–१० मा अहेवले धानेका छन्। वडा नम्बर ८–९, र ६ –७ एक जना सचिवले धानेका छन्।
रामप्रसाद राई गाउँपालिकामा पनि कर्मचारी अभाव छ। गाउँपालिकाको प्रशासकीय अधिकृत नहुँदा करारबाट नियुक्ति गरिएका अधिकृतलाई जिम्मेवारी दिइएको छ। गाउँपालिका–५ र ६ एक जना, वडा नम्बर ७ र ८ मा एक जना सचिव र वडा नम्बर ३ र ४ वडामा करारबाट आएका कर्मचारीले सचिवको काम धानिरहेको छ। गाउँपालिकाको सबै विषयगत शाखा पनि खाली रहेको गाउँपालिकाले जनाएको छ।टेम्केमैयुङ गाउँपालिका–६ र ७ मा एक जना, वडा नं ८ र ९ मा एक एक जना सचिवले धानेका छन्। षडानन्द नगरपालिकाको वडा नं २ र ३ मा एक जना, वडा नं ४ र ५ मा एक जना र वडा नं १३ र १४ मा एक जना सचिवलाई जिम्मा लगाइएको छ।